+
+

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले छोटो फिल्म प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १३:२६

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटो फिल्म प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन बिहीबारदेखि नै आवेदन खुला गरिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

क्याम्पस प्रमुख शिशिर उप्रेतीले यो प्रतिस्पर्धा फिल्मकर्मीलाई गतिलो प्लेटफर्म हुने बताए । धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्तो प्रतिस्पर्धा वरदान हुन सक्ने उनले बताए । ‘फिचर फिल्म बनाउन महंगो हुने गर्छ तर छोटो फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । तर हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौं भन्ने सन्देश दिन खोजेका हौं,’ उनले भने ।

म्युजिक नेपालका राजीव लोहनीले कम्पनीले फिल्म निर्मातासँग सहकार्य गर्न चाहेको बताए । प्रतिस्पर्धामा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी निर्णायक हुनेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले छोटो फिल्मलाई बिरुवाको रुपमा व्याख्या गर्दै लम्बाइको हिसाबले छोटो हुने भए पनि यस्ता फिल्म बनाउन मेहनत चाहिने बताए ।

‘सर्ट फिल्म भनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ । फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो । सानो चीज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चीजकै सामथ्र्य ठूलो हुन्छ,’ बरालले भने । उनले स्टिभन स्पिलवर्गको लघु फिल्म ‘एम्बलिन’को उदाहरण दिंदै विश्वका महान् निर्देशकले पनि लघु फिल्म निर्माण गरेर फिचर फिल्मका लागि अनुभव बटुलेको दृष्टान्त दिए ।

अर्का निर्णायक बिडारीले यस्ता प्रतिस्पर्धाले दृश्य साक्षरता निर्माणमा योगदान दिने बताए । अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर यस्ता कार्यक्रम गर्ने कुरालाई आफूले दुवैले कामको दायरा बढाउने पहलका रुपमा बुझेको बताएकी थिइन् । ‘फिल्म कलेजले फिल्म पढाएर मात्र दायित्व पूरा हुँदैन । यस्ता कार्यक्रमले त्यसरी पढेको कुरालाई जाँच्ने अवसर पनि दिन्छन् र यसले सहकार्यको महत्व पनि बुझाउँछ,’ उनले भनिन् ।

प्रतिस्पर्धामा भाग लिन चाहनेले फागुन ३० गतेसम्म कथासार बुझाउनुपर्ने जनाइएको छ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ । यसरी प्राप्त भएका स्क्रिप्टलाई निर्णायकद्वारा तीन दिनसम्म प्रशिक्षण दिइनेछ ।

त्यसपछि पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले दुई लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?