+
+

एमालेलाई माओवादीको सन्देश : राष्ट्रपतिमा स्वीकार्य व्यक्ति उम्मेदवार बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते २२:४४

१३ माघ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्थायी कमिटी बैठक सुरु गर्दा नै राष्ट्रपति चुनावमा सहमति खोज्नुपर्ने प्रस्ताव ल्याएका थिए ।

बैठकको एजेण्डा प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रपतिबारे एमालेसँग भद्र सहमति जुटेको, तर नेपाली कांग्रेसले समेत विश्वासको मत दिएकाले राष्ट्रिय सहमति आवश्यक देखिएको बताएका थिए । आज शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको बैठकबाट प्रचण्डकै प्रस्तावजस्तो निर्णय भएको छ । ‘हामीले अध्यक्षलाई सबै दल मिलाएर लैजाने पहल गर्न सुझाव दिएका छौं, त्यसै अनुसार पार्टीले निर्णय गरेको छ’ माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपतिमा सहमति खोजेरै अघि बढ्छौं ।’

बिहीबार बैठकको एजेण्डा राख्दा नै प्रचण्डले स्थायी कमिटी सदस्यहरुसँग राष्ट्रपति चुनावबारे सुझाव मागेका थिए । ती पदाधिकारीका अनुसार, प्रचण्डको संकेत बुझेका नेताहरुले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्न उपयुक्त हुने सुझाव दिए ।

तर माओवादी केन्द्रको निर्णयले सत्ता समीकरणभित्र भने शंका उत्पन्न गरेको छ । विशेषगरी प्रमुख सत्ता साझेदार दल एमालेका निम्ति माओवादी केन्द्रको निर्णय प्रतिकुल देखिन्छ । किनकि १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दा नै राष्ट्रपति एमालेले लिने सहमति जुटेको थियो । प्रधानमन्त्री र सभामुख पद भने आलोपालो गर्ने सहमतिअनुसार, एमालेको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

बालकोटमा त्यसदिन सत्तारुढ नेताहरुबीच भएको सहमति बमोजिम एमालेका देवराज घिमिरे सभामुख र राष्ट्रिय राष्ट्रिय पार्टी (रास्वपा) की इन्दिरा रानामगर उपसभामुख निर्वाचित भइसकेकी छन् । सात प्रदेशमध्ये एमालेले चार, माओवादीले दुई र मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार बनिसकेको छ ।

तर प्रधानमन्त्री बनेको महिना दिनमै माओवादी केन्द्रले सत्ता साझेदारबीच जुटेको सहमति विपरीत प्रस्ताव ल्याएको छ ।

एक नेताका अनुसार, राष्ट्रिय सहमति कस्तो भन्ने ठोस् निर्णय चाहिँ भएको छैन । जबकी प्रचण्डले राजनीतिक घटनाक्रमबारे ब्रिफिङमै एमालेसँग सहकार्य गरिनुको औचित्य प्रष्ट्याएका थिए । ‘हामी (माओवादी केन्द्र)लाई त सिध्याउने योजना पो रहेछ, एमालेसँग गठबन्धन गरेर त्यो असफल बनायौं’, प्रचण्डको ब्रिफिङ उदृत गर्दै ती नेता भन्छन् ।

एमाले नेता खिमलाल भट्टराई, माओवादी केन्द्रको निर्णयभन्दा पनि कार्यान्वयन अर्थपूर्ण हुने बताउँछन् । ‘प्रधानमन्त्रीको पार्टीले राष्ट्रिय सहमतिको कुरा गर्नु ठिकै हो, तर एमालेसँग जुटेको सहमतिमा टेकेर थप पहल गरिनुपर्छ’ भट्टराई भन्छन्, ‘तर नयाँ शिराबाट राष्ट्रिय सहमतिको कुरा गरिए, त्यसले राजनीतिक जटिलता सिर्जना गर्छ ।’ एमाले उम्मेदवारलाई समर्थन गर्ने गरी राष्ट्रिय सहमतिको प्रस्ताव ल्याएको भए, त्यो सकारात्मक हुने भट्टराई बताउँछन् ।

प्रचण्डको दुई निशाना

राष्ट्रपति निर्वाचनबारे माओवादी केन्द्रबाट भएको निर्णयले एमाले दबावमा पर्दा कांग्रेसका निम्ति भने अनुकुल परिस्थिति बनेकोे छ । ९ पुससम्म गठबन्धनका सहयात्री प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री छोड्न तयार नभएको कांग्रेसले राष्ट्रपतिमा सहमति भनिरहेको छ । २८ पुसमा आफ्नै निवास धुम्बाराहीमा, सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेर राष्ट्रपतिबारे सहमतिको खोजी गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्ने जिम्मा सभापति देउवालाई कांग्रेसले दिएको छ । विश्वासको मतको बदला प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउन देउवा निकट नेताहरुको विश्जास छ । प्रचण्डले पनि ३ माघमा आफूलाई विश्वासको मत दिने दलहरुको बैठकमा कांग्रेस समेत सहभागी राखेका थिए । सार्वजनिक अभिव्यक्ति दिने क्रममा पनि प्रचण्डले राष्ट्रिय सहमतिका निम्ति आफू सहजकर्ता बन्ने बताउने गरेका छन् । शुक्रबार पार्टी बैठकबाटै राष्ट्रपतिमा सहमतिको खोजी गर्ने निर्णय गरेर प्रचण्डले कांग्रेसको आशालाई थप बलियो बनाइदिएका छन् ।

एमालेलाई भने माओवादी केन्द्रको यो निर्णय अर्को दबाव हो । २६ पुसमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नै एमाले सशंकित बनेको थियो । अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाटै कांग्रेसले दिएको विश्वासको मतप्रति आशंका गरेका थिए । त्यसदिन नै ओलीले, कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने बताएर विश्वासको मतको बदलामा केही दिन नसकिने प्रष्ट पारेका थिए ।

तर त्यसयताका प्रचण्डको अभिव्यक्ति र निर्णयले भने ओली दबावमा परेको बुझ्न सकिन्छ । किनकि एमालेको भागमा परेको राष्ट्रपति पदमै कांग्रेसको दाबी छ, र त्यही पदमा प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव पार्टी बैठकबाटै पारित गराएका छन् ।

माओवादी उच्च स्रोत भने राष्ट्रिय सहमति खोज्नेको निर्णय आउनुको उद्देश्य एमालेसँग सहकार्य तोड्न नभएको बताउँछन् । ती स्रोतका अनुसार, एमालेलाई राष्ट्रपति दिन माओवादी अहिले पनि तयार छ, तर एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा चासो छ । त्यही चासोलाई सुनिश्चित गर्न दबाव सिर्जना हुने निर्णय माओवादीले गरेको हो । विगतका राष्ट्रपतिहरुबाट माओवादीले खेप्नुपरेको संकटका कारणले पनि यसपटक व्यक्तिमै प्रचण्ड केन्द्रीत हुन पुगेको ती स्रोतको भनाइ छ ।

तत्कालीन राष्ट्रपति डा.रामवरण यादवसँग मतभेद भएपछि २०६५ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिमा नोक्सानी बेहोर्नुपरेको प्रचण्डको बुझाइ छ । त्यसैकारण प्रचण्ड यसपटक राष्ट्रपतिमा जाने व्यक्तिमै चासो राख्न पुगेको एक नेता बताउँछन् । ‘एमालेबाट राष्ट्रपतिमा पठाइने संभावित नामहरुको सूचना प्रचण्डसम्म पुगेको छ, त्यसैकारण आनाकानी भइरहेको छ’, ती नेता भन्छन् ।

उनका अनुसार, एमालेमा ओली निकट भएर राजनीति गरिरहेका विष्णु रिमाल, डोरमणि पौडेल, गुरु बरालहरू नआउन भन्ने चाहना प्रचण्डमा छ । प्रचण्डले नचाहेको नामको सूचीमा एमाले वरिष्ठ नेता ईश्वर पोखरेल समेत रहेको ती नेता बताउँछन् । किनकी पोखरेलले माओवादी केन्द्रसँग सहकार्यको सधैं विरोध गर्दै आएका नेता हुन् ।

तर यसबाहेकका नाममा प्रचण्ड सकारात्मक छन् । संविधान जारी गर्न समन्वयकारी भूमिका खेलेका र अनुभवी नेता भएकाले उपाध्यक्ष सुवास नेम्वाङ अथवा अर्का उपाध्यक्ष रहेकी पुराना नेतृ अष्टलक्ष्मी शाक्य राष्ट्रपतिको उम्मेदवार बन्दा सबैलाई स्वीकार्य हुने बुझाइ प्रचण्डको छ ।

नेम्वाङ वा शाक्य राष्ट्रपति बन्दा राज्य सञ्चालनका नेतृत्वमा समावेशीता कायम हुने पनि माओवादी नेताहरुले तर्क गरेका छन् । अहिले प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनादेखि मुख्यमन्त्रीहरु समेत एउटै समुदायका छन् । तर ओलीले लामो समयदेखि आफूलाई साथ दिँदै आएका विष्णु रिमाल अगाडि बढाउन चाहेपछि पार्टीभित्रै पनि असन्तुष्टि देखिएको एमालेका एक नेता बताउँछन् ।

ओलीको यही संकेत प्रचण्डलाई भने आफू अनुकुुल निर्णय गराउने अवसर बन्न पुगेको देखिन्छ । त्यही कारण आम स्वीकार्य व्यक्ति भनेर माओवादीले ओलीको रुची अनुसार जस्तासुकै निर्णय लिन समेत तयार हुने व्यक्तिलाई रोक्न चाहेको एक नेता स्वीकार्छन् । एमालेलाई राष्ट्रपति दिने सहमतिबाट पछि हटेका छैनौं’ एक पदाधिकारी भन्छन्, ‘तर एमालेले पनि सबैलाई स्वीकार्य हुने व्यक्तिलाई अघि सार्न सक्नुपर्छ ।’

बैठकपछि माओवादी नेताहरुले गरेको टिप्पणीले पनि एमालेसँग सहकार्य तोड्न नभएर राष्ट्रपतिको उम्मेदवार चयन गर्दा ध्यान पुर्याउनकै निम्ति यस्तो निर्णय गरेर सन्देश दिएको अनुमान लगाउन सकिन्छ । ‘राष्ट्रपति साझा पद भएकाले यसमा साझा, निष्कलंक व्यक्ति खोज्नुपर्छ । अहिलेको समस्या समाधान गर्न पनि साझा र अब्बल क्षमताको व्यक्ति चाहिन्छ’, माओवादी केन्द्रका नेता टंक राई भन्छन्, ‘यसको अर्थ अहिलेको गठबन्धन टुटाउने होइन । एमालेलाई विश्वास लिएरै जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?