+
+

राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १८:४९

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाएको जानकारी दिए ।

आयोगले १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता गर्ने, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ ।

त्यस्तै १५ फागुनमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २५ फागुनमा मतदान गर्ने आयोगका प्रवक्ता पौडेलले बताए ।

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन ३ चृैतमा हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता २७ फागुनमा दर्ता हुनेछ । २८ फागुनमा दावी विरोधको समय दिइएको छ र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ । राष्ट्रपतिको कार्यकाल ४ दिन बाँकी हुँदै निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?