+
+
ब्लग :

नेपाली राजनीतिसँग जोडिएका अनौठा प्रश्न

भनिन्छ- यदि आफ्नो सपना साकार पार्ने काम गर्न सकेनौ भने अरुले उनीहरूको सपना साकार पार्न तिमीलाई प्रयोग गर्नेछन्। नेपालको हकमा पनि राष्ट्रको सपना साकार पार्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ। अन्यथा छिमेकीले उनीहरूको सपना साकार पार्न प्रयोग गर्नेछन्।

सागर तिवारी सागर तिवारी
२०७९ माघ १९ गते १३:२६

कोभिड-१९ महामारीले संसारमा हालसम्म ६७ लाख भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। नेपालमा मात्रै यो संख्या १२ हजार नाघेको छ। तर यो महाव्याधि उत्पत्तिको बारेमा विश्व आजपर्यन्त अन्योलमा छ। वैज्ञानिकहरूले सामान्य रोगको पनि उद्गमको जरैसम्म पुगेर निष्पक्ष अध्ययन गर्छन् र भविष्यका संभावित प्रकोपहरूबाट जोगिने उपाय खोजी गर्छन्। तर, कोभिड-१९ को बारेमा यसो गरिएन।

कुनै घटनाको ब्रेकिङ गर्न तँछाडमछाड गर्ने सञ्चारमाध्यमहरू कोभिडको उत्पत्तिबारे मौन छन्। गुगल, मेटा (फेसबुक), एप्पल लगायतका बिग-टेक भनिने आधुनिक सञ्चारमाध्यमहरूले कोभिडबारे उनीहरूको आन्तरिक नीतिसँग बाझिन गएको बहानामा सार्वजनिक स्वास्थ्य वा श्वासप्रश्वास सम्बन्धी रोगका विज्ञका अनुसन्धानहरू समेत आफ्ना प्लेटफर्महरूमा निषेधित गर्ने गरेका छन्।

सदस्य राष्ट्रहरूबीच सार्वजनिक स्वास्थ्यको सूचना आदानप्रदान गर्ने मूल उद्देश्यले स्थापित विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रयसेसले कोभिडको महामारी चीनको नियन्त्रणभन्दा बाहिर गइसक्दा पनि गलत सूचना प्रवाह गरे।

चिनियाँ राष्ट्रपति सी जिनपिङकी श्रीमती जनरल पेंङ्ग लिउयानलाई आफ्नो सद्भावना राजदूत नियुक्त गरेको विश्व स्वास्थ्य संगठनले रोग उत्पत्ति र संक्रमणबारे पर्याप्त जानकारी प्रवाह गर्नुको सट्टा चीन सरकारको तारिफ गरेर बस्यो। प्रश्न–१. विश्व स्वास्थ्य संगठन र सञ्चारमाध्यमहरू कोभिड-१९ बारे आफ्नो भूमिका निर्वाह गर्न किन चुके ?

२०७४ सालको आम निर्वाचनपूर्व पार्टी एकीकरणको उद्घोष गर्दै एमाले र माओवादी केन्द्रले वाम गठबन्धन निर्माण गरे। २०७२ सालको भूकम्पपश्चात् भारततर्फको अघोषित नाकाबन्दीमा दह्रो उभिएका ओलीको लोकप्रियता चुलीमा थियो। गठबन्धनले केन्द्रमा दुईतिहाइ नजिक र ७ मध्ये ६ प्रदेशमा स्पष्ट बहुमत प्राप्त गर्‍यो। पार्टी एकीकरण पनि भयो।
दुई वटा अध्यक्षले उनीहरूकै भाषामा पाइलटहरूले हवाईजहाज उडाए जस्तै पार्टी चलाए। ओली नेतृत्वको सरकारले दार्चुलाका लिम्पियाधुरा र लिपुलेखको भूभाग समेटिएको चुच्चे नक्शा सार्वजनिक गरेर लोकप्रियता बटुल्यो।

तर ३ वर्ष नपुग्दै पार्टीमा नराम्रो चिरा पर्‍यो, नेता कार्यकर्ता भेडा-भेडासँग, बाख्रा-बाख्रासँग भए। प्रचण्ड र ओलीको पानी बाराबारको स्थिति बनिरह्यो। पुस ९ सम्म केपी ओलीले प्रचण्ड नेतृत्वमा सरकार बन्न असंभव रहेको अभिव्यक्ति सार्वजनिक गर्दै थिए। पुस १० गते ‘बार्दली’ भेट लगत्तै उनै केपीको बुई चढेर प्रधानमन्त्री बने- प्रचण्ड। प्रश्न–२. केपीले प्रचण्डलाई किन काँध हाले ?

नेपालका पुराना राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूको आलोचना गरेरै रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक उँचाइ ग्रहण गरे। प्रदेशहरूको औचित्य नदेखेका रविको पार्टीले प्रदेशहरूमा प्रतिस्पर्धा पनि गरेन, रविले प्रदेशसभाको निर्वाचनमा मतदान समेत गरेनन्। कात्तिक १३ गते महाकाली सिमाना पारि भारततर्फ निर्माण कार्यमा गराइएको विस्फोटमा परी सीमावारि नेपालमा एकजना बालकको ज्यान गएको र अन्य केही घाइते भएका थिए।

यस विषयमा रवि लामिछानेले मंसीर १९ गते भारतविरुद्ध आक्रामक विज्ञप्ति निकाले। नागरिकता विवादमा अदालतले राजनीतिक पदमा अल्पविराम लगाउनुपूर्व पुस ११ गते संघीयताका सूत्रधार मानिने प्रचण्डको मन्त्रिमण्डलमा सामेल हुने ३ जना उपप्रधानमन्त्रीमध्ये एक बन्न पुगे- रवि लामिछाने। प्रश्न–३. रास्वपाको लागि प्रचण्ड नेतृत्वको सरकारको बागडोर कसरी खुल्न पुग्यो ?

अघिल्लो संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसले यसपालि माओवादी केन्द्र र अन्य वामपन्थीसहितको गठबन्धन बनायो। स्थानीय निर्वाचनमा प्रतिद्वन्द्वी नेकपा एमालेलाई उल्लेखनीय रूपमा खुम्च्याउन सफल भएकोले कांग्रेसले ‘इतर समूह’ को हिच्किचाहटका बावजुद गठबन्धनमै भरोसा गरिरह्यो।

तर, पुस १० गते गठबन्धनका प्रमुख घटकका नेता प्रचण्डले कांग्रेस बाहेकका प्रायः सबै दलहरू बटुलेर प्रधानमन्त्री बने। राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफनो दाबी नै बटमलाइन बनाएको कांग्रेसभित्र सबै पदहरू गुमाउने अवस्थाले कम्पन उत्पन्न गर्‍यो।

कांग्रेसीहरू प्रचण्डसँगको सहकार्य भरोसायोग्य नहुने निष्कर्षमा पुगे। त्यसको करिब दुई हप्तामै, विश्वासघातको घाउमा पाप्रा नलाग्दै उनै प्रचण्डलाई विश्वासको मत दियो, कांग्रेसले। प्रश्न–४. कांग्रेसले प्रचण्डलाई विश्वासको मत किन दियो ?

कारक सम्बन्ध र मिथ्या सम्बन्ध

माथिका प्रश्नहरूको सहज उत्तर घटनाक्रमहरूको अन्तरसम्बन्धबाट खोज्न सकिन्छ। तथ्यांकशास्त्र अनुसार सहसम्बन्ध देखिनुमा कारक सम्बन्ध नै हुनुपर्छ भन्ने हुँदैन। बादल लागेपछि पानी पर्नु, पानी पिउँदा प्यास मेटिनु अथवा आधुनिक ऊर्जाको प्रयोगले उत्पादकत्व वृद्धि हुनु कारक सम्बन्धहरू हुन्।

तर कतिपय अवस्थामा सहसम्बन्धहरूको एकापसमा साइनो नहुन पनि सक्छ। उदाहरणको लागि सन् १९९६ देखि २००८ सम्म अमेरिकाको आणविक भट्टीहरूमा युरेनियमको भण्डारण र उक्त समयमा गणित विषयमा विद्यावारिधि गरेका मानिसहरूको सहसम्बन्ध अति गहिरो (०.९५) देखिन्छ। तर यिनीहरूको एकअर्काप्रति कुनै प्रकारको कारक सम्बन्ध छैन, त्यसैले यिनीहरूको त्यस्तो सम्बन्धलाई मिथ्या सहसम्बन्ध भनिन्छ।

त्रि-चन्द्र कलेजमा एकजना प्राध्यापकले अघिल्लो वर्ष तिब्बतमा पानी परेको र यो वर्ष नेपालमा छाताको बिक्री बढेको काल्पनिक दृष्टान्त दिनुहुन्थ्यो। झट्ट हेर्दा मिथ्या सम्बन्ध जस्तो लाग्ने यो उदाहरण भने कारक सम्बन्धकै हुन्थ्यो।

हुने के रहेछ भने अघिल्लो वर्ष तिब्बतमा अत्यधिक वर्षा हुने र छाताको माग बढ्ने, यसपालि चिनियाँ उद्योगहरूबाट तिब्बतको लागि प्रशस्त छाता पैठारी हुने, तर तिब्बतमा कम पानी पर्ने र छाता कम खपत हुने।

तिब्बतमा मौज्दात छाताहरू सस्तोमा नेपालमा निकासी हुने, अनि एक पोका नुनको मूल्यमा छाता पाएपछि नुन किन्न निस्केको मान्छेले नुनको सट्टा छाता किनेर फर्किने परिस्थिति बन्ने रहेछ। यसरी सतही रूपमा हेर्दा सम्बन्ध नदेखिने घटनाक्रमहरूलाई पनि गहिरो विश्लेषण गरियो भने अन्तर्य उजागर गर्न सकिने रहेछ।

आकस्मिकताभित्रका क्रमिकता

सरसर्ती हेर्दा माथिका चार प्रश्नको पृष्ठभूमिका घटनाक्रमहरूको एक-अर्कासँग कुनै साइनो देखिंदैन। तथापि, मनुष्य मात्रको लागि प्राप्त विवेकको प्रयोग गरेर केही प्रश्नका उत्तरहरू खोज्ने प्रयास गर्‍यौं भने घटनाक्रमहरू मालामा गाँसिन सक्छन्।

उल्लेखित घटनाक्रमहरूको एउटा समानता यो छ कि यिनीहरू सिनेमाहरूमा देखिने नाटकीय मोडहरू भन्दा कम्ती आश्चर्यजनक छैनन्। विज्ञान र संचारले प्रश्न सोध्न हिच्किचाउँछन्, अघिल्लो दिनसम्म संभव नदेख्ने स्वयंले पछिल्लो दिन संभव तुल्याइदिन्छन्। ‘नो-नट-अगेन’ भन्नेले ‘अगेन’ पुरानैलाई अघि लगाउँछन्, विश्वासघातको जवाफ विश्वासको मतले दिन्छन्।

दैनिक समाचार चक्रहरूको सीमितताबाट यी परिघटनाहरूको सम्बन्ध उजागर हुँदैन। तर अवस्थिति र समयका आयामलाई तन्काएर हेरियो भने तिनको अन्तर्य बुझ्न सकिन्छ। जस्तो कि, करिब २० करोड वर्षअघि अहिलेको पृथ्वीका महाद्वीपहरू प्यान्जिया नामको एउटै विशाल महाद्वीपको रूपमा अस्तित्वमा थिए।

समयकालसँगै प्लेट विवर्तन प्रक्रियाद्वारा महाद्वीपीय विस्थापन भयो र अहिलेको स्वरूपमा भिन्नाभिन्नै महाद्वीपहरूमा विभाजित हुनपुगे। अन्तरिक्षबाट देख्न सकिने यिनीहरूको आकारलाई जोडेर हेर्ने हो भने यो तथ्य सजिलै अनुमान गर्न सकिन्छ।

भूगर्भ विज्ञानका अध्ययनहरूले त्यो अनुमानलाई सत्य पुष्टि गर्छन्। हाम्रा सामाजिक-राजनीतिक परिघटनाहरूलाई पनि बदलिंदो विश्व परिवेशको परिघटनाको उपजको रूपमा हेर्ने हो भने आकस्मिकताहरू नै क्रमिकताभित्र देखिन्छन्।

हाम्रो सार्वभौमिकता र भूराजनीतिक सम्बन्ध

नेपालीका रूपमा हामी अविभाज्य, सार्वभौम मुलुक हौं। हामी आफ्ना निर्णयहरू आफैं गर्न सक्छौं। तर, बाँकी विश्वसँग पनि हाम्रो अन्योन्याश्रित सम्बन्ध छ। बेलायतले दक्षिण एसियामा आफ्नो साम्राज्य विस्तार गर्ने क्रमसँगै भएको नेपालको एकीकरण, भारतीय उपमहाद्वीप बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै नेपालमा जहानियाँ राणाकालको अन्त्य, सोभियत संघको विखण्डनसँगै नेपालमा प्रजातन्त्रको पुनर्वहाली जस्ता परिघटना संयोग मात्र थिएनन् परिस्थितिका उपज पनि थिए।

सन् १९४० दशकको मध्यतिर, दोश्रो विश्वयुद्धको अन्त्यसँगै अमेरिका विश्वको प्रमुख निर्णायक शक्ति भएर उभियो। त्यसपछिका दिनहरूमा १९९० को दशकको सुरुवातमा आफ्नो विघटन हुनुपूर्व सोभियत संघले अमेरिकी वर्चश्वलाई चुनौती दिंदै आएको थियो, विश्व दुई ध्रुवहरूमा विभाजित थियो।

सोभियत विघटन पश्चात भने अमेरिका र उसको नेतृत्वको पश्चिमाहरूको गठबन्धनले विश्व राजनीतिमा प्रत्यक्ष-अप्रत्यक्ष प्रमुख भूमिका खेल्न सुरु गर्‍यो। ऐतिहासिक रूपमा सोभियत ध्रुवसँग नजिक भारतमा पनि पछिल्लो समयमा अमेरिका र पश्चिमाहरूको प्रभाव बढ्न थाल्यो।

भारतको उल्लेख्य प्रभाव रहेको नेपालमा पनि सामान्यतया भारतमार्फत उनीहरूको उपस्थिति रहिरह्यो। विशेष परिस्थितिहरूमा भने प्रत्यक्ष संलग्नता पनि देखाउन पछि परेनन्।

बदलिंदो विश्व परिवेश

सन् २०२० को दशकको सुरुवातसँगै विश्व–राजनीतिमा अर्को महाशक्ति राष्ट्रको भयानक उपस्थिति भयो। अमेरिकी नेतृत्वको पश्चिमाहरूको एकल वर्चश्व नरहने स्थिति सृजना भयो। यो शक्तिले पश्चिमाहरू जस्तै धेरै हल्ला गर्दैन तर नरम रूपमा आफ्नो स्वार्थ पश्चिमाहरूले जस्तै गरी पूरा गर्छ।

यो शक्तिले अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दैन, सामाजिक इन्जिनियरिङमा विश्वास गर्छ। लब्धप्रतिष्ठित र शक्तिशाली व्यक्तिहरूको सोचलाई सामान्य मानिसहरूको सोचभन्दा उत्कृष्ट ठान्छ। त्यो शक्ति हो, हाम्रै उत्तरी छिमेकी राष्ट्र- चीन।

चीनले आफू विश्वकै शक्तिशाली राष्ट्रको अग्रपंक्तिमा उभिएसँगै आफ्नो प्रभाव पनि देखाउन थालेको छ। चीनको प्रभाव पश्चिमा राष्ट्रहरूमा समेत विस्तार भैरहेको सन्दर्भमा नेपाल त्यसबाट अछुतो रहने कुरै रहेन। सिमाना जोडिएको, सामरिक महत्वको छिमेकी राष्ट्र नेपालमा, चीनले आफ्नो उपस्थिति नदेखाएर भारत र पश्चिमाहरूको मात्र खेलमैदान बनाउन अबको केही समयको लागि संभव पनि देखिंदैन।

चार प्रश्नको एउटै जवाफ- चीनको भूमिका

माथिका सम्बन्धविहीन लाग्ने प्रश्नहरूलाई जोड्ने धागो पनि यही हो- उदाउँदो, जगमगाउँदो चीनको उपस्थिति। नेपाली राजनीतिमा विगत केही वर्षदेखि चीनको सक्रियता बढ्दै थियो भने अहिले निर्णायक बन्दैछ। पश्चिमाहरूको पकडमा रहेको संयुक्त राष्ट्रसंघको एउटा निकाय विश्व स्वास्थ्य संगठनमा चीनले आफ्नो प्रभुत्व स्थापना गरे जस्तै, भारतले र उसँगको सहकार्यमा पश्चिमाहरूले नेपालमा गर्ने निर्णायक राजनीतिक भूमिका यसपालि चीनले निर्वाह गरेको छ।

भारतको अघोषित नाकाबन्दीविरुद्ध खरो रूपमा उभिएका र चुच्चे नक्शाका नायक केपी ओलीको बुई चढेर, चिनियाँ नेता माओको नाम जोडेका पार्टीका नेता प्रचण्डलाई सत्ताको कमाण्ड प्राप्त भएको छ। राजनीतिक मुद्दामा प्रचण्डभन्दा विपरीततर्फ फर्केका भए पनि भारतको आलोचनाकै भरमा रविको रास्वपा र राजेन्द्रको राप्रपा पनि सामेल भएका छन्।
कांग्रेसभित्र पनि भारतीय वा पश्चिमा शक्तिहरूको आडमै बस्दा आफ्नो भविष्य सुरक्षित देख्ने पात्रहरूको तुलनामा शक्तिमा रहन पाए खुशी हुने पात्रहरू हावी भएका छन्, त्यसैले संसदीय मूल्यमान्यताहरूलाई थन्क्याएर प्रचण्डलाई विश्वासको मत दिएका छन्।

सत्ता परिवर्तनमा चीनको उपस्थितिको जानकारी पाएसँगै नेपाली सर्वसाधारण भन्दा बढी चकमन्निएका छन् – पश्चिमा शक्तिकेन्द्रहरू। वर्तमान अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल भ्रमण गर्नुले पनि यस्तै संकेत गर्छ। नुल्याण्डले रुससँग नजिक मानिने युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई सन २०१४ मा सत्ताच्यूत गर्न भूमिका निर्वाह गरेर चर्चा बटुलेकी थिइन्।

राष्ट्रपति छनोटको पूर्वसन्ध्यामा उनको भ्रमणले वर्तमान सत्ता समीकरणमा केही असर देखियो भने अचम्म नमाने हुन्छ। चीनको भूमिकालाई चुनौती दिन आगामी दिनहरूमा भारत र पश्चिमाहरूले नेपाललाई थप महत्वका साथ हेर्ने भविष्यवाणी गर्न सकिन्छ।

अबको हाम्रो गृहकार्य

हामीले आफ्नो आवश्यक गृहकार्य गर्ने र हाम्रा योजना सफल पार्न एकजुट भएर लाग्ने हो भने बाहिरी हस्तक्षेपहरूको प्रभाव स्वतः निस्तेज हुनेछ। हाम्रै समाजमा स्वाभिमानी उद्यमी छिमेकीलाई गरिने व्यवहार र परनिर्भर बेरोजगारलाई गरिने व्यवहार फरक भएजस्तै अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि हुने गर्छ। यो मानवीय स्वभाव हो।

एउटा भनाइ छ, ‘यदि आफ्नो सपना साकार पार्ने काम गर्न सकेनौं भने अरुले उनीहरूको सपना साकार पार्न तिमीलाई प्रयोग गर्नेछन्।’ नेपालको हकमा पनि राष्ट्रको सपना साकार पार्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ। अन्यथा छिमेकीहरूले उनीहरूको सपना साकार पार्न प्रयोग गर्नेछन्।

शक्तिराष्ट्रहरूको प्रभावकै बीच दक्षिण कोरिया, कतार, स्विट्जरल्याण्ड जस्ता मुलुकहरूले गरेको प्रगतिबाट प्रेरणा लिएर आफ्नो मौलिक सपनाहरू साकार पार्ने दिशामा काम गर्न सक्ने हो भने तगाराहरू क्रमशः पन्छिदै जानेछन्। चीन स्वयं पनि एउटा त्यस्तो उदाहरण हो जसले चलायमान र उत्पादनमुखी आर्थिक उन्नतिहरू हासिल गर्न सकियो भने छिमेकीहरूको उपस्थितिको प्रकृति आफैं परिवर्तन हुँदै जाने सन्देश दिन्छ।

मूर्छित अवस्थामा भविष्यका योजना तयार पार्न सकिंदैन। तर, एकपटक अज्ञानता र अन्धोपनको मूर्छाबाट ब्युँतिसकेपछि पुनः मूर्छित भइँदैन। सकारात्मक, पारस्परिक ज्ञानको ज्योतिले जस्तोसुकै अँध्यारोपन पनि चिर्न सक्छ, हामी मूर्छितबाट चेतनशील बन्छौं। अनि त्यो चेतनाको सहाराले समाजका अंग-अंगका, वस्तुपरक, ठोस योजना बनाउन र तिनीहरूको सफल कार्यान्वयन गर्न सक्नेछौं।

आफ्नै बलबुतामा रोगव्याधि नियन्त्रणदेखि सबै तहका सत्ता संचालन गर्न सफल हुनेछौं। समय लाग्नेछ, तर हामीले पनि आफ्ना समस्याको समाधान गरेर छिमेकीका समस्या समेत सुल्झाउन सक्ने हैसियत बनाउन सक्नेछौं। सम्भव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?