 
																			१९ माघ, डोटी । ‘कसले देख्छ, कसले भन्छ, कसले बुझ्छ, कसले गर्छ, कसको अधिकार क्षेत्रभित्र पर्छ । डेढ बर्ष अगाडि यो राजमार्ग ५ मिटर चौडा थियो हाल अढाइ मिटरमा सीमित भाछ ।’
डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका व्यवसायी नरेन्द्र विष्टले सडकको बिषयमा आक्रोश पोखे । उनले सडक चौडा गर्ने नाममा भएको सडक पनि भत्काएर झन साँगुरो बनाएको आरोप लगाए । उनी भन्छन् ‘सडकको दुवैतिर भएको कालोपत्रे समेत भत्काएर गहिरो बनाई छोडेका छन्, यो कसले काम गर्न लगाएको हो, किन यसो गरेर छोडेको हो, थाह भएन ।’
सडक भत्काएर दुर्घटनाको जोखिम बढाएको स्थानीयबासीहरु वताउँछन् । ‘यो रोड भत्काएको एक बर्ष पुरा भयो’ स्थानीय रमेश बलायर भन्छन्, ‘चौडा बनाउने भनेका थिए भत्काएर गए, फर्केर आएनन् ।’ उनले सडकमा दुर्घटनाको जोखिम बढेको बताए ।
‘कि त यो सडक भत्काउनु नहुने, भत्काइसकेपछि बनाएर छोड्नुपर्ने’ एक स्थानीय भन्छन् ‘नेता, कर्मचारी, ठेकेदार सवै मिलेपछि जनताले यस्तै दुःख पाउँछन् ।’ उनले थपे ‘दुःख पाउने हामीले उनीहरुलाई त के समस्या भयो र ?’
के आई सिंह राजमार्ग अन्तरगत डोटी शिखर नगरपालिका–१० बानेड्ंग्रिसैन सडकको समस्या हो यो । सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लियर थप्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम २०७९ साल बैशाख ३० गतेभित्र सम्पन्न गरिसक्ने सक्ने गरी सडक डिभिजन कुलपाते र आशिष कंन्स्ट्रक्सन कम्पनी प्रालि, कैलालीबीच २०७८ साल कात्तिक २६ गते ठेक्का सम्झौता भएको थियो । सोही ठेक्का अन्तरगत बानेडुंग्रिसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर डाउन गर्ने काम भयो । त्यसपछि भने निर्माण व्यवसायी साईडमा फर्केनन् ।
सडक भत्काएपछि आफुहरुलाई सवारी साधन हाँक्न धेरै समस्या भएको चालकहरु बताउँछन् । धनगढी–सिलगढी रुटमा चल्ने माइक्रो बसका चालक खडकबहादुर लामा भन्छन् ‘उताबाट तीव्र गतिमा गाडी आइरहेको हुन्छ, साइड दिनलाई सडकबाट तल झार्नुपर्ने अवस्था छ ।’
ठेक्का सम्झौताको म्याद थप्न सडक डिभिजन कुलपातेमा भने निर्माण व्यवसायी समयमै पुगे । पहिलो पटक म्याद सकिएको भोलिपल्टै अर्थात् २०७९ साल वैशाख ३१ गते सडक डिभिजनले २०८०, जेठ मसान्तसम्मका लागि म्याद थप गर्यो । म्याद थप भएको नौ महिना बित्दा समेत निर्माण व्यवसायी काम गर्न फर्केका छैनन् ।
हाल उनी सम्पर्कमा नरहेको सडक डिभिजन कुलपातेका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैशी बताउँछन् । उनी भन्छन्, ‘हामीले पटक पटक फोन गर्दा पनि सम्पर्कमा आउँदैनन्, कहिलेकाहीँ फोन उठाइहाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर आउँदैनन् ।’
मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्य अन्तर्गत ४ करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकमा जम्मा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको इन्जिनियर जैशीले वताए । उनी भन्छन्, ‘१३ प्रतिशत बित्तीय प्रगति भएको छ ।’ निर्माण व्यवसायीले कहिले केही, कहिले केही बहाना बनाइरहेको जैशीको भनाइ छ ।
किन रोकियो त काम ? निर्माण कम्पनीका सञ्ंचालक टेकबहादुर सेठी भन्छन् ‘मैले अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ, उहाँको घरमा समस्या परेकाले काम हुन सकेन ।’
उनी आफुले आशबहादुर गुरुङलाई काम जिम्मा लगाएको बताउँछन् । कम्पनीको तर्फबाट सम्पर्क व्यक्ति, ठेक्का सम्झौता गर्ने, काम गर्ने सवै जिम्मा उहाँकै हो’ सेठीले भने, ‘काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक साताभित्रै काम सुरु हुन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4