
यदि वि.सं.१९९७ मा नेपालको एक गाउँमा जन्मेकी महिलाले त्यसबखतदेखि वि.सं.२०६३ सम्म आफूले देखेका र भोगेका घटनाको आधारमा आफ्नो जीवन र समाजका परिवर्तनबारे लेख्छिन् भने अवश्य नै एक इतिहासको अभिलेख बन्थ्यो । वि.सं. १९९७ मा जुद्धशमशेर नेपालको शासक थिए र राणाशासन विरुद्ध लागेका चार पुरुषहरूलाई शहीद बनाइएको थियो । वि.सं. २०६३ मा जनताको माग बमोजिम संसदले राजतन्त्रको अन्त्य भएको घोषणा गरेको थियो । वि.सं. १९९७ मा शौच गर्न पाखातिर जान्थे, वि.सं. २०६३ मा ‘फ्लस’ गर्ने ‘अट्याच्ड’ शौचालयमा ।
यसपालिको साहित्यमा नोबेल पुरस्कार विजेता सन् १९४० (वि.सं. १९९७) मा जन्मेकी आनी एर्नोले आफ्नो सबैभन्दा उत्कृष्ट मानिएको कृतिमा यही गरेकी छन् । आफ्नो जन्मदेखि सन् २००६ (वि.सं.२०६३) सम्म फ्रान्समा भएका घटना उल्लेख गर्दै तिनीहरूको परिणामबाट भएका सामाजिक, आर्थिक, राजनैतिक आदि परिवर्तन; त्यसबाट फ्रान्सेली जनताको र उनको व्यक्तिगत जीवन र सोचाइमा परेका असरहरूबारे लेखेकी छिन्– मात्र करीब २०० पृष्ठमा । तैपनि, मानव जीवनको इतिहासमा पहिले कहिल्यै नदेखिएको रफ्तारमा भएका परिवर्तनको वर्णन विस्तृत तर क्लिष्ट रूपमा प्रस्तुत गरेकी छिन् ।
यद्यपि एर्नो आफ्नो कृतिलाई इतिहास या स्मरण भन्दिनन्, आख्यान भन्छिन् । किनभने उनको शब्दमा, ‘शब्द र भावनाबाट पुनः सिर्जना र पुनःनिर्माण’ गरेकी छिन् । अझ आफ्नो लेखाइलाई एउटा नयाँ संज्ञा दिएकी छिन् : ‘अटोसोसिओवायोग्राफी’ । यो फ्रान्सेली शब्दलाई ‘आफ्नो जीवनको आधारमा समाजको जीवनी’ भनी अनुवाद गर्न सकिन्छ ।
‘अ म्यान्स प्लेस’
आनी एर्नो आफ्नो अतीतबारे सूक्ष्म रूपले लेख्छिन् । आफ्नो जीवनमा आधारित उपन्यास (‘अटोफिक्सन’) बाट लेख्न शुरू गरे पनि सन् १९८३ को आफ्नो बाबुबारे लेखेका ‘अ म्यान्स प्लेस’ देखि आफ्नो विशिष्ट लेखन शुरू गरिन् । उनका किताब छोटा हुन्छन्— ‘अ म्यान्स प्लेस’ ७६ पृष्ठको छ, ‘सिम्पल प्यासन’ ४६, ‘अ गल्र्स स्टोरी’ १४३ । तैपनि यिनीहरू एक किसिमले बृहत् छन् । उनका किताबमा केही विषयवस्तु पटक–पटक दोहोरिन्छन् । जस्तै वर्ग, नारीवाद, यौनिक अभिव्यक्ति, व्यक्तिगत र सामाजिक परिवर्तन । आफ्नो जीवनका घटना कसरी स्मरण र प्रस्तुत गर्ने उनको लागि चुनौती भएको तथ्य फेरि–फेरि आफ्नो किताबमा उल्लेख गर्छिन् ।
सन् १९६७ मा एउटा छोटो बिमारीले मृत्यु भएका उनका बावुबारे करिब पन्ध्र वर्षपछि मात्र लेखिन् । तर कस्तो शैलीमा लेख्ने त ? ‘अ म्यान्स् प्लेस’ मा उनी लेख्छिन्, ‘अभावमा बितेको एउटा जीवनबारे लेख्दा कलात्मक शैली अपनाउने अथवा मार्मिक या मनोरञ्जनात्मक शैलीको प्रयास गर्ने मेरो कुनै अधिकार थिएन । एर्नोले आफ्नो शैलीलाई तटस्थ (‘न्युट्रल’) को संज्ञा दिएकी छिन् र लेख्छिन्, ‘यो तटस्थ किसिमको लेखाइ मेरो लागि स्वाभाविक थियो । मेरो हालखबरबारे घरमा चिट्ठी लेख्दा यही शैली अपनाउँथें ।’
उनका किताबमा भावना र वेदना हुँदैनन्, न त संवाद या प्रकृतिको वर्णन । लेखाइ ठाडो हुन्छ । उनको बाबुको लाशबारे लेख्छिन्, ‘शरीरमा खुकुलो देखिने गाढा नीलो शूटमा उनी उत्तानो परेको चरा जस्तो देखिन्थे ।’ साढे दुई वर्षको छोरा लिएर माइत आएको बेला उनका बाबु एक्कासी बिमारी पर्छन् । बाबुको हेरचाह गर्दा किताब पढेर समय बिताउँछिन् । उनी लेख्छिन्, ‘मलाई थाहा थियो (पढिरहेको किताबको) कुनै पृष्ठ पुग्दा मेरो बाबुको मृत्यु हुन्छ ।’ अनि आफ्नो लेख्ने प्रक्रियाबारे लेख्छिन्, ‘म विस्तारै लेख्दैछु । उनको जीवनको केही तथ्य र विवरणको माध्यमबाट उनीबारे लेख्दा मलाई लाग्छ म विस्तारै मेरो बाबुबाट टाढिंदैछु ।’
तर जस्तोसुकै प्रयास बाबजुद पनि आफ्नो वितेका बाबुबारेको लेखाइ हृदयस्पर्शी नभई रहन सक्दैन । उनको वालेटमा एर्नोले पत्रिकाको एउटा ‘कटिङ्ग’ भेट्छिन् । उनी लेख्छिन्, ‘त्यो पत्रिकाको कटिङ्गमा रुएन शहरको शिक्षक तालिम कलेजको प्रवेश परीक्षा उत्तीर्ण भएकाहरूको सूची उत्कृष्टताको आधारमा दिइएको थियो । मेरो नाम दोस्रो स्थानमा थियो ।’ अनि किताबको अन्त्यमा आफ्नो बाबुको जीवनको लक्ष्यबारे लेख्छिन्, ‘उनलाई हेला गरेको संसारमा म पुगेको कुरा उनको सबैभन्दा ठूलो सन्तुष्टि र शायद उनको जीवनको मानितो थियो ।’ छोरीले परीक्षामा राम्रो गर्दा एक उपलब्धिको रूपमा लिन्थे र कुनै दिन छोरीले आफूभन्दा राम्रो गर्लिन् भन्ने उनको आशा थियो । तर अर्कोतिर छोरी ठूली हुँदै गएपछि छोरीको पढाइप्रतिको लगाव देखेर छोरीले मध्यम वर्गीय विचार, चाहना र आदत देखाउन थालेपछि छोरीको पढाइलाई शंकाले हेर्न थाल्छन् । उनको मध्यमवर्गका ज्वाईंसँग कुरा गर्ने कुनै विषय हुँदैन । तैपनि उनले जमाएको पैसा नवविवाहित जोडीलाई जाओस् भन्ने उनको चाहना थियो । उनको आशा थियो यो उदारताले उनी र उनको ज्वाईंबीचको सामाजिक र सांस्कृतिक खाडल पुरिनेछ । गत केही दशकमा नेपालीको आर्थिक औकातमा आएका परिवर्तनको परिवेशमा यो कति नेपालीको अनुभव होला ?
निम्न वर्गमा जन्मिएका एर्नोका बाबुलाई बाल्यावस्थादेखि नै काम गर्न पर्ने बाध्यता थियो । अरूको खेतमा काम गरे र पहिलो विश्वयुद्धपछि एउटा डोरी बनाउने कारखानामा । त्यहाँ एर्नोको आमासँग भेट भयोे । पछि आफूले बचत गरेको पैसाले एउटा पसल किने, उधारोमा लिनेहरूले पैसा नतिरेपछि फेरि काम गर्न थाले । फेरि अर्को सानो शहरमा पसल र क्याफे भएको व्यवसाय किने ।
आफ्नो वर्गबारे उनी जहिले सचेत थिए । लाज होला, अरूले के भन्ला भन्ने उनलाई जहिले पनि डर थियो । उनको सिद्धान्त थियो, आलोचनाको विषय नबन्नु, आफ्नो विचार नभन्नु र अरूलाई रिस नदेखाउनु । यी आचरणहरूको छाप एर्नोमा पनि लामो समयसम्मको लागि रहिरह्यो । ‘फर्केर हेर्दा मलाई लाग्छ भाषासँग सम्बन्धित सबै कुरा द्वेष र वेचैनीको स्रोत थियो, पैसाभन्दा पनि बढी’ एर्नो ‘अ म्यान्स् प्लेस’ मा लेख्छिन् ।
‘सिम्पल प्यासन’
आफ्नो बाबुको जमाना र विचारको दाँजोमा समाजमा र आनी एर्नो आफैंमा आएका परिवर्तनको प्रतिबिम्व सन् १९९१ मा प्रकाशित ‘सिम्पल प्यासन’ मा पाइन्छ । यसमा उनले करिब एक वर्ष अगाडि भएको एक रूसी कूटनीतिज्ञसँगको ‘अफेर’ बारे लेखेकी छिन् । तर त्यो ‘अफेर’ वर्णन गरेकी छैनन् । एर्नोको शब्दमा ‘एक प्यासन (मोह) का संकेतहरू सूचीकरण’ गरेकी छिन् । न त उनले त्यो मोहको स्रोत खोजेकी छिन् न त कारण । ‘त्यसो गर्दा त्यो एउटा गल्ती थियो या असामान्य थियो र त्यसको मैले स्पष्टीकरण दिनुपर्छ भन्ने अर्थ लाग्न सक्छ’, एर्नो लेख्छिन् ।
‘सिम्पल प्यासन’ को शुरूमा एर्नो लेख्छिन्, ‘पोहोर सेप्टेम्बरदेखि मैले एक पुरुषलाई पर्खनु बाहेक केही गरिनँ ।’ त्यो पुरुषको फोनलाई पर्खिन्थिन् या कहिले आउँला भनेर पर्खिन्थिन् । हाईस्कुलमा पढाउने र विद्यार्थीको कापी जाँच्ने आफ्नो जागीरको काम बाहेक आफूखुसी गर्ने कुनै पनि कार्य, जस्तै लुगा लगाउने, पत्रिका पढ्ने या खाद्य र पेय पदार्थ किन्ने उक्त पुरुषसँग सम्बन्धित थियो । एर्नोको पतिसँग सम्बन्धविच्छेद भइसकेको थियो र उनका दुई छोरा उनीसँग बस्दैनथे । पुरुष भने विवाहित थिए र उनी भन्दा कम उमेरका ।
‘म अफेर अन्त्य गर्न चाहन्थें ताकि फोनको प्रतीक्षा गर्न नपरोस्, मनमा कष्ट सहन नपरोस् । तर तुरुन्तै मलाई थाहा हुन्थ्यो यसको परिणाम के हुन्थ्यो ः आउने दिनहरू आशा गर्ने केही हुँदैनथ्यो’, एर्नो लेख्छिन् । त्यो सम्बन्धकोे अर्थबारे ‘सिम्पल प्यासन’ को अन्तिम वाक्यमा एर्नो लेख्छिन्, ‘म सानो छँदा लाग्थ्यो विलासिता भनेको राम्रो राम्रो लुगा होे । पछि एक बौद्धिकको जीवन बिताउनु हो भन्ने लाग्यो । अहिले मलाई लाग्छ एक पुरुष या नारीको लागि ‘प्यासन’ पनि हो ।’
‘अफेर’ अन्त हुन्छ । कसरी हुन्छ, एर्नोले उल्लेख गरेकी छैनन् । उनको त्यस बखतको दैनिकी (एर्नोले सोह्र वर्षको उमेरमा दैनिकी लेख्न शुरु गरेकी थिइन्) उनले किताबको रूपमा फ्रान्सेली भाषामा सन् २००१ र त्यसको अंगे्रजी अनुवाद ‘गेटिङ्ग लस्ट’ सन् २०२२ मा प्रकाशित गरिन् । शायद त्यसमा लेखिएको होला उनीहरू दुईबीच के भयो र यौनको वर्णन ।
‘सिम्पल प्यासन’ को अन्त्यतिर एर्नो लेख्छिन्, ‘यसको प्रकाशनले मलाई मानिसको जजमेन्ट र समाजको साधारण मूल्यमान्यता अगाडि उभ्याउँछ । अनि उनको मासुमता हराउँछ’, उनी भन्छिन् । उसो भए किन लेख्ने त ? एर्नोको विचारमा हाम्रो जीवनको वृत्तान्त अरूलाई सुनाउनुपर्छ । किनभने हामीले देखेको, भोगेको र सुनेको कुराहरू लेखिएन भने त्यो हराउँछ । ‘द यर्स’ को शुरू उनले जीवनमा देखेका दृष्टान्तहरू सुनेका वाक्यको सूचीबाट गरेका छन् किनभने तिनीहरूको अभिलेख राख्नु जरूरी छ भन्ने उनको मान्यता हो । ‘सिम्पल प्यासन’ को ‘प्यासन’ प्रभावको वर्णन उत्कृष्ट छ, र साहित्यमा यो विषयको यस किसिमको वस्तुगत वर्णन विरलै भेटिन्छ ।
एर्नोको कहलिएको किताबमध्ये तेइस वर्षको उमेरमा उनले गरेको अवैध गर्भपतनबारे लेखेको ‘ह्यापनिङ्ग’ पनि पर्छ । त्यो किताब किन लेखिन् बारे ‘सिम्पल प्यासन’ मा भनेकी छिन्, ‘कहिलेकाहीं मलाई लाग्छ मेरो लेख्नुको उद्देश्य अरूले पनि यही कुरा गरेका या भोगेका छन् थाहा पाउनु हो या छैन भने त्यस्ता अनुभवहरू सामान्य हो भनेर मानोस् भन्ने हो । शायद मेरो चाहना उनीहरूले पनि यी भावना भोग्नु र त्यसबारे कतै पढेका थिए भनेर बिर्सनु भन्ने हो ।’
स्मरणरहोस्, अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन अवैधानिक घोषित गरेको वर्ष आनी एर्नोलाई स्वीडिस एकाडेमीले साहित्यको विधामा नोबेल पुरस्कार प्रदान गरेको हो ।
‘द यर्स’
‘सिम्पल प्यासन’ एक नितान्त व्यक्तिगत घटनाबारे थियो भने ‘द यर्स’ फ्रान्सेली समाज र त्यो समाजमा एक निम्न वर्गीय परिवारमा जन्मेका आनी एर्नोका भोगाइ र अनुभवबारे हो । उनको यो अभिलेखीय वर्णनमा कुनै पनि देशको पाठकले आफ्नो देश र व्यक्तिगत जीवन देख्न सक्छ । दोस्रो विश्वयुद्धपछि राजनैतिक उथलपुथल, द्रुत सामाजिक परिवर्तन र आर्थिक स्थितिमा सुधार अनुभव नगरेको देश संसारमा छैनन् । अनि यिनीहरूको प्रभावमा बदलिंदो मानवीय आकांक्षा, आशा र अनुभव हामी सबैसँग छँदैछ ।
६ दशकका घटना र व्यक्तिगत भोगाइ मिलाएर लेखिएको एर्नोको शैलीले साहित्यिक लेखाइमा एउटा नयाँ आयाम थपेको छ । एर्नोका किताबमा अध्याय हुँदैनन् केवल परिच्छेद र भागहरू । ‘द यर्स’ मा कहिले फ्रान्स र फ्रान्सेली जनताको बारे लेख्छिन् भने कहिले आफूबारे । फ्रान्सेलीहरूको अनुभवबारे लेख्दा प्रथम पुरुष बहुवचन ‘हामी’ प्रयोग गर्छिन्, आफूबारे लेख्दा तृतीय पुरुष (हुन त महिला हुनुपर्ने हो) एक वचन ‘उनी’ । जस्तै आफू पन्ध्र–सोह्र वर्ष हुँदाको सामूहिक अनुभवलाई लेख्छिन्, ‘हामी फिल्मको हिरोइनहरू जस्तो हुन चाहन्थ्यौं, उनीहरू जस्तो स्वतन्त्र हुन । अनि उनीहरू जस्तो व्यवहार गर्न चाहन्थ्यौं । तर फिल्म र किताबको दुनियाँ र समाजको अपेक्षाहरूबीच प्रतिबन्ध र नैतिक मान्यताको ठूलो संसार थियो । फिल्म र तिनमा हिरोइनहरू जस्तो आफूलाई देख्नु प्रतिबन्धित थियो ।’ अनि व्यक्तिगत विचार र अनुभवबारे आफू तेइस वर्ष हँुदाको समय स्मरण गर्दै एर्नो लेख्छिन्, ‘उनलाई लाग्यो शिक्षा गरीबबाट मुक्त हुनको लागि मात्र होइन । पुरुषमा आफूलाई विलय गराउनुपर्ने नारीको परिस्थितिबाट मुक्त हुने अस्त्र पनि हो ।’
‘अ म्यान्स प्लेस’ मा जस्तै वर्गको कुरा ‘द यर्स’ मा फेरि–फेरि भेटिन्छ । स्नातक तहमा अध्ययन गर्दाको समय स्मरण गर्दै एर्नो लेख्छिन्, ‘उनी आफ्नो बाल्यावस्थाको संसारमा र आफ्नो आमाबुवाको सानो व्यवसायमा आफूलाई देख्न सक्दैनथिन् । … उनी आफूलाई कहींको पनि नभएको, उनले हासिल गरेको ज्ञान र पढेको साहित्यलाई केहीभित्र पनि नभएको महसुस गर्थिन् । … कहिलेकाहीं उनको सिकाइको बोझ उनी माथि भएको जस्तो लाग्थ्यो । उनको शरीर कलिलो थियो तर उनको सोचाइ बुढो ।’
आफ्नो छैसट्ठी वर्षको जीवनको कुन क्षणबारे लेख्ने ? एर्नोको लागि आफ्नो र परिवारको पुरानो फोटोहरू अतीत सम्झने सशक्त माध्यम बन्छन् । फोटोहरूमा देखिने एर्नो र छैसट्ठी वर्ष पुगेको एर्नो एउटै हुन्, उनी फेरि–फेरि प्रश्न गर्छिन् र सोध्छिन् फोटोको त्यो केटीलाई कस्तो स्मरणले वर्णन गर्ने ? उनी लेख्छिन्, ‘आफूबारे जान्ने र चिन्ने शायद सबैभन्दा उत्तम तरिका आफ्नो अतीत, आफ्नो जीवनका हरेक कालको स्मरणबाट हो ।’
दोस्रो विश्वयुद्ध सकिएपछिको उमंग, १९५० दशकको फ्रान्स–एल्जेरिया युद्ध र सन् १९६८ को फ्रान्सका कामदार र विद्यार्थीको आन्दोलन, फ्रास्वाँ मितेराँको उदय जस्ता मुख्य राजनैतिक घटना उल्लेख छन् । सन् १९६८ पछिको फ्रान्सबारे एर्नो लेख्छिन्, ‘बौद्धिक होस् या नहोस् कुनै पनि व्यक्तिलाई बोल्ने र सुनिने अधिकार थियो । उनीहरूले सिर्फ एक समूह, एक परिस्थिति अथवा एक अन्यायको प्रतिनिधित्व गर्नुपथ्र्यो ।’ वि.सं. २०४६ को प्रथम जनआन्दोलन पछि नेपालमा शुरू भएको यस्तै परिस्थिति वि.सं. २०६२÷६३ को दोस्रो जनआन्दोलन पछि उत्सर्गमा पुग्यो ।
नयाँ–नयाँ सामान, प्रविधि र तिनको प्रभाव बारे ‘द यर्स’ भरी उल्लेख गरिएको छ । एर्नो लेख्छिन्, ‘नयाँ सामानले अतीतलाई बिर्साइदियो । मानिसले तिनीहरूको उपयोगिता बारे प्रश्न गरेनन् । उनीहरूलाई ती वस्तुहरू चाहना मात्र थियो । अनि ती किन्ने पैसा कमाउन नसक्दा कष्ट भोगे ।’ त्यस्तै इन्टरनेटबारे एर्नो लेख्छिन्, ‘शक्ति र दण्डहीनताको महान मानव चाहना पूर्ति भयो । हामी वस्तु भएको र विषय नभएको संसारमा पुग्यौं । इन्टरनेटले संसारलाई एउटा ‘डिस्कोर्स’ (वर्णन) मा परिवर्तन गरिदियो ।’ यो ‘ट्वीटर’ भन्दा अगाडिको दुनियाँको वर्णन हो ।
महिला र पुरुषको सम्बन्ध बारे पटक–पटक उल्लेख छ । सन् १९५० को दशकबारे एर्नो लेख्छिन्, ‘केटाहरू आफूलाई मनमा आएको कुरा भन्ने अधिकार छ भन्ठान्थे । शब्द र ठट्यौली उनीहरू काबुमा थियो । …केटीहरू मुसुक्क हाँसेको जस्तो गर्थे ।’ अनि सन् १९६० को दशकको शुरूतिर गर्भनिरोधक चक्की उपलब्ध भएपछिको समयबारे उनी लेख्छिन्, ‘हामीलाई लाग्यो संसार अब पहिलाको जस्तो हुँदैन । हामी हाम्रो शरीरबाट यति मुक्त हुन्छौं कि त्यो परिस्थिति डरलाग्दो थियो । पुरुष जस्तै स्वतन्त्र ।’
आनी एर्नोको विषयवस्तु र लेखाइ अरू कुनै लेखकको जस्तो पनि छैन । एक युगको स्मरण छ, विचार छ । थोरै शब्दमा धेरै कुरा भन्छिन्, लेखन कलाको एक नयाँ सम्भावना प्रस्तुत गरेकी छिन् । उनको उद्देश्यबारे ‘द यर्स’ को अन्त्यतिर लेख्छिन्, ‘एउटा व्यक्तिगत स्मरणमा सामूहिक स्मरण खोजेर उनले भोगेको जीवनमा आधारित इतिहास प्रस्तुत गर्नेछु ।’ तर यो अभ्यास एर्नोलाई सजिलो भएन । किताबको बीचतिर लेख्छिन्, ‘उनले हरेक पटक लेख्दा शुरू गर्दा त्यही अड्चनहरू आइपर्छन् : ऐतिहासिक समय, कुरा, विचार, आचरण र यो नारीको व्यक्तिगत जीवन कसरी प्रतिबिम्व गर्ने ? पैंतालीस वर्षको चित्रलाई इतिहास बाहिर रहेको एक अस्तित्वसँग कसरी मिलाउने ?’
‘द यर्स’ पढ्दा एउटी नारीको जीवनको उतारचढाव र त्यो जीवनको प्रभाव पार्ने गतिशील समाजको चित्र विस्तृत रूपमा देख्छौं– सिर्फ २२६ पृष्ठमा । अन्तिम पृष्ठमा आफ्नो उद्देश्य एर्नो दोहोर्याउाछिन्, ‘हामी कहिल्यै नपुग्ने समयबाट केही कुरा बचाउन ।’
‘अ गर्ल्स स्टोरी’
सन् २०१६ मा प्रकाशित ‘अ गर्ल्स स्टोरी’ मा आनी एर्नो छपन्न वर्ष अगाडिको एउटा व्यक्तिगत घटना आफ्नो स्मरणमा केलाउँछिन् । झण्डै अठार वर्षको उमेरमा पहिलो पटक घरबाट बाहिर ६ हप्ताको लागि स–साना केटाकेटीको ‘समर क्याम्प’ मा काम गर्न जाँदा उनको यौनको पहिलो अनुभव र त्यसको प्रभावबारे लेखेकी छिन् । अनि आफ्नो अतीतलाई फर्केर कसरी हेर्ने, त्यसको उपलब्धि के हो जस्ता प्रश्न उठाएकी छिन् ।
‘समर क्याम्प’ मा जाँदा यौनको अनुभव गर्न ती युवती उत्सुक थिइन् । ‘उनी चाहना र गर्वले भरिपूर्ण थिइन्’, एर्नो लेख्छिन् । निम्न वर्गबाट मध्यम वर्गमा पुग्ने बाटोमा हिंडिरहेकी ती युवतीको कुनै ‘आइडेन्टिटी’ (अस्तित्व) थिएन, थियो भने आफूले पढेको र पत्रपत्रिकाको आधारमा थियो, एर्नोको सम्झनामा । हुनत त्यो उमेरमा कुनै पनि युवक या युवतीले आफूलाई कसरी देख्छन् प्रष्ट हुँदैन । केटाहरूसँग कसरी बोल्ने उनलाई थाहा थिएन र क्याम्पमा उनीप्रति रुचि देखाउने पहिलो केटासँग यौन अनुभव गर्न तयार हुन्छिन् । एर्नो लेख्छिन्, ‘उनको समर्पण त्यो केटाप्रति थिएन, पुरुषको बर्वरता प्रति थियो र कुनै न कुनै समय त्यसको शिकार बन्नुपर्ने विश्वव्यापी नियम थियो । त्यो कानून बर्बर र फोहोर थियो, तर यथार्थ त्यही नै थियो ।’ तर त्यो बाइस वर्षको केटाले उनलाई अस्वीकार गर्छन् । अरूसामु उनको खिल्ली उडाउँछ र उनी हाँसोको पात्र बन्छिन् । तैपनि त्यो अनुभवलाई एर्नो सन् २०१४ मा लाजको संज्ञा दिन सक्दिनन् । ‘यो धर्तीमा हरेक दिन घाम झुल्केसँगै उनीलाई ढुङ्गा हान्न तयार भएका पुरुषहरूको घेरामा एक नारी उभिन्छिन्’, एर्नो लेख्छिन् ।
‘समर क्याम्प’ सकेपछि हाईस्कुल सिध्याउँछिन्, शिक्षिकाको तालिममा सहभागी बन्छिन् तर सिमोन द बुभ्वारको ‘द सेकेन्ड सेक्स’बाट प्रेरित भई त्यो पेशा आफूलाई नसुहाउँदो भएको ठम्याउँछिन् र साहित्य अध्ययन गर्ने निधो गर्छिन् । सन् १९४९ मा प्रकाशित भएको बुभ्वारको नारीवादको दोस्रो अभियानको मुख्य किताब पढेपछिको उन्नाइस वर्षको आन्नीको अनुभव बारे एर्नो लेख्छिन्, ‘उनले आफ्नो र त्यसबेलाका धेरैजसो केटीले सोध्ने म आपूmलाई कसरी निर्वाह गरुँ भन्ने प्रश्नको जवाफ भेटिन्, स्वतन्त्रताले ।’ सन् २०१४ मा आधा शताब्दी अगाडिको घटना सम्झँदा र त्यसबारे लेख्दाको अनुभवबारे एर्नो लेख्छिन्, ‘मैले एक कथाको पात्रबारे लेखेको होइन तर म त्यसबेलाको आफूलाई बुझ्न खोज्दैछु ।’ उनलाई सन् २०१४ मा पनि थाहा छैन किन त्यो केटाले अस्वीकार गरे पनि अझै उसँग यौनसम्बन्ध राख्न उनी तयार थिइन् । त्यसैले होला आनी एर्नोले लेखक बन्ने निर्णय गरेकी- आफ्नो जीवनका घटनालाई बुझ्न र तिनलाई अर्थ दिन ।
उनको विचारमा लेख्नु भनेको मनोवैज्ञानिक या समाजशास्त्रीय व्याख्याको माध्यमबाट र समाजमा वर्चश्वमा रहेको विचारहरूको माध्यमबाट नभई एक ‘न्यारेटिम’ (कथा) को माध्यमबाट कुनै कुराको उत्खनन् गर्नु हो । अथवा कुनै व्यक्तिले आफूलाई बुझ्न आफ्नो व्यक्तिगत अतीत केलाउनुपर्छ, सामाजिक परिस्थिति र वैज्ञानिक सिद्धान्तहरू होइन । यस्तो उत्खनन्द्वारा उक्त कथाको कुनाकाप्चाबाट निस्कने कुराले हामीलाई हाम्रो जीवनको घटना र हामीले गरेको कार्य बुझ्न र सहन मद्दत गर्छ । त्यसैले आनी एर्नोले उनका जीवनको घटना सूक्ष्म रूपले नियालेकी छिन् र तीबारे लेखेकी छिन् । ताकि हामी सबैले हाम्रो जीवन र इतिहासको यो युग बुझ्न सकौं ।
प्रतिक्रिया 4