+
+

कम्तीमा मान्छे बनौं हाकिम सा’ब !

कम्तीमा मान्छे बनौं हाकिम सा’ब ! जागिर, पद, चमकधमक क्षणिक हुन् । समाज, आफन्त, साथीभाइ भनेका जागिर छँदा र आम नागरिक हुँदा पनि चाहिन्छन् ।

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०७९ माघ २१ गते १३:४५

झण्डै एक महिनाअघिको कुरा हो, अफिसबाट घर फर्कंदै थिएँ । मैले गाडी कुर्ने ठाउँमा दुई जना सँगै उभिएको देखें । पहिले त वास्ता गरिनँ, तर विस्तारै चिने–चिने जस्तो लाग्न थाल्यो । ‘अस्ति सेवा निवृत्त भएका हाकिम सा’ब हुन् कि क्या हो ?’ मास्क लगाएका छन्, हो कि होइन ठम्याउन सकिनँ ।

मन्त्रालयको त्यत्रो हाकिम भएका मान्छे पनि हामी जस्तै पब्लिक बस कुर्दा हुन् त ? म दोधारमा परें ।

यात्रु ठेलमठेल कोचेको बस मेरै सामुन्ने आएर रोकियो ।

‘ए दिदी जाने हो– कोटेश्वर, बालकुमारी, ग्वार्को, इमाडोल …’ कन्डक्टर भाइ कराउँदै आयो । मैले गाडी रोक्ने इशारा गरेसँगै गाडी रोकियो । गाडीमा बस्ने त के उभिने ठाउँ पनि मुश्किलले भेटियो ।

एउटा गाडी छुट्यो भने अर्को आइपुग्न १५ मिनेट लाग्छ, जसरी भए पनि जानै पर्‍यो । म बस चढें । मसँगै त्यहाँ उभिएका दुई जना पनि त्यही बस चढे । कोटेश्वर पुगेपछि बल्ल चिनें बोली सुनेर । ती महोदय त हाकिम सा’ब नै रहेछन्, भर्खरै सेवानिवृत्त भएका ।

हाकिम सा’बले नै बोलाए, ‘तपाईं कहाँ बस्नुहुन्छ ?’ म त छक्क परें । पदमा हुँदा हामीले नमस्कार गर्दा पनि फर्काउन नसक्ने, नभ्याउने, हामीहरूले म फलानो नाम गरेको भन्दा पनि नचिन्ने तर आज पद सकिएपछि गाडीमा यत्रो ठेलमठेल यात्रुको भीडमा पनि उनले मलाई चिने ।

हाकिम सा’बको बोली सुनेपछि नमस्कार फर्काएँ ।

‘हजुर कहाँ जान लाग्नुभएको त सर ?’ प्रश्न गरें ।

‘ल मेरो घर पनि ग्वार्कोमा हो नि, सानो काम थियो नागरिक लगानी कोषमा त्यही भएर यहाँ आएको आज …’ उनले बेलिविस्तार लगाए ।

‘काम भयो त सर ?’ फेरि प्रश्न गरें ।

‘भयो भयो’, जवाफ आयो ।

अब भने कोरोना कालको याद आयो, रंगीन तस्बिर हेरे जस्तै ।

अफिस फरक भए पनि यी हाकिम सा’बलाई राम्रोसँग चिन्थें । उनको शाखामा मेरै साथीहरू काम गर्थे । कोरोनाको महामारीमा उनकै घर नजिकबाट दुई–चार जना कर्मचारीहरू अफिस आउँथे ।

पब्लिक गाडी चढ्न जोखिम छ, सरको (सरकारी) गाडीमा केही समय हामी पनि आऊजाऊ गर्नुपर्‍यो सर भनेर बिन्ती बिसाएछन् । उनले कर्मचारीलाई केही प्रतिक्रिया दिएनछन् । अलिकति ज्यानको माया, अलि धेरै पदको उन्माद, उनले चालकलाई उर्दी लगाएछन्, ‘मेरो गाडीमा म र मेरो परिवार बाहेक अरू कसैलाई चढाउने होइन ।’

एकअर्काको साथ चाहिने महामारीको बेला त्यस्तो हर्कत देखाएका हाकिम सा’ब आज त म जसरी नै सार्वजनिक बसमा हुइँकिइरहेका ।

कोटेश्वरमा पुगेपछि दुइटा सिट खाली भए । ‘सर यो सिटमा बस्नुस्’ आग्रह गरें । यसो पछाडि फर्केर हेरे र उनी आफ्नी श्रीमतीसहित सिटमा बसे ।

हाम्रो देशमा सार्वजनिक यातायात गतिलो छैन । विकसित देशहरूमा सबै मानिस सार्वजनिक सेवामा यातायात गर्छन् । सरकारी उच्च पदस्थहरूले पदमा रहँदा सार्वजनिक सेवा सुधार्न भूमिका खेल्दैनन् । हामी जस्ता कर्मचारीको जागिरमा रहँदा र अवकाश पछि पनि जीवनशैलीमा कुनै बदलाव आउँदैन । तर, सरकारी सेवामा रहँदा मस्ती गरेका कतिपय मानिसलाई सार्वजनिक यातायातमा देख्दा अनौठो लाग्ने रहेछ ।

हुनत, ‘हाकिम’को हैसियतमा पुगेका कर्मचारीहरू सेवा निवृत्त हुनासाथ गाडी चढ्न सक्ने हैसियत बन्नुपर्छ भन्ने होइन । मेरो भनाइले अकुत भ्रष्टाचार गरेर सम्पत्ति जोडेका सेवा निवृत्त कर्मचारीहरूको मनोबल नबढोस् । पदमा रहँदा पदीय शक्तिको अतिरिक्त रवाफ देखाउने प्रवृत्तिसँग भने गुनासो हो ।

हामी सर्वसाधारण जस्तोसुकै चुनौतीलाई पनि सहजै स्वीकार गर्न सक्छौं । दिन त सबैका त्यही २४ घण्टाकै हुन् नि होइन र ? कुमालेको चर्खा होइन र जिन्दगी ? घुमिफिरी उही पुरानै लयमा त आउनै पर्ने रहेछ कि कसो ? यसो हाकिमको विगत र वर्तमान सम्झें ।

अफिसमा जाँदा, पद हुञ्जेल हाकिम सा’बलाई सबैले चिन्थे तर हाकिम सा’बले कसैलाई चिन्दैनथे । जो जसलाई चिन्थे त्यो अधिकांश आफ्नो फाइदाको लागि मात्रै चिन्थे । तर आज पूर्वहाकिम सा’ब भएपछि उनी अर्को अफिसको कर्मचारी पनि चिन्न थालेका छन् ।

ग्वार्कोमा दुई जना ओर्लिए । ‘ल है त राम्रोसँग जानुस्’ भन्दै हाकिम सा’बले सदासयता पनि देखाए । हस् सर भन्दै अगाडि बढें । म आफ्नो गन्तव्यमा पुगेपछि ओर्लिएँ । तिनै हाकिम सा’बको कार्यालयकी कर्मचारी साथीलाई फोन गरें, ‘तिम्रो हाकिम त आज मै चढ्ने गाडीमा पो चढेर आए त बानेश्वरबाट …, यस्तो दिन पनि आउने रहेछ एक बारको जुनीमा… !’

उनले अनौठो मानिन् । पद हुन्जेल पो जी–हजुर र चाकडी चल्छ त ! जागिर सकिएपछि आम नागरिक हो । नागरिक जसरी हिंड्छन्, ‘हाकिम’हरू पनि त्यसरी हिंड्छन् । अब तिनलाई हाकिम भनेर कसले चाकडी गर्छ र ?

उनले भनिन्, ‘तिमीलाई त थाहा छ नि, कोरोनाको बेलामा हामी स्टाफलाई कति रुवाएका थिए ती हाकिम भनाउँदाले ? कति न उसको मात्रै ज्यान जस्तो ? उसको व्यक्तिगत गाडी पनि होइन, अफिसले परिपत्र गरेर आफ्नो पायक पर्ने स्थानबाट अफिसका कर्मचारीहरू ल्याउने–लैजाने गर्नु भन्दा पनि ड्राइभरलाई उर्दी लगाउने ! आज त कोरोना सर्दो रहेनछ … !’

साथीले पीडा मिश्रित आक्रोश पोखिन् ।

कार्यालय प्रवेश गर्दा सबैको अभिवादन खाने हाकिम सा’बलाई अस्ति पेन्सन–पट्टाको काममा अफिस जाँदा कसैले नि मतलब गरेनछन् । हिजोको उनको तितो व्यवहारले ।

साथीले सुनाइन् । पद नहुँदा पनि सम्मान गर्न लाग्ने व्यवहार गरे पो उनी सदावहार हाकिम हुन्थे । सम्मान पाउँथे । हिजो पदको शक्तिलाई सम्मान गरेका थिए तर अब त्यो बाँकी रहेन, सम्मान पनि बाँकी रहेन ।

‘ल हाम्रै हैसियतमा आएकोमा पूर्व हाकिमलाई स्वागत छ’, साथीले खुसी व्यक्त गरिन् ।

अब आफ्नै अफिसका हाकिम सा’बको कुरा गरौं । पोहोर सालतिर होला । कार्यालय समयमा सार्वजनिक बसमा सिटमा बसेर यात्रा गर्न पाउनु अहोभाग्य नै हुन्छ । कोचाकोच बसमा उभिएर अफिस जाँदै थिएँ, ‘कोटेश्वरमा रोक्नुस् है …’ एक जना पुरुषको आवाज आयो ।

‘खै यसो अगाडि जाने बाटो दिनुस् त’ पछाडिबाट पुरुषको बोली सुनियो । यसो हेरेको त आफ्नै अफिसका पूर्व हाकिम सा’ब रहेछन् ।

‘ओहो सर नमस्कार …!’ हात जोड्न सक्ने अवस्था थिएन, मुखले मात्र नमस्कार गरें । ‘नमस्कार नमस्कार, अफिस जाँदै हुनुहुन्छ ? के छ अफिसतिर ?’ सरलाई थाहा भए जति स्टाफहरूको नामै लिएर सोधे ।

‘सबै ठिक छ सर’ मैले सोधें, ‘हजुर कहाँ जान लाग्नुभएको त सर ?’

कोटेश्वरमा सानो काम छ भन्दै उनले भने, ‘ल राम्रोसँग जानुस् है !’ उनी २० रुपैयाँ भाडा तिरेर बसबाट ओर्लिए ।

हाकिम सा’बहरूको जीवनशैली बदलिने रहेछ । जीवनको यात्रामा अनेक दृश्यहरू देख्नुपर्छ । आखिर स्थायी सत्य त हामी पो रहेछौं कि जस्तो लाग्यो ।

कतिपटक अफिसको ड्रेस लगाएर बाटोमा गाडी कुरिरहेका हुन्छौं । त्यही बाटो चार–पाँच जना हाकिमहरूका गाडी हुइँकिन्छन् । हातले इशारा गर्छौं र पनि गाडी रोकिंदैनन् । २०–३० रुपैयाँ भाडा तिर्न नसकेर होइन, समयमै सुबिस्तासँग अफिस पुग्न हो सवारी रोकेको । तर गाडी रोकिंदैन ।

कहिलेकाहीं त चालकलाई करायौं पनि, ‘के हो दाइ ? हामी यही अफिसको स्टाफ होइन ? अफिसको ड्रेस लगाएको छ, हातले रोक्ने इशारा गरेको छ, तैपनि तपाईंले गाडी नरोक्ने ? हाकिमको प्राइभेट गाडी हो र ? पदीय हैसियतले हाकिमले पाए होलान्, तर अधिकार त हाम्रो पनि छ नि होइन र ?’ चारपाँच जना साथीहरू मिलेर चालकलाई स्पष्टीकरण नै सोधेछन् । चालक निरीह बने रे ! ‘रोक्ने नरोक्ने अधिकार मेरो हुन्न । हाकिमले नरोक भनेपछि मेरो के लाग्छ र ?’ उनले उल्टै गुनासो सुनाएछन् ।

हाकिम साबको गाडीमा उनीहरूका ससुराली, माइती, मावली, नातागोता ओसारपसार गर्न हुन्छ तर कार्यालय समयमा बाटोमा गाडी कुरेर बसेका आफ्नै अफिसका कर्मचारी ल्याउन–लैजान मिल्दैन । आफ्नै अफिसका साना तहका कर्मचारी बोक्दा हैसियत घट्दैन हाकिम सा’ब । आखिर अवकाश पाएपछि तपाईं हाम्रो हैसियत बराबर हुन क्यारे … !

हामी त जस्ता बसमा पनि यात्रा गर्न पारङ्गत भएका छौं, बरु हाकिम सा’बहरू पो बानी पार्दै गर्नुस् । हिजो अफिसको गाडी बाहेक पाइला नराख्ने हाकिम सा’बहरू आज ट्याम्पो, माइक्रोबस कुरेको, चढेको देख्दा ‘वाह्’ भन्न मन लाग्छ । त्यही भएर मान्छे जहाँ पनि चिन्नुपर्छ । नत्र कोचाकोच भरिएको गाडीमा ठ्याक्कै चिन्नुपर्ने हुन्छ ।

कम्तीमा मान्छे बनौं हाकिम सा’ब ! जागिर, पद, चमकधमक क्षणिक हुन् । समाज, आफन्त, साथीभाइ भनेका जागिर छँदा र आम नागरिक हुँदा पनि चाहिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?