+
+
अनुवाद साहित्य :

सुइनाहरु सुन्दै जाँदा

लू सुन लू सुन
२०७९ माघ २४ गते १४:३५

हामीहरू सुइना देख्न स्वतन्त्र छौं तर आफ्ना सुइनाहरू सुनाइहिंड्न स्वतन्त्र छैनौं । हामी सुइना देख्छौं तर आफ्ना सुइना सुनाइहिंड्दा हामीले झूठ पनि बोलिरहेका हुन सक्छौं ।

नव वर्षको दिनमा पूर्वेली पत्रिकाको नव वर्ष विशेषांक मेरो हात पर्‍यो । जसका पुछारका पाताहरूमा ‘नयाँ सालका सुइनाहरू’ देख्न पाइन्छ । ‘चीनको भविष्य र हजुर स्वयंको भविष्यको सम्बन्धमा हजुरका सुइना’ भन्ने सवालमा १४० भन्दा बढी जवाफ प्रकाशित छन् ।

कुडा गर्‍या कुडा आउना, भल आया मुडा आउना । म सम्पादकको दाँतबाट निस्केको पसिनाको कदर गर्छु । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको बेलामा सुइनाहरू भनिहिंड्नु उत्तम हो । तथाकथित साँचा विज्ञप्तिहरूमा मौजूद झुठका विषयभन्दा सुइनाहरूमा मौजूद साँचा कुराका बारेमा भलाकुसारी गर्नु शुभ हुन्छ । तर यो कुरो खोज्दा मैले सम्पादकलाई बिजोग किसिमले विफल भएको पाएँ । कैखो भाइ मर्‍यो, कैखो साई पड्यो ?

यो विशेषांक प्राप्त गर्नुपूर्व मैले यसका सहयोगीमध्ये एक जनासँग भेटेको थिएँ । जसले ग्याली-प्रुफ हेरेका रहेछन्, र उनले मलाई के खुलासा गरे भने उनको जवाफ उनको मालिकद्वारा कैंची चलाइएको र काँटछाँट गरिएको थियो । उनको सुइना नितान्त फरक थियो । जात जुनाउनो, गू गुनाउनो भनेजस्तो पूँजीवादीहरू सुइना देख्न मनाही गर्न सक्तैनन्, तर हजुरले सुइना एकपटक सुनाइसक्नुभएपछि उनीहरूले आफ्नो बलबुताले त्यसमाथि हस्तक्षेप गर्छन् र हजुरको स्वतन्त्रता खोस्छन् । सम्पादकको महापराजय नै यै हो । मु ताक्तो मुडो, बुन्चरो ताक्तो घुँडो ।

तर काँटछाँटमा अल्झिनुभन्दा उल्लिखित सुइनाहरूको नैनसुख ग्रहण गरौं । सम्पादकले औंल्याएबमोजिम झण्डै सबैजसो सहयोगी बौद्घिकहरू नै हुन् । सर्वप्रथम उनीहरू सबैले असुरक्षाको भाव प्रकट गरेका छन्, अनि तीमध्ये धेरैले भविष्यमा एउटा राम्रो समाजको सुइना देखेका छन्, ‘प्रत्येकलाई आफ्नो योग्यताअनुसार,’ तथा ‘विश्वव्यापी समानता’, जुन टड्कारो गरी गैरकानुनीजस्तो सुनिन्छ । (यो मेरो आफ्नो व्याख्या हो, सम्पादकको होइन ।)

सरोनर, अनुवादक

तर त्यसपछि उनी अलि ‘हुस्सु’ लाग्न थाले, र दैव जानोस् कहाँबाट हो उनले ती सयथरी-विचित्रका सुइनाहरूलाई प्रमुख दुई वर्गमा विभाजित गर्ने सिद्धान्त अघि सारे । राम्रो जगतका बारेमा मौजूद ती सबै सुइनालाई उनले ‘प्रचारवादी’ सुइना वा ‘पाखण्ड’को नाम दिए । शास्त्रसम्मत सुइनाहरूले ‘व्यक्तिगत विचारहरू व्यक्त गर्नुपर्छ,’ र उनले ‘विचार’लाई एउटा शून्य भाववाचक संज्ञामा परिणत गर्ने निश्चय गरे । तर कन्फुसियस उवाच : ‘तिमीहरूमध्ये जोकोहीले त्यही कुरा व्यक्त गर्नुपर्छ जुन उनी सोच्छन्,’ र उनले त्सेङ तियनको मनोकांक्षालाई सही ठहर गरे, किनभने उनको मनकामना कन्फ्युसियसको इच्छाअनुसार थियो ।

वास्तवमा सम्पादकले ‘प्रचारवादी’ आरोप लाएका अति कम सुइनाहरू मात्र यहाँ देख्न पाइन्छन् । लेखहरू जागा अवस्थामा लेखिने भएकाले र सवाल ‘बुद्घि परीक्षण’सरी हुने भएकाले, प्रत्येक सहयोगीले आफ्नो हालको स्थिति, तह र पेसा सुहाउँदो सुइना प्रस्तुत गर्नुपर्‍यो । (यो कुरा निश्चित रूपमा तिनमा लागु हुँदैन, जसमा कैंची चलाइए वा काँटछाँट गरिए ।)

ती सुइनाहरू जति नै ‘प्रचारवादी’ किन देखा नपरून्, वास्तवमा तिनमा भविष्यको राम्रो समाजको लागि कुनै ‘प्रचार’ हुँदैन । ‘सबैका लागि खाना,’ ‘वर्गविहीन समाज’ वा ‘विश्वव्यापी समानता’का सुइनाहरू देख्नेमध्ये धेरै थोरैले मात्र त्यस्तो समाज बनाउनुभन्दा पहिले आवश्यक कुराहरूको सुइना देख्छन्- वर्गसंघर्ष, श्वेत आतङ्क, हवाई-आक्रमण, अन्तिम साससम्मको सास्ती, नाकका प्वालप्वालबाट खन्याइने भकभकी उमालेको भेडेखुर्सानी-पानी, विद्युतको झट्का । … जबसम्म मानिसहरू यी कुराहरूको सुइना देख्दैनन्, तबसम्म त्यो सुन्दर संसार यथार्थमा परिणत हुनेछैन । उनीहरूले फूलबुट्टा भरीभरी जतिसुकै गतिलोगरी किन नलेखुन् । त्यो खाली एउटा सुइना रहिरहनेछ, कहिल्यै साकार नहुने सुइना । र त्यस्तो सुइना सुनाइहिंड्नाले अरूलाई पनि त्यस्तै अर्थहीन सुइना देख्न प्रेरित गर्नेछ । जसलाई देखेर ज्वरो आउँछ, ऊ नै सधैं मेरो घर आउँछ ।

तैपनि यहाँ यी सुइनालाई साकार तुल्याउन जाँगर चलाउनेहरू छन्, जो ‘रातभरि कराउनु, दक्षिणा हराउनु’भन्दा काम नै गर्न अग्रसर हुन्छन् । उनीहरू भविष्यको सुइना देख्छन् र त्यसलाई साकार तुल्याउन वर्तमानमा पनि कम्मर कसेर लाग्छन् । जसले धेरै बौद्घिक आफ्ना सुइनाहरूलाई ‘प्रचारवादी’जस्तो देखाउन बाध्य भएका छन्, तर जुँगो चल्यो, कुडो बुझ्यो भने उनीहरू त्यसको बिलकुल विपरीत हुन् । उनीहरू स्वयं ‘प्रचारित’ गराइएका छन् ।

उनीहरू आफूलाई नौनीरोटी वा दालभात डुकूका लागि प्रचार गराउँछन्, आजकल र आगामी समयमा पनि ।

यौटा चोर थियो श्रीनगरीमा

कानपुरमा पक्रियो ।

हस्तीनापुरमा विचार गरियो

नङपुरमा मारियो ।

एउटा मानिसको ‘शिर’मा जुम्रो थियो,

कान’नेर भाग्दै गरेको अवस्थामा फेला पार्‍यो,

एकछिन ‘हात’ले खेलायो,

दुइटा ‘नङ्ग्रा’ले किचिक्क पारेर मार्‍यो ।

हामीहरू यद्यपि प्राचीन विचारपथमा के साह्रो रूमल्लिएका छौं भने दालभातको उल्लेख मात्र गर्नु पनि अशोभनीय लाग्छ । बात ठूलो कि भात ठूलो ? मैले ‘पूर्वेली पत्रिका’का सुयोेग्य सहयोगीहरूको अलिकति पनि अनादर गर्न खोजेको होइन । सम्पादकले आफ्ना टिप्पणीहरूमा फ्रायडको ‘परम्परानिष्ठ’ सुइनाहरूले मानिसहरूका अन्तर्मनका गुह्य प्रकट गर्छन् र तिनका सामाजिक महत्व हुँदैनन् भन्ने विचारलाई उद्धृत गरेका छन् ।

अब फ्रायड दमनलाई सुइनाहरूको मूल मान्छन्- तर मानिसहरू किन दमित छन् त ? यो कुरा बोल बोल माछा, मुखभरि पानीजस्तो सामाजिक व्यवस्था, रीतिथिति र अन्य तमाम कुराहरूसँग जोडिएको छ । हजुरले सुइना देख्नु बिल्कुल सही छ, तर जब हजुर सुनाइहिंड्नुहुन्छ र त्यसबारे सोधपुछ गर्नुहुन्छ । त्यसको मनोविश्लेषण गर्नुहुन्छ, यो अनुचित हुन्छ । सम्पादकले उक्त कुरामा ध्यान दिएनन्, जसको नतिजास्वरूप उनी जानाजानी पूँजीवादीहरूको रातो सिसाकलममुनि जोतिन पुगे । चोक्टा खान गएको बूढो झोलैमा डुब्यो । तर सुइनाहरूलाई ‘दमन’को कोणबाट व्याख्या गर्नु अचेलका धेरैजसो मनुष्यका निम्ति आपत्तिजनक हुन सक्दैन ।

मलाई के लाग्छ भने फ्रायडसँग सम्भवतः धेरथोर पैसा थियो अर्थात् उनी संसारको सबैभन्दा सानो भ्वाइलिन राम्रै बजाउँथे र उनी आफू पेट फुट्नेगरी खान पाउँथे, त्यसैले नौनीरोटी वा दालभात डुकू उनका लागि कुनै समस्या भएनः त्यसो हुनाले उनको जोड यौनमा रह्यो । र उनकै जस्तो पृष्ठभूमिका धेरै मनुवाले तारिफको पुल बाँधेर उनको कुरालाई स्वागत गरे । चबा’को भात मीठो हुँदैन, उनले हामीहरूलाई के फलाकेका थिए भने छोरीहरू अक्सर आफ्ना बाहरूलाई प्रेम गर्छन्, र छोराहरू आमालाई माया गर्छन्, किनभने ती दुवैथरी विपरीत लिङ्गका हुन् ।

एउटा शिशु जन्मनेबित्तिकै, त्यो छोरा होस् वा छोरी, आफ्ना अधरका ढकनी खोल्ने, बन्द गर्ने तथा आफ्नो मुन्टो ओर्काइफर्काई गर्ने गर्छ । के शिशुले चुम्बनका लागि विपरीत लिङ्गको व्यक्तिको खोजी गरेको हो ? अहँ, जोकोहीले पत्तो पाउने कुरा हो, त्यो नानी खाना चाहन्छ ।

छोरा हाइ-यिङसँग लू सुन

कुडा गर्‍या कुडा आउना मेरी खोडाल्नीका तर भोजनेच्छा कामेच्छाभन्दा गहन हुन्छ । आज मानिसहरू प्रेम र प्रेमपत्रको अन्तहीन गन्थनहरूमा तुच्छ महसुस गर्दैनन् भने हामीहरूलाई गाँसको विषयमा बातचित गर्ने आफ्नो हकमा निषेध गर्नुको कुनै तुक छैन । यी जागेका बेलाका सुइनाहरू भएकाले हामीहरूले एउटा झूठलाई पन्छाइहाल्न सक्तैनौं, विशेषगरी विषय ‘एउटा सुइना’ रहेको स्थितिमा र सम्पादकले बताएको अवस्थामा, ‘हाम्रा भौतिक आवश्यकताहरूले हाम्रा आध्यात्मिक लालसाहरूलाई उछिन्छन् ।’

त्यसैले ‘सेन्सर’ (फ्रायडकै कथन प्रयोग गरेर) अनुकूल जस्तो देखापरेको सुअवसरलाई सदुपयोग गरी, उनले एकादुएक रचनाहरू प्रकाशित गरे । वस्तुतः यो पनि ‘सुइनामा पर्चा चिप्काउने र नारा घन्काउने’जस्तै अवस्था हो । तैपनि यो सकारात्मक प्रचार होइन । वास्तवमा एक थोक देखिने केही नाराहरू त्यसको ठीक विपरीत हुन सक्छन् ।

समय छिटोछिटो बदलिंदो छ र नौनीरोटी पाउनु वा ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ मानिसलाई मुस्किल भएको छ, त्यसैले वर्तमान र भविष्यको बारेमा विचार गर्दा धेरै मानिस यस्तै सुइनाहरू मात्र सुनाउन सक्छन् । हामी सबै निम्न पुँजीवादी भएको नाताले (म ‘सामन्तवादको हिजोको अण्डा आजको चल्ला’ र ‘साहित्यिक पुँजीवादी’ कहलाएको छु तर म स्वयंलाई निम्न-पुँजीवादी नै सम्झन्छु) हामीहरूले एकअर्कालाई गतिलरी बुझ्नुपर्छ र एकअर्काको सामु कुनै कुरा लुकाउनु जरूरी छैन ।

कृति : सेलेक्टेड वक्र्स अफ लू सुन (तेस्रो ग्रन्थ)

प्रकाशक : फरेन ल्याङ्गुएजेज प्रेस (पेकिङ सन् १९६४)

अनुवाद गरिएको रचना : लिसनिङ टु ड्रिम्स

अनुवाद गरिएका पृष्ठ : १८५ देखि १८८

अनुवादक : सरोनर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?