+
+

‘मापदण्ड पालना भएन, सार्वजनिक पूर्वाधार जोखिममा छन्’

हलमा जाने दर्शक, विद्यालय जाने विद्यार्थी, अस्पताल जाने बिरामीलाई त्यो भवनको क्षमता कति हो, सुरक्षित छ कि छैन भन्ने थाहा हुँदैन । त्यहाँ भूकम्प वा आगलागीका कारण भाग्नुपर्‍यो भने धेरै मान्छे एकसाथ निस्किन मिल्ने संरचना पनि हुँदैन । सबै मान्छे सँगै मर्नुपर्छ ।

डा. राजन सुवाल, स्ट्रक्चरल इन्जिनियर डा. राजन सुवाल, स्ट्रक्चरल इन्जिनियर
२०७९ माघ २७ गते २०:२१

शपिङ मल, सिनेमा हल, विद्यालय, सरकारी कार्यालय, अस्पतालदेखि विमानस्थल सबै सार्वजनिक पूर्वाधार हुन् । ती भवन जुन प्रयोजनका हुन्, त्यही प्रयोजनका लागि डिजाइन भएका हुन् भने समस्या हुँदैन ।

शपिङ कम्प्लेक्स डिजाइन गर्दा लोड (भारवहन क्षमता) यति हुुनुपर्छ भन्ने सरकारी नियम र मापदण्ड छन् । त्यही मापदण्ड अनुसार डिजाइन गरेमा समस्या हुँदैन । यति जना मान्छे हुँदा यति वटा भित्र पस्ने र यति वटा बाहिर निस्कने ठाउँ हुनुपर्छ भन्ने मापदण्ड अनुसार नक्सापास गरेर त्यसै अनुसार भवन बन्नुपर्छ ।

तर, एउटा प्रयोजनका लागि डिजाइन गरेर भवन बनाइयो र अर्को प्रयोजनमा त्यसलाई लगाइएको छ भने समस्या हुन्छ । सरकारी भवनमै पहिला ठूलो लोड राख्ने प्रयोजन नभए पनि भण्डारण कक्ष बनाइदिने र सभा हलहरू बनाएर भीडभाड गराइदिने भयो भने त्यो भवन सुरक्षित हुँदैन ।

पहिला हल नै राख्ने परिकल्पनासम्म नभएका भागमा पर्खाल फुटाएर हलहरू राख्ने प्रचलन पनि छ । तर, त्यो लोड धान्न नसकेर भवनहरू ‘फेल’ हुन सक्छन् । अझ भूकम्प जस्ता विपद् आइपरे त समस्या अझै बढी पर्न सक्छ ।

अहिले जति पनि भाडामा घर लिएर विद्यालय चलाइएको छ, त्यसमा जोखिम धेरै छ । किनभने ती विद्यालय प्रयोजनका लागि बनेका भवन नै होइनन् । मान्छे बस्नका लागि बनाइएको भवनमा प्रत्येक कोठामा २०-४० जना विद्यार्थी हुन्छन् । घर बनाउँदा त एउटा कोठामा ४-५ जनाको हिसाब गरेर बनाएको हुन्छ, त्यत्रो बढी विद्यार्थी ती घरमा बसाउँदा त्यहाँ धेरै जोखिम हुन्छ । त्यसैले भाडामा भवन लिएर चलाइएका विद्यालय भूकम्पीय दृष्टिकोणबाट जोखिमपूर्ण देखिन्छन् ।

अर्को समस्या हस्पिटलहरूमा पनि छ । आवासीय प्रयोजनकै घरमा तोडमोड गरेर अस्पताल चलाइँदैछ । त्यो पनि अस्पताल प्रयोजनमा बनेको नै थिएन । विद्यालय र अस्पताल भवनहरूको डिजाइन गर्दा त्यहाँ मानवीय चाप हेरिएको हुन्छ । तर, आवासीय प्रयोजनका घर बनाउँदा घरमा धेरै मान्छे जम्मा हुने र उनीहरूको सुरक्षा गर्नुपर्ने पक्ष सोचिएको हुँदैन ।

अहिले कतिपय भवनहरूमा भाडमा लिनेले ‘जिम हल’ राखिदिन्छ । जिम हलमा वजनदार टन्न सामान र र्‍याक राखिन्छ । तर, भवन बनाउँदा त त्यो लोड राखेर डिजाइन भएको हुँदैन । आवासीय भवनमा बैंक, भाषा तथा कोचिङ सेन्टरलगायत धेरै भीडभाड हुने कार्यालय पनि राखिन्छ । कतिपय सरकारी भवनमा हचुवामा तला थप्ने र ट्रसहरू राखेर कार्यालय राख्ने पनि गरिन्छ । त्यो प्रवृत्ति पनि जोखिमपूर्ण देखिन्छ ।

सबैभन्दा डरलाग्दो के छ भने अहिले काठमाडौं महानगरसहित कतिपय नगरपालिकाले पहिलाको भवनमा तला थप्न स्वीकृति दिए । जस्तै पहिला ५ तलाको लागि डिजाइन गरेको भवन अहिले ‘फार’को नियम परिवर्तन गरिएकाले ८ तलासम्म थप्न पाउने भयो ।

यसरी ३ तला थपियो, तर पहिलो बनाउँदा ५ तलासम्म थेग्ने गरी डिजाइन र निर्माण भएको कुरा बिर्सिइन्छ । त्यसले अवस्था संवेदनशील हुन्छ । भुइँचालो नआउँदासम्म त धानिन्छ, तर विपद्मा त्यो अहिले टर्कीका भवन भत्किंदा देखिएको जस्तै ध्वस्त हुने गरी भत्किन सक्छ । भूकम्पमा लोड धान्न नसकेपछि त्यस्ता भवन कोल्याप्स हुन्छन् । यस्तो हुँदा मान्छेले भाग्ने अवसर पनि नपाएर भित्रै मर्नुपर्छ ।

मैदानमा हुने मेला महोत्सव, खेलकुद प्रतियोगितादेखि सांगीतिक कार्यक्रममा व्यक्तिहरू भाग्न चाहे तुरुन्तै सजिलै निस्किन मिल्ने गरी गेट बनाउने र खुला राख्ने गर्नुपर्छ । त्यस्ता गेट कार्यक्रमका बखत ताल्चा लगाएर राख्नुभएन । समस्या परेपछि गेट खोल्न सम्भव हुँदैन

व्यावसायिक भवनमा पनि डिजाइनका बेला नभएको सिनेमा हलहरू थपिंदैछ । पहिले कतिपय होटलमा डिजाइनमा पहिला स्वीमिङ पुल थिएन, अहिले थपिएको छ । यसैले यस्तो संरचना जोखिमपूर्ण हो । त्यसैले नगरपालिका र भवन विभागले जुन प्रयोजनका लागि भनाइएको हो, त्यही प्रयोजनमा मात्रै भवनहरू प्रयोग गर्न पाउने नियम बनाउनुपर्छ ।

नियम छ भने कडा रूपमा कार्यान्वयन हुनुपर्‍यो । पुरानो भवनमा कुनै पनि परिवर्तन गर्दा त्यसको ‘सेस्मिक इभ्यालुएसन’ -भारवहान क्षमताको मूल्यांकन) गर्नैपर्ने नियम बनाउनुपर्छ । जति पनि भवन बनेका छन्, तिनको नक्सा पासको अनुमति दिएर मात्रै भएन, स्ट्रक्चरल इन्जिनियरहरूले पिलर र बिमहरू बलियो बनाएर कति तलासम्म थप्न सकिन्छ भनेर हेर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।

हलमा जाने दर्शक, विद्यालय जाने विद्यार्थी, अस्पताल जाने बिरामीलाई त त्यो भवनको क्षमता कति हो, सुरक्षित छ कि छैन भन्ने थाहा हुँदैन । तर, त्यहाँ भूकम्प आयो वा आगलागी भयो र भाग्नुपर्‍यो भने धेरै मान्छे एकसाथ निस्किन मिल्ने संरचना समेत हुँदैन । भवन नै लड्यो भने सबै मान्छे सँगै मर्नुपर्छ ।

टर्कीको भूकम्पले पनि देखायो, २०७२ को भूकम्पमा भत्किएका भवनले दिएको सन्देशलाई हामीले ग्रहण गर्नुपर्छ । यसबारे आम जनमानसलाई पनि सजग बनाउन सकियो भने यस्ता जोखिमबाट बच्न सकिन्छ ।

हामीसँग सार्वजनिक पूर्वाधारको सुरक्षाका मापदण्डहरू कम छैनन्, तर पालना भएनन् । डिजाइनका आफ्ना मापदण्डहरू छन् । त्यसलाई पालना गर्नैपर्‍यो । नक्सापास गर्ने निकायले पनि दायाँ-बायाँ गरेर स्वीकृति दिनुभएन । निर्माण गर्ने बेलामा इन्जिनियर र निर्माण व्यवसायीले बदमासी गर्नुभएन । निर्माण सामग्रीको गुणस्तर पनि तल-माथि गर्नुभएन ।

यदि यस्ता कुरामा सम्झौता गरियो भने समस्या हुन्छ । मापदण्ड अनुसार नक्सा नबनाउने, जति लोडमा डिजाइन हुनुपर्ने हो, त्यो नै नगर्ने वा तला थपे वा नमिले पनि नक्सापास गरिदिनेसहित निर्माणको क्रममा अनुगमन नहुने जस्ता समस्या छन् । सम्बन्धित व्यक्तिले उत्तरदायित्व नै नबोक्ने समस्याले यस्तो अवस्था आएको हो ।

२०७२ अघि त धेरैलाई भूकम्प आउँछ भन्ने नै लाग्दैनथ्यो । इन्जिनियरिङको महत्व मान्छेले बुझेका पनि थिएनन् । भुइँचालोपछि भवन लड्न सक्छ, मान्छे मर्न सक्छ भनेर बलियो पूर्वाधार बनाउनुपर्छ भन्ने जागरण आयो । अहिले फेरि मान्छेले विस्तारै बिर्सिन थाले ।

सार्वजनिक पूर्वाधारमा विपद्का बेला हुनसक्ने भागदौड वा सुरक्षित स्थानसम्म पुग्ने पक्षलाई ध्यानमा राखेर संरचनाहरू बनाएको पाइँदैन । मानौं आगलागी भयो भने भाग्नका लागि पर्याप्त ठाउँ, भर्‍याङ र भवन बाहिरबाट आकस्मिक अवस्थामा प्रयोग गर्न मिल्ने भर्‍याङहरू चाहियो, जताबाट भाग्दा पनि उत्तिकै दूरी र समयमा सुरक्षित स्थानसम्म पुग्ने ग्यारेन्टी हुनुपर्‍यो ।

यो कतिपय भवनमा कार्यान्वयन भएको छ, कतिपयमा छैन । एउटा मात्रै भर्‍याङ राखेर बनेका भवनमा भर्‍याङमै आगो लाग्यो भने मान्छे कहाँ भाग्ने त ? आगो लाग्दा लिफ्ट त चल्दैन । यस्तो कारण मान्छेले कि झ्यालबाट हामफाल्नु पर्‍यो कि भवनभित्रै ज्यान गुमाउनुपर्‍यो ।

भाग्ने ठाउँ भएन र भर्‍याङ सानो भयो भने सबै एकसाथ निस्किंदा अत्ताल्लिएर भागदौड भएर, च्यापिएर, कुल्चिएर त्यहीं पनि मान्छे मर्न र घाइते हुने सम्भावना हुन्छ । समस्या भवनमा मात्रै हुँदैन, मैदान र रंगशालामा पनि जोखिम हुन्छ । मैदानमा त झै-झगडा नै भयो र भाग्ने मिल्ने गरी पर्याप्त गेटहरू खुला राखिएन भने समस्या हुनसक्छ ।

त्यसैले मैदानमा हुने मेला महोत्सव, खेलकुद प्रतियोगितादेखि सांगीतिक कार्यक्रममा व्यक्तिहरू भाग्न चाहे तुरुन्तै सजिलै निस्किन मिल्ने गरी गेट बनाउने र खुला राख्ने गर्नुपर्छ । त्यस्ता गेट कार्यक्रमका बखत ताल्चा लगाएर राख्नुभएन । समस्या परेपछि गेट खोल्न सम्भव हुँदैन ।

यसको अर्थ के हो भने सरकारले बनाएका मापदण्डहरू महत्वपूर्ण छन् । त्यसलाई पालना गराउन सक्दा नै सबैको हित हुन्छ । भुइँचालो प्रतिरोधी भवन बनाउने, भवनको प्रयोगको आधारमा डिजाइन गर्ने, आकस्मिक अवस्थामा भाग्नुपर्नेहरूलाई सुरक्षित ठाउँसम्म पुर्‍याउने संरचना राख्ने, निर्माणको गुणस्तर कायम गर्ने र त्यसलाई प्रयोजन विपरीत प्रयोग गर्न नदिने जे-जति नियम छन्, त्यसको हुबहु पालना गराउने हो भने यो जोखिम स्वतः कम हुन्छ ।

(पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह-प्राध्यापक तथा एमएससी स्ट्रक्चरल इन्जिनियरिङका संयोजक रहेका सुवालसँग अनलाइनखबरका रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?