+
+

‘अनेरास्ववियुमा खिया सफा गरेर नटबोल्ट कस्छौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते २१:३५

१ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन मंगलबार काठमाडौंमा सुरु हुँदैछ ।

सात वर्षपछि हुन लागेको यो महाधिवेशनबाट अनेरास्ववियुले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाएर नेतृत्व चयन गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनबारे केन्द्रित रहेर अनेरास्ववियुका महासचिव समिक बडालसँग गरिएको कुराकानीको सम्पादित अंशः

स्ववियु चुनाव नजिकिएका बेला संगठनको महाधिवेशन गरेर के सन्देश दिदै हुनुहुन्छ ?

अनेरास्ववियु एमाले पार्टीको कार्यकर्ता उत्पादन गर्ने नर्सरी हो । सँगसँगै सिर्जनशील र उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने कारखाना पनि हो । सात वर्षदेखि महाधिवेशन हुन नसक्दा नेतृत्वमा पुग्न चाहनेहरु तल्ला कमिटीमै जाममा परेका छन् ।

जबकी अनेरास्ववियुले दुई–दुई वर्षमा महाधिवेशन गर्थ्यो, मातहत कमिटीको अधिवेशन एक–एक वर्षमा गरेर नेतृत्व निर्माणमा नर्सरीको काम गथ्र्यो । तर, वामपन्थी एकतासँगै अनेरास्ववियुभित्र पनि एकता सुरु भयो, पार्टीको बिग्रहले अनेरास्ववियुमा पनि प्रभाव पर्‍यो ।

एकता र बिग्रहकै कारणले नेतृत्व लगातार तदर्थ कमिटीबाट चल्न थाल्यो । त्यसले मातहत कमिटीका संगठन कामयावी हुन सकेनन् । तर हामीले यसपटक स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने क्याम्पसहरुबाटै प्रतिनिधि चयन गरेका छौं ।

प्रतिनिधि चयनअघि ती कमिटीको भेला तथा सम्मेलनहरु माघ १५ भित्रै सकेका छौं । अहिले हाम्रा कमिटीहरु लाग्ने कर्दजस्तो भएको छ । त्यही कमिटीको स्ट्रेन्थको आधारमा राष्ट्रिय महाधिवेशनले चुस्त नेतृत्व चयन गर्नेछ । संगठनमा हुने चुस्तता र गतिशीलताकै जगमा स्ववियु चुनावमा सहभागी हुनेछौं ।

अहिले त अनेरास्ववियुको केन्द्रीय कमिटी साढे पाँच सय जनाको छ । आर्थिक हिसाबले बैठक राख्नै मुश्किल छ । त्यसलाई घटाएर १९९ मा झार्ने निर्णय विधान महाधिवेशनले गरेको छ । किनकि भद्दा कमिटीले अनेरास्ववियुको स्ट्रेन्थ बोक्न सक्दैन । पदाधिकारीको संख्या पनि घटाएका छौं ।

यो महाधिवेशनले गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट पारित राजनीतिक एजेण्डा, सांगठानिक प्रस्ताव, जनजीविका र राष्ट्रियताको एजेण्डालाई बोक्न सक्ने नेतृत्व चयन गर्नेछ ।

नेतृत्व चयन भनेपछि पक्कै सबै सन्तुष्ट हुन सम्भव नहोला, त्यसले स्ववियु चुनावमा कस्तो प्रभाव पार्ला ?

संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने क्रममा आफू भन्दा योग्य साथीहरु नेतृत्वमा आउँदा त्याग गर्ने संस्कृति अनेरास्ववियुमा छ । अनेरास्ववियु अनुशासित नेता तथा कार्यकर्ताको संगठन हो । अरु संगठनमा देखिएजस्तो समस्याको चिन्ता लिनुपर्ने अवस्था हाम्रोमा हुँदैन ।

हामी अधिकतम सहमतिका साथ यो महाधिवेशनलाई निष्कर्षमा पुर्‍याउँछौं । यदि अधिकतम सहमति भएन भने विधान महाधिवेशनबाट पारित संरचनामा मित्रवत प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने साथीहरुलाई जिम्मेवारी दिएर जान्छौं ।

महाधिवेशनपछि सबै साथीहरु हाँसी खुशीका साथ आ–आफ्नो कार्यक्षेत्रमा फर्कने बातावरण बनाउँछौं । हामीले अनेरास्ववियुलाई व्यवस्थित बनाउने खाका ल्याएका छौं ।

चुनावमा जित्ने र हार्ने अवस्था बन्दा त कसरी हाँसीखुशीको वातावरण बन्ला र ?

अनेरास्ववियुका नेता तथा कार्यकर्ता स्थायी संगठनका अस्थायी कार्यकर्ता हुन् । सधैंभरि एउटै व्यक्तिलाई एउटै पद मिलिरहन सक्दैन । पद अस्थायी कुरा हो भन्नेमा सबै नेताहरु सचेत हुनुहुन्छ । सँगै, सबै व्यक्तिलाई एउटै पद प्राप्त हुँदैन भन्ने पनि जानकारी छ ।

पदहरु अस्थायी र संगठनको स्ट्रेन्थ प्रमुख कुरा हो । यो महाधिवेशनले संगठनको स्ट्रेन्थ बढाउनेछ । अनेरास्ववियु स्ववियु चुनावमा आजसम्म दोस्रो भएको संगठन होइन । सदैव पहिलो भएको छ ।

आज स्ववियु कोमामा पुगेको छ, कोमामा पुगेको स्ववियुको चुनाव त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेलाई तोकेको छ । त्यो चुनावलाई सहयोग पुग्नेगरी तल्लो कमिटीका विद्यार्थी नेताहरुलाई हामीले आमन्त्रित गरेका छौं । त्यो चुनावमा प्रतिस्पर्धा गर्न सक्ने साथीहरुलाई नै अनेरास्ववियुको मूल प्रवाहमा समाहित गरेर जान्छौं ।

किनकि स्ववियु चुनाव लड्न २८ वर्षे उमेर हदको व्यवस्था छ । तर अनेरास्ववियुमा त्यो उमेर समूह भन्दा माथिका नेताहरुको संख्या धेरै छ । यो महाधिवेशनबाट हामीले स्ववियु चुनावमा प्रतिस्पर्धा गर्न योग्य साथीहरु नेतृत्वमा ल्याउनुपर्नेछ ।

त्यसो गर्दा अनेरास्ववियुको राजनीतिबाट अलग हुने नेताहरु पार्टी राजनीतिमा हुन्छौं । त्यहीँबाट पूर्व विद्यार्थी नेताको नाताले पनि स्ववियु चुनावको सहयोग पुग्नेछ ।

नेतृत्व चयनको मोडालिटी चाहिँ भए सहमति नभए निर्वाचन हो ?

स्वभाविक रुपमा त्यस्तो व्यवस्था विधानदे नै गरेको छ । विधान महाधिवेशबाट पारित विधानकै आधारमा नेतृत्व चयन हुने हो ।

एमाले जस्तो संक्रमणबाट गुज्रिरहेको छ । त्यस आधारमा भन्ने हो भने अनेरास्ववियुको नेतृत्व चयन प्रक्रिया महाधिवेशनकै निर्णयबाट होला ?

अस्वस्थ खालका गतिविधिहरु महाधिवेशनमा हुन दिँदैनौं, आचारसंहिताले बाध्ने छौं । स्वस्थ, मर्यादित र शालीन ढंगको उपस्थिति हुनेछ । अराजकता र उदण्डता देखाउन यो महाधिवेशनले छुट दिने छैन । यो स्वच्छताभित्रको प्रतिस्पर्धालाई अनेरास्ववियुले कहिले पनि निस्तेज गर्ने छैन । यी विषयका सन्दर्भमा पार्टीले पनि गाइड गरेको छ ।

अनेरास्ववियु योग्य विद्यार्थीहरुको संगठन हुनुपर्‍यो । कलेजका टपर विद्यार्थीहरुको संगठन हुनुपर्‍यो । खासगरी सामाजिक सेवामा जोडिएका युवाहरुको अगुवाई गर्ने संगठन अनेरास्ववियु बन्नुपर्‍यो । अनेरास्ववियु प्रविधिमैत्री बन्नुपर्‍यो भनेर चासो, चिन्ता पार्टीले गर्नु स्वभाविक हो । त्यसलाई अस्वभाविक लिन हुँदैन ।

राजनीतिक पार्टीको हिसाबले पार्टीबाट गाइडेड छौं । यो कुरालाई हामीले अस्वभाविक रुपमा लिन हुन्न । हाम्रा बीचमा रहेका असमझदारीमा समझदारी जुटाउने कुरामा, नेतृत्वले पहलकदमी गर्ने कुरालाई अन्यथा ढंगले हस्तक्षेप गर्‍यो, भनेर जबरजस्ती ब्याख्या गर्नु कमजोरी हुन जान्छ ।

हामी अधिकतम सहमतिको प्रयास गर्नेछौं । सहमति भएन भने प्रतिस्पर्धा मार्फत् योग्य नेता चयन गर्न बाटो खुला गरेका छौं ।

गत आम चुनावको सन्देश पनि पुराना दल र संगठनहरुमा पुराना मान्छे धेरै भयो, अब नयाँ निर्णय लिनुपर्छ भन्ने देखियो । यसलाई महाधिवेशनबाट कसरी सम्बोधन गर्नु हुन्छ ?

विगत १५ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेन । पञ्चायतकालमा पनि स्ववियु निर्वाचन हुन्थ्यो । दरबारले प्रजातन्त्र लिँदा पनि स्वतन्त्र विद्यार्थीको निर्वाचन हुन्थ्यो ।

बिडम्बना ! संघीय लोकतान्त्रिक गणतन्त्रमा विभिन्न बाहना बनाएर स्ववियु चुनाव टारिने विषय बनेको छ । यसकारण युवा आन्दोलनभित्र निराशा पैदा भएको हो ।

यो विषयमा दलहरु गम्भीर हुन जरुरी छ । अनेरास्ववियु सचेत छ, नयाँ पुस्तालाई जगाउने कुरामा अनेरास्ववियु लाग्छ । ७ वर्षदेखि अधिवेशन हुन नसक्दा केही खियाहरु लागेका छन् । ती सबै खिया सफा गरेर नटबोल्ट कसेर अनेरास्ववियुलाई अरबी घोडाको शैलीका कुदाउने गरी अगाडि बढ्छौं ।

अन्त्यमा, यो महाधिवेशन पश्चात कस्तो अनेरास्ववियु बन्छ ?

अनेरास्ववियु सामाजिक सचेतनायुक्त सामाजिक संगठन हो । हामी राजनीतिक अधिकार प्राप्तिको एउटा निष्कर्ष पुर्‍यायौं । अब हाम्रो एजेण्डा सामुदायिक हो । सिर्जनात्मक सामाजिक सुधारका अभियान मार्फत् गति दिनेगरी अनेरास्ववियुलाई त्यो बाटोमा लैजान्छौं । हिजो हाम्रो बाटो एकातिर थियो, आज आन्दोलनको बाटो परिवर्नत गर्नुपर्ने बेला आएको छ ।

आम विद्यार्थीको मुद्दा बोल्न सक्ने र राष्ट्रवादी आन्दोलनको अगुवाई गर्न सक्ने अनेरास्ववियुको रुपमा आगामी दिनमा अगाडि बढ्छौं । ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा अनुरुपको जनशक्ति उत्पादन गर्ने एउटा सशक्त संगठन बनाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?