३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।
‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए ।
राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि पौडेल बोलेका छन् । उनी भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुदूरपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौं ।’
पहिला ७ दल रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ४ पार्टीका नेता मात्रै देखिन थालेको भन्दै पौडेलले ब्यङ्ग्य गरे । ‘उच्चस्तरीय संयन्त्रको बैठकमा पहिले ७/८ जना देखिन्थे । अहिले ४ जना देखिनिुहुन्छ । बाँकी कता जानुभयो ?’
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बालकोट र बालुवाटारमा भेटका लागि दौड चलिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएकोबारे प्रश्न गरे । । पौडेलले सोधे, ‘जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ! रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?’
गत माघ २२ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले बुढो बाघले आफ्नो आहारका लागि जुक्ति लगाउन बाला देखाएर महिलालाई बोलाएको कथा सुनाएका थिए । कांग्रेसले बुढो बाघले झैँ बाला देखाएर माओवादी केन्द्र लगायतका दलहरुलाई वर्तमान सत्ता गठबन्धनबाट निकाल्न खोजेको ओलीको आशय थियो ।
नेता पौडेलले संसद विघटन सही थियो भन्ने एमाले अध्यक्ष ओलीको भनाइको पनि खण्डन गरे । ‘संसद विघटनको महिमा गान गाएको पनि सुन्यौं । वास्तवमा संसद विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्न खोजिएको छ’ नेता पौडेलले थपे, ‘चुनौती दिन चाहन्छु – कायरता दोहोरिन दिइने छैन ।’
एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतलाई आफ्नो पार्टीको कानुन विभागलाई जसरी ललकार्ने प्रयास गरेको भन्दै पौडेलले आलोचना गरे । ‘संसद विघटनको भोक र सनक नमेटिएको पाइयो । यो संसद पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । त्यसकारण हामी यो विषयमा गम्भीर संसदमा उभिन जरुरी छ’ उनले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4