+
+
स्थलगत : लघुवित्तको दलदल २ :

लघुवित्तबाट बच्न दिनभर जंगलमा लुक्छन् महिलाहरु

जितपुर सिमरा उपमहानगरपालिकाको नगौल गाउँका महिलाको दिनचर्या फेरिएको छ । खेतीबारी, अर्मपर्ममा जुट्नुपर्ने महिलाहरू अचेल घरबार जोगाउन बिहानै जंगल पस्छन् र झमक्क साँझ परेपछि मात्र घर फर्किन्छन् ।

सागर चन्द सागर चन्द
२०७९ फागुन ७ गते १९:३५

७ फागुन, बारा । जितपुर सिमरा उपमहानगरपालिकाको नगौल गाउँका महिलाको दिनचर्या फेरिएको छ । खेतीबारी, अर्मपर्ममा जुट्नुपर्ने महिलाहरू अचेल घरबार जोगाउन बिहानै जंगल पस्छन् र झमक्क साँझ परेपछि मात्र घर फर्किन्छन् ।

नगौलका महिलाहरू घाँसदाउरा गर्न होइन, गरिबी निवारण गर्न गाउँ छिरेका लघुवित्तबाट जोगिन जंगल छिर्ने गरेका हुन् । ‘सरहरू (लघुवित्तका कर्मचारी) घर–घरमा आउनुहुन्छ । राति ८ बजेसम्म ढुकेर बस्नुहुन्छ’, ४३ वर्षीया पुनमदेवी दनुवार सुनाउँछिन्, ‘त्यसैले उहाँहरू आउनुभन्दा पहिल्यै घरबाट निस्केर लुक्न जंगल जान्छौं ।’

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको जय माँ सन्तोषी महिला समूहकी अध्यक्ष समेत रहेकी पुनमले भैंसी पाल्न भनेर चार वर्ष अगाडि ८० हजार रुपैयाँ ऋण लिएकी थिइन् । भैंसी विजय लघुवित्तले उहिल्यै खोसिसक्यो भने उनलाई ऋणी बनाउने लघुवित्तको संख्या आधा दर्जन नाघ्यो । उनी मात्र होइन, नगौल गाउँका १०० भन्दा बढी महिला लघुवित्तले दिने ऋणको दलदलमा छन् ।

पुनमदेवी दनुवार

वीरगञ्ज–सिमरा राजमार्गबाट करिब दुई किलोमिटर पश्चिम लागेपछि पुगिने नगौलमा १० वर्ष अगाडि छिमेक लघुवित्त वित्तीय संस्था छिरेको थियो । छिमेकलाई पछ्याउँदै मिर्मिरे, स्वावलम्बन, फरवार्ड, स्वदेशी, मेरो, समता, विजय, नयाँ सारथि, नेरुडे, नेशनललगायत दर्जन लघुवित्त नगौलमा छिरे ।

आम मानिसलाई वित्तीय पहुँचसम्म पुर्‍याउने भन्दै गाउँ छिरेका लघुवित्तबाट कसैले व्यवसाय गर्छु भनेर ऋण लिए त कसैले पशुपालन गर्छु भनेर, कसैले घरको गर्जो टार्न । बीमा, सेवा शुल्क र बचतका नाममा ऋणबाट २० प्रतिशत आफैं राखेर बाँकी पैसा लघुवित्तले महिलाका हातमा थमाउन थाले ।

ऐलानी जग्गामा छाप्रो बनाएर बसेका नगौलका महिलाहरूको नियमित आम्दानी छैन, त्यसैले समयमा किस्ता तिर्न सकेनन् । एउटा लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिए । ‘ऋण तिराइ खातिर सबै लघुवित्तबाट ऋण लियौं’ पल्मुनादेवी दनुवार ऋणको चक्र बयान गर्छिन्, ‘फेरि त्यही लघुवित्तको ऋण तिर्न करेन्ट (मिटर ब्याज) ऋण लियौं ।’

नगौलका महिलाहरू लेखपढ गर्न जान्दैनन् । कुन लघुवित्तमा आफ्नो कति ऋण छ र कति ब्याज तिरें भनेर देखाउन सक्ने अवस्था छैन । ‘कागजात उनीहरूसँगै हुन्छ । हामीलाई केही देखाउँदैनन्’ एक दर्जन जति लघुवित्तकी ऋणी कलावती चौधरीलाई आफूले ऋण लिएका संस्थाहरूको नाम समेत थाहा छैन ।

कलावती जस्तै नगौल गाउँका धेरै महिलालाई आफूले ऋण लिएको लघुवित्तको नाम थाहा छैन । कतिसम्म भने, उनीहरूसँग लघुवित्तको पासबुक समेत छैन । ‘कागज के कसरी गर्छ, ऋण त घट्दै घट्दैन । ब्याज चढाइदिन्छु भनेर पैसा लग्छन्’ पुनमदेवी भन्छिन्, ‘पैसा लगेर कहाँ चढाउँछन् थाहा पाउँदैनौं ।’

कलावती चौधरी ।

तर ऋणको मिटर बढेको बढ्यै छ । हरेक दिनजसो एकपछि अर्को लघुवित्तको कर्मचारी पैसा उठाउन आउन थालेपछि महिलाहरू भाग्दै र लुक्दै हिंड्न थालेका छन् ।

‘एक संस्थाको ऋण चुकाउन अर्कोबाट ऋण लियौं । त्यसको चुकाउन अर्को’, ऋण चुक्ता गर्ने यो चक्रले उठिबास लाग्न लागेको गुनासो गर्छिन् ३५ वर्षीया शान्तिदेवी माझी ।

उनको परिवारमा ६ जना छन् । कमाउने उनका श्रीमान् मात्र हुन् । उनले छोराको उपचारका लागि छिमेक लघुवित्तबाट ६५ हजार ऋण लिएकी थिइन् । श्रीमानको कमाइले ब्याज समेत तिर्न नसकेपछि उनले विजय लघुवित्तबाट ऋण लिइन् ।

विजयको ऋण तिर्न उनले नेशनल लघुवित्त गुहारिन् । ऋण तिर्न ऋण लिएकी उनलाई आफू कति लघुवित्तको ऋणी छु भन्ने समेत थाहा छैन ।

‘जति तिरे पनि सकिंदैन ऋण’ ऋण तिर्नकै लागि भनेर खसी–बाख्रा, गहगहना सबै बेचिसकेकी रानी सिंहले सावाँ त परै जाओस्, ब्याज समेत तिर्न सकेकी छैनन् ।

बैंक, लघुवित्त, सहकारी गरी १६ वटा वित्तीय संस्था र गाउँका साहुबाट गरेर उनको नाममा आधा करोडभन्दा बढी ऋण छ । आम्दानीको अवस्था कस्तो छ भने ऋण लिएर किनेको अटो बिग्रिएर थन्केको छ । अटो चलाउन नमिल्ने भएपछि उनका श्रीमान् निर्माण मजदूरी गर्न जान्छन् ।

घरमा भएको बाख्रा, गरगहना सबै बिक्री गर्दा पनि ऋणमुक्त नभएकी उनले ९ कक्षा पढ्दै गरेको १४ वर्षे छोरालाई स्कुलबाट निकालेर इँटाभट्टामा काम गर्न पठाएकी छिन् ।

‘जेठो छोराको नागरिकता बनाएर विदेश पठाउन खोजेको छु, तर लघुवित्तका सरहरूले कालोसूचीमा राखिदिन्छु, तेरो छोरो विदेश पनि जान पाउँदैन । नागरिकता पनि पाउँदैन भनेर धम्की दिनुहुन्छ’, रानी निरीह सुनिन्छिन् ।

सुरुमा छिमेक लघुवित्तबाट ऋण लिएकी उनले त्यहाँको रकम तिर्न अर्को संस्थाबाट ऋण लिइन् । लघुवित्तबाट लिएको ऋण तिर्नलाई गाउँका साहुबाट ३ लाख ऋण लिएकी थिइन्, जसका लागि ७ लाखको तमसुक गर्न बाध्य भइन् ।

नगौलका महिलाहरूका अनुसार लघुवित्तका कर्मचारीहरू हरेक महिनाको ७ देखि २८ गतेसम्म ऋण र ब्याज उठाउन घरघर आउने गरेका छन् । उनीहरूले ऋणीलाई नभेटे परिवारका सदस्यहरूलाई समेत धम्क्याउने गरेका छन् ।

त्रास बनेर दैलोमा आइपुग्ने लघुवित्तका कर्मचारीले ‘हत्कडी लगाउँछु, जेल हाल्छु’ भन्दै धम्क्याउँछन् । ‘बाप, दादा, माई सबको गाली गर्छन् । हाम्रो नाममा कालो चिट्ठा (कालोसूची) निकाल्छौं, नागरिकता खोस्छौं भन्छन्’ कालीदेवी चौधरी सुनाउँछिन्, ‘डर लाग्छ, अनि जंगलमा लुक्न जान्छौं ।’

उनले पाँच वर्षअघि बाख्रा पाल्न भनेर विजय लघुवित्तबाट ५ हजार ऋण लिएकी थिइन् । त्यही ऋणको ब्याज तिर्न उनले छरछिमेककै जसरी अरू लघुवित्तबाट ऋण निकालेकी छन् । भन्छिन्, ‘त्यो अहिले ७५ हजार पुग्यो भन्छन् ।’

नगौल गाउँका महिलाका अनुसार उनीहरू कतिसम्म डराएका छन् भने गाउँमा कोही नयाँ मान्छे देख्यो कि लुक्छन् । ‘झोला बोकेको नयाँ मान्छे देख्यो भने डर लाग्छ । नयाँ मान्छे देखेपछि हामी त लुक्न जान्छौं’ हामीसँग कुरा गरिरहँदा पनि कलावती देवी पल्याकपुलुक यताउता हेरिरहन्छिन् ।

छिमेक लघुवित्त मार्फत ५० हजार रुपैयाँबाट सुरु भएको ऋण अरुमा विस्तार भएर १ लाख ७० हजार पुगिसक्यो । यही ऋणका कारण लुक्दै हिंड्नुपर्ने अवस्थामा पुगेकी उनलाई कति दिन यसरी चल्छ भन्ने थाहा छैन ।

यस्तै अवस्था छ जितपुर सिमरा उपमहानगर–२ सिर्जना टोलका महिलाहरूको पनि । ‘मरौं कि बाँचौं भएपछि दुई महिना पहिला हामी एक हप्ता गायब भयौं’, सावित्री शर्माले सुनाइन् । उनीसहित निमा केसी, पदमकुमारी हमाल, सावित्री शर्मा, गोमा अधिकारी, कमला पौडेल र राधिका तामाङ परिवारलाई समेत सम्पर्क नगरी एक हप्ता लुकेर बसेका थिए । ‘घरपरिवारले चिन्ता मानेर खोजबिन गर्न थालेपछि फर्कियौं’, हमालले भनिन् ।

एउटा लघुवित्तको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएपछि आफूहरू ऋणमा डुबेको उनीहरू बताउँछन् । ‘लघुवित्तको ऋण तिर्न भनेर मिटर ब्याजको समेत ऋण लिएँ’ दुई वर्ष अगाडिसम्म होटल व्यवसाय गर्ने सावित्री भन्छिन्, ‘लकडाउनले होटल डुबेपछि कतैको ऋण तिर्न सकिएन ।’

लघुवित्तका कर्मचारी आइरहन्छन्, ऋणी घरमा नभेटिंदा परिवारका अरू सदस्यलाई समेत धम्की दिन्छन् । ‘हामी भेटिएन भने घरमा जो छ, उसैलाई धम्की दिन्छन् । गाली गर्छन्’ एक दर्जन लघुवित्तबाट ऋण लिएकी सिर्जना टोलकी पदमकुमारी हमाल निरीह सुनिन्छिन्, ‘विदेशमा भएको छोरालाई समेत तँलाई विदेशबाट पक्राउ गरेर ल्याउँछौं भन्दै म्यासेज पठाउँछन् ।’

लघुवित्तका कर्मचारी आउने त्रासमा घर छाडेर हिंड्नुको विकल्प नभएको उनीहरू सुनाउँछन् । ‘चार वर्ष अगाडि डेढ लाख लिएको अहिले पाँच लाख पुग्यो’ सिर्जना टोलकी कमला पौडेलले सुनाइन्, ‘घरमा बसेपछि लघुवित्तका मान्छे आउँछन् । अनि हामी त भागेर दिनभरि जंगलमा लुक्छौं ।’

लुक्दै भाग्दै हिंड्दा घर–व्यवहार लथालिंग भइसक्यो । मानसिक यातना उत्तिकै छ । पैसा छैन, भरे–भोलि दिन्छौं भन्दा पनि लघुवित्तका कर्मचारीहरू ५०/१०० रुपैयाँ पनि माग्छन् । त्यति पनि छैन भन्यो भने घरमा जे छ त्यही दे भन्छन् ।

नगौलकी जानकी देवीको घरबाट लघुवित्तका कर्मचारीले फ्रिज नै उठाएर लगे । उनले व्यवसाय गर्न भनेर छिमेक लघुवित्तबाट १० हजार ऋण लिएकी थिइन् । छोरा र सासू बिरामी भएपछि उपचारका लागि भन्दै अरू लघुवित्तबाट समेत ऋण लिइन् ।

अहिले त उनले ऋण कति छ भनेर गन्न समेत छाडिसकिन् । ‘जति भए पनि तिर्न सक्ने होइन’ जानकी देवी भन्छिन्, ‘तिर्न नसक्ने ऋण गनेर के गर्नु ?’

लघुवित्तको ऋणकै कारण तनावमा गएका महिलाहरू असहाय भएका छन् । हजारमा लिएको ऋण लाखमा पुगेको छ । लाखमा लिएको ऋण लाखौंमा पुगेको छ । श्रीमान्, छोराछोरीले ज्याला–मजदुरी गरेर आर्जेको पैसाले दुईछाक टार्न समेत मुश्किलले पुग्छ । ‘लघुवित्तका सर (कर्मचारी) ऋण तिर्न सकेन भने जा गएर मर् भन्छन् । तँ मरेपछि ऋण मिनाह हुन्छ भन्छन्’ छोराछोरी र श्रीमानतिर हेर्दै जानकी देवी भन्छिन् ।

छोरीको विवाहका लागि पाँच लाख ऋण लिएकी रितादेवीको घरमा त लघुवित्तका कर्मचारीले एकपटक ताल्चा नै लगाइसके । कर्मचारीको खुट्टा ढोगेर ताल्चा खोल्न लगाएकी रितादेवी थाप्लोमा हात राखेर सुस्केरा काढ्छिन् ।

‘मिटरब्याजी साहू, लघुवित्तका कर्मचारी सबैले आएर गाली मात्र गर्छन् । कहाँ जाउँ, के गरौं, कसो गरौं भन्ने हुन्छ । खान मन लाग्दैन, राति निद्रा पर्दैन । मर्न मात्र मन लाग्छ’, तनाव सहन नसकेपछि उनी सडकमा थचक्क बस्छिन् ।

परिवारमा झगडा

लघुवित्तको ऋणकै कारण घरको शान्ति खोसिएको छ, महिलाहरू घरेलु हिंसामा समेत परिरहेका छन् ।

‘यही ऋणका कारण श्रीमानसँग हरेक दिन झगडा हुन्छ । श्रीमानले गाली गर्छन् । छोराहरू पनि रिसाएर जान्छन्’ पुनमदेवी एक्लिएकी छिन्, ‘अनि त मरुँ–मरुँ लाग्छ ।’

यस्तै अवस्था छ जितपुर सिमरा उपमहानगर–२ सिर्जना टोलमा बस्ने कमला पौडेलको । सिर्जना टोलका करिब ३० जना महिला दर्जन बढी लघुवित्तका ऋणी छन् । पाँच लाख ऋणमा रहेकी पौडेल भन्छिन्, ‘हरेक दिन घरमा मान्छे आएर ऋण तिर भन्छ । अनि तनावमा आएर श्रीमानले कुट्नुहुन्छ ।’

यही ऋणका कारण गाउँले, आफन्त समेत टाढा हुन थालिसके । सात वर्षे छोरालाई काखमा लिंदै कमलाले भनिन्, ‘घर अगाडि नयाँ मान्छे देख्यो कि मेरो छोराले ममी तपाईंको सर (लघुवित्तका कर्मचारी) आयो लुक्नुहोस् भन्छ ।’

लघुवित्तको यो ऋणको पासोमा परेका महिलाहरू यहाँबाट उम्किने ठाउँ खोजिरहेका छन् । तर, उम्किने सही बाटो भेट्टाउन नसकेका उनीहरू भन्छन्, ‘कहाँबाट तिर्नु, सक्दैनौं हामी त । अब गाउँ छाडेर भाग्ने, होइन भने मर्छौं ।’

लघुवित्तको ऋणको जालोमा जेलिएका गृहिणीहरूमध्ये कतिपय त सिर्जना टोल छाडेर हिंडेका छन् । ‘हामी त अब बूढो भयौं, भाग्न पनि सक्दैनौं । अनि नारायणीमा गएर हाम फालौं झैं हुन्छ’ सिर्जना टोलकी पदमकुमारी हमाल निराश सुनिन्छिन्, ‘बालबच्चा नभएको भए त हामी सबै उहिल्यै हाम फालिसक्थ्यौं ।’

सम्पादकीय नोट– 

सानातिना आर्थिक गर्जो टार्न या उत्पादनमूलक काममा लगानी गर्न जनतालाई सहायता मिलोस् भनेर लघुवित्त संस्थाहरु खुलेका हुन् । तर अनलाइनखबरले विभिन्न जिल्लामा स्थलगत रिपोर्टिङ गर्ने क्रममा थुप्रै यस्ता पीडितहरु भेट्यो, जो लघुवित्तकै कारण असहाय र निरुपाय बन्न पुगे । लघुवित्तबाट सेवा शुल्क, चर्को ब्याज र किस्ता असुल्न मालसामान नै उठाउने प्रवृत्तिबाट पाइलैपिच्छे ठगिएका उनीहरुको परिवार नै तहसनहस बन्ने अवस्थामा पुगेको छ ।

यो शृंखलामा हामीले त्यस्ता पीडितका कथाहरु पस्कने छौं । सम्बन्धित लघुवित्त संस्थाहरुलाई सोधिएका प्रश्नहरुको जवाफ अनि राज्य पक्ष तथा सरोकारवालाहरुका सूचना, विश्लेषण र टिप्पणी पेश गर्नेछौं । अनलाइनखबरको यो शृंखला कृपया पछ्याउनुहोस्  ।

लघुवित्तको दलदल १ : एउटा लघुवित्तलाई तिर्न अर्कोबाट ऋण, एउटै व्यक्ति १२ संस्थाको ऋणी

लघुवित्तको दलदल
लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?