+
+

नेपालमा लघुवित्तको ‘ग्रामीण मोडल’ असफल भइसक्यो

डा. भरतसिंह थापा, एमबीए कार्यक्रम निर्देशक, त्रिभुवन विश्वविद्यालय डा. भरतसिंह थापा, एमबीए कार्यक्रम निर्देशक, त्रिभुवन विश्वविद्यालय
२०७९ फागुन ८ गते १९:३३

पहिले त लघुवित्त वित्तीय संस्थाका कारण उत्पन्न समस्या र अरु समस्यालाई एकै ठाउँमा नमिसाऔं । लघुवित्त, मिटरब्याजी, सुदखोर, सहकारी र छरछिमेकबाट लिएको ऋणलाई एकै ठाउँमा राखेर हेर्नु हुँदैन ।

लघुवित्तको समस्यालाई अरुसँग मिसाइयो भने लघुवित्तबाट सिर्जित विकृति जहाँको त्यहीँ र जस्ताको त्यस्तै रहन्छ, समाधान हुँदैन ।

हामीले लघुवित्तमा बंगलादेशको सिको गरेर जुन पुरानो ‘ग्रामीण मोडल’ पछ्याएका छौं, त्यसमै पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । यो मोडलले अब यहाँ काम गरेन भन्ने प्रमाणित भइसक्योे ।

नेपालका लघुवित्तहरु बैंकजस्तै छन् । बैंकले ऋण दिन्छ, असुल गर्छ । उसले ऋण असुलीको लागि ऋणीको सामाजिक पक्ष, पारिवारिक परिवेश, आर्थिक अवस्था, व्यक्तिगत तथा मनोवैज्ञानिक अवस्था केही हेर्दैन, मात्र पैसा हेर्छ ।

लघुवित्त कार्यक्रम गरिब, विपन्न र सीमान्तकृत समुदायप्रति लक्षित हो । बैंकबाट ऋण नपाउनेहरुका लागि हो यो । गाउँका साहु महाजनले समेत विश्वास नगर्नेहरुका लागि हो लघुवित्त ।

तर, यहाँ बैंकको ब्याज तिर्न पनि लघुवित्तबाट ऋण लिइयो र दिइयो । लघुवित्तको प्रणालीबाट किन यस्तो भयो बुझ्न सकिएन ।

अहिले त लघुवित्तका समूहभित्र नै झगडा छ । समूहको एउटा सदस्यले लिएको ऋण नतिर्दा समूहसँगै समाज भाँडिंदैछ । लघुवित्तका कारण सद्भाव, एकता, भाइचारा नै खल्बलिएको देखियो । समाज यसरी खल्बलियो भने लघुवित्तको अहिलेको मोडलले काम गर्दैन ।

लघुवित्त समाजका सम्बन्धहरु बिगार्न बनेकै होइन । बरु सामाजिक सम्बन्ध सुधार्न र सामाजिक पुँजी बढाउनलाई यसले योगदान गर्नुपर्छ ।

सापेक्षित गरिबी सबैतिर हुन्छ । युरोप अमेरिकामा समेत लघुवित्तले साना उद्योग र व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरेर ऋण दिन्छन् । हाम्रोमा समुदायभित्र समूह बनाएर, समूहको जमानीमा ऋण दिने मोडलमा लघुवित्त चलाइयो ।

लघुवित्त त अर्थ र सामाजिक दुबै पक्षको सन्तुलनबाट चल्नुपर्छ । त्यसले ऋणीको व्यक्तिगत तथा सामाजिक अवस्था र प्रतिष्ठाको ख्याल गर्छ ।

हो, लघुवित्तलाई अर्थिक र समाजिक दुबै कुरा सन्तुलनमा राख्न गाह्रो छ । ऋण दिंदा त गुन लगाएको हुन्छ, नदिए झगडा हुन्छ । तर, लघुवित्तको मिसन ठूलो छ, त्यही गर्नु उसको कर्तव्य र दायित्व हो । यो पूरा नहुनु दुःखद् पक्ष हो ।

अहिले लघुवित्तका कारण समस्या आयो भनेर बन्द नै गर्न माग भइरहेको छ । समस्या आयो भनेर लघुवित्त बन्द गरियो भने विकल्प के त ? त्यसो गरेपछि फेरि विपन्नहरु त्यही साहु महाजनकोमा जाने ?

अहिले साहु महाजनको ऋण तिर्न मान्छे लघुवित्तमै गइरहेका छन् । कम्तीमा लघुवित्तमा समस्या पर्दा भन्न ठाउँ त पाइएको छ । सुन्ने कुनै निकाय त छ । लघुवित्त बन्द गरेर फेरि महाजनको गएपछि उस्तै समस्या पर्दा गरिब–दुःखी पीडा सुनाउन कहाँ जाने ?

लघुवित्तबाट कमजोरी भएकै हो । लघुवित्तका कर्मचारीबाट ज्यादती भएको कुरा सत्य हो । कर्मचारीले नै लघुवित्तबाट पैसा लिएर ३६ प्रतिशत लगाएका पनि छन् भन्ने गुनासो छ । यसलाई लघुवित्त संस्थाले सुधार्नुपर्छ । कर्मचारीलाई अनुशासनभित्र राख्नुपर्छ ।

लघुवित्तको मूल कुरा अनुशासन पनि हो, यसमा संस्था, कर्मचारी र ऋणी सबै अनुशासित हुनैपर्छ । ऋणीले पनि कति ऋण लिने, कहाँ कसरी प्रयोग गर्ने र कसरी तिर्ने भन्नेमा सचेत हुनुपर्छ ।

नियमविपरीत ऋण दिएर ऋणीलाई दुःख दिने लघुवित्त पनि छन् । त्यस्ता कार्यविरुद्ध ऋणी पनि मुद्दामा जान सक्ने अवस्था छ । यसमा राष्ट्र बैंक पनि चनाखो हुनुपर्छ, पीडितका कुरा सुन्नुपर्छ ।

लघुवित्तको मूल मर्म समुदायभित्र एकआपसको हित चिताउनेहरुबीच समूह बनाएर त्यसबाट आ–आफ्नो हित र उन्नतीका लागि सानो–सानो रकम दिनु हो । ठूलो–ठूलो ऋण लघुवित्तले दिने नै होइन । लघुवित्तले पहिलो पटकमै ५ लाख रुपैयाँसम्म ऋण दिएको सुनिन्छ । यस्तो काम गर्ने लघुवित्त हुँदैन, बैंक नै हो ।

यस्तै कारणले लघुवित्तले बढाउनुपर्ने सामाजिक पुँजी झन् घटेको हो । त्यसैले अब लघुवित्तमा पुरानो मोडलले काम गर्दैन । पैसा दिने र असुल्ने मात्रै लघुवित्त हुन सक्दैन । र, पनि लघुवित्तको विकल्प लघुवित्त नै हो ।

(लघुवित्तका अध्येता थापाले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा राखेको विचारको सम्पादित अंश)

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?