+
+
पुस्तक चर्चा :

जीवनको गति अनि समयको सन्देश ‘म मकरध्वज’

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ फागुन ९ गते १७:५३

उमेरले नौ दशक (हाल ९१ वर्ष) पार गरिसकेपनि मकरध्वज गुरुङलाई प्रत्येक दिन देश-दुनियाँको खबरसँग अपडेट हुनैपर्छ । जतिबेला नौजवान मकरध्वज गाँउको मुखिया थिए त्यो बेलादेखिको बानी हो यो ।

गाउँको मुखिया हुँदै प्रधानमञ्च र जिल्ला विकास समितिको सदस्यसम्म बनेका उनै मकरध्वजले राजनीति, व्यवसाय र सामजिक अभियानको क्रममा दुःख-सुख, खुसी, उत्साह तथा कौतुहलतापूर्वक बिताएका झण्डै ७०-८० वर्षको अनुभव समेटेर आफ्नो आत्मकथा प्रकाशन गरेका छन् ‘म मकरध्वज’ ।

‘म मकरध्वज’मा उनले दुर्गम एउटा सानो गाँउका बासिन्दालाई व्यवसायमा आकर्षित गर्न लोक्ता कम्पनी खोलेर जनकपुरदेखि जलेश्वरसम्म लोक्ता बिक्रीको लागि पुगेको प्रसंगसमेत उल्लेख गरेका छन् । ‘म मकरध्वज’भित्र मैले किन लेखे ? भन्ने प्रसंगमा उनले जेठा छोरा हिमाल गुरुङले किताब छाप्न कम्पनीका मानिस आउँछन् भनेर सम्झाउँदा आफूले लोक्ता संकलन र बिक्रीको लागि कम्पनी खोलेको स्मरण गरेका छन् ।

पुस्तक निक्कै रोचक लाग्छ । यसभित्र राजनीतिदेखि व्यवसायसम्मका धेरै खुराकिला प्रसंगहरु छन् । दुर्गम दोलखाको हिमाली गाँउ काप्ती (दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरी) मा जन्मे-हुर्केका उनको राजनीति र समाजसेवासँगै व्यवसायको समेत उर्वर चेत भएकै कारण सबैको प्रेरणा र आदर्श बनेका थिए मकरध्वज गुरुङ ।

लोक्ता बिक्रीको लागि दुर्गम गाँउबाट हप्तौं हिंडेर जलेश्वर-जनकपुर पुग्दाको रोमाञ्चक यात्रा विवरण पढ्दा संघर्षशील व्यवसायीलाई एउटा अनौठो जादुयी मिठाई खाएजस्तै सन्तुष्टि मिल्छ पुस्तकबाट ।

मकरध्वज गुरुङलाई अहिले उमेरले सक्रिय हुन दिंदैन तर विचारले, सूचनाको चेतले र प्रबल इच्छाशक्तिले उनी अहिले पनि उत्तिकै सक्रिय लाग्छन् । उतिबेला हप्तौंको पैदलयात्रापछि काठमाडौं सहर चिहाउने बाध्यतामा पनि मकरध्वज गुरुङ गाँउबाट खसीबोका, घिउ, जडिबुटीजस्ता शुद्ध अग्र्यानिक उत्पादन बिक्रीको लागि लाने गर्थेे र गाँउका अन्य साथीसंगीलाई पनि यस्तो व्यवसायको लागि उक्साइरहन्थे ।

मकरध्वजको कान्छा छोरा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले पुस्तकमा ‘अपार इच्छाशक्तिका बुबा’ भनेर लेखेका छन्- ‘धेरै जान्ने नभएपनि उद्यममा उहाँको सधैं जोड रहने गथ्र्यो ।’ गाँउबाट काठमाडौं जाँदा उनी खाली हात कहिल्यै जाँदैनथे । खसीबोका, घिउ, जडिबुटी जे छ त्यो लगेर बेच्ने गर्थे ।

‘म मकरध्वज’ पुस्तकमा मकरध्वज गुरुङले नुन खेप्न भोटतिर गएको प्रसंगदेखि भेडीगोठमा भालु आउँदाको त्राससमेत अटाएका छन् । भूतसँगको यात्रा, जुहारी खेलेर रात कटाएको, झाँक्री दाइले हेरिदिएको केटी, कहालीलाग्दो भोकमरी, कोसेली बुझाउन सिकार, पत्नीको मृत्यु, २०४५ सालको भूकम्पजस्ता कुरा पनि छन् पुस्तकमा ।

राजनीतिको रन्कोले पञ्चायती व्यवस्थामा लागेको समय तत्कालीन राजा महेन्द्र र वीरेन्द्रलाई आँखा सामुन्ने देख्दा, खर्कको मुद्दा जित्दा, गाउँमा आफ्नै स्कुल बनाउँदा र जनताको चाहनामा प्रधानपञ्च बन्दा मकरध्वजको खुसीलाई शब्दशब्दमा सजीव बयान गरिएको छ पुस्तकमा । खोल्मे खोला र सुरी दोभानमा आफ्नै पहलमा पुल निर्माण गर्दा होस् वा सबैको मन जितेर बाटो निर्माण गर्दा नै किन नहोस सामाजिक अभियानको त्यो खुसी जीवनको अमूल्य सम्पत्ति ठानेका छन् मकरध्वजले ।

पारिवारिक रुपमा हिमालजस्तै छोरा हिमालको जन्म, कान्छा छोरा पार्वत मन्त्री बन्दा र तीनवटै छोरीको अन्तरजातीय विवाह भएको बेला मुहारमा चाउरी छोप्दै दौडिएको खुसी जीवनको अनमोल पल भनेर वर्णन गरेका छन् मकरध्वजले पुस्तकमा ।

कान्छा छोरा पार्वत गुरुङ र मकरध्वजको राजनीतिक नोकझोंक पनि रमाइलो रहेछ । पञ्चायतकालीन प्रधानपञ्च मकरध्वज राजावादी हुनु स्वभाविक थियो । अनि विद्रोही स्वभावका आँटिला युवा पार्वत गुरुङलाई कम्युनिस्टको प्रभाव नपर्ने कुरै थिएन । २०४६ सालमा प्रजातन्त्र स्थापनापछि यी दुईधारका राजनीतिज्ञ बाबुछोरा झण्डै एउटै पदमा भिड्नुपर्ने बाध्यता आइलागेको ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिपछि बाबु मकरध्वज नेपाली कांग्रेस भए, छोरा पार्वत गुरुङ तत्कालीन माले हुँदै एमाले । एउटै पदमा दुई फरक पार्टीबाट बाबुछोरा उठ्ने तयारी हुँदै गर्दा पार्वत गुरुङको उमेर नपुग्ने भएपछि उठ्न नपाउने अवस्था बन्यो । अनि मकरध्वज गुरुङलाई पनि छोराहरुले जोडबल गरेर एमालेमै प्रवेश गराई जिल्ला विकास समितिको सदस्य बनाए ।

पछि त मकरध्वज गुरुङ कम्युनिस्ट राजनीतिमा यति धेरै भिजेछन् कि २०६४ सालको संविधानसभा निर्वाचनमा झापाबाट केपी शर्मा ओली र रौतहटबाट माधवकुमार नेपाल पराजित भएको खबरले उनलाई बिरामी नै बनाइदिएछ ।

त्यसैले त पुस्तकभित्र पार्वत गुरुङले लेखेका छन्, ‘राजनीतिक रुपमा राजा र पञ्चायती व्यवस्थाप्रति उहाँको आस्था थियो । तर विचार र व्यवहारले भने उहाँ प्रगतिशील हुनुहुन्थ्यो । पौरख र श्रममा विश्वास गर्नुहुन्थ्यो ।’

दुई सय ८० पेजको पुस्तक ‘म मकरध्वज’मा मकरध्वज गुरुङले उतिबेला भोगेका तथ्यलाई सारङ्गीको तारहरुमा दौडिने औंलाका चालजस्तै सम्पादक शुभेच्छा विन्दु तुलाधरको शब्दको तख्ताले निक्कै पठनीय बनाएको छ । यसलार्य घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको हो ।

‘म मकरध्वज’ फगत शब्द थोपरिएको पुस्तक मात्र होइन, जीवनको गति र समयको सन्देश पनि हो । अनि उतिबेलाको समय दौड । पुस्तकको भाष्यमा ७०-८० वर्षअघिको समाज र समाजसँग लय मिलाउँदै अघि बढिरहेको चराचर जीवनको वस्तुगत यथार्थ समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?