+
+

नगद मार्जिन र प्रतिबन्ध हट्दा पनि खुम्चियो आयात

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १० गते १८:४६

१० फागुन, काठमाडौं । आयात प्रतिबन्ध र नगद मार्जिन घट्दा पनि वैदेशिक व्यापार नबढेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार पुस २०७९ को तुलनामा माघमा आयात झनै घटेको छ । यस वर्ष मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । पुस महिनामा १ खर्ब २९ अर्बको वस्तु आयात भएको थियो । माघ महिनामा भने १ खर्ब २६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।

सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुसदेखि लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघदेखि हटाइएको थियो । सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । त्यसका वावजुत पनि व्यापारमा भने सुधार देखिएको छैन । माघमा यस वर्षको औसत आयात भन्दा पनि तल झरेर वस्तु आयात भएको छ । यसले आन्तरिक माग नै संकुचनमै रहेको संकेत गरेको छ ।

प्रतिमहिना सवा खर्ब व्यापार घाटा, निर्यातमा खस्किँदै

नेपालले प्रतिमहिना सवा खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । यस अनुसार नेपालले प्रतिमहिना १ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको पाइएको छ । नेपालले माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

निर्यात भने मात्र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको मात्र हुँदा व्यापार घाटा उच्च हुन पुगेको हो । गत आवको यसै अवधिको तुलनामा भने व्यापार घाटा केही कम भएको हो । यसो हुनुमा भने आयातमा आएको गिरावट मुख्य कारण हो । नेपालले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को माघसम्म १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । जुन चालु आवको तुलनामा १८.७१ प्रतिशत धेरै हो ।

निर्यातमा ठूलो गिरावट

नेपालले गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस वर्ष अपेक्षित निर्यात गर्न नसक्दा त्यसको असर व्यापार घाटामा प्रत्यक्ष देखिएको छ । विभागका अनुसार माघसम्म नेपालले ९३ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २९.०३ प्रतिशत कम हो । गत आवमा माघसम्म नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

विभागका अनुसार आयात समेत यस वर्ष केही कम भएको छ । माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १९.९० प्रतिशत कम हो । भन्सार विभागका अनुसार आव २०७८/७९ को माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोडको वस्तु आयात भएको थियो ।

आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार नै खुम्चिन पुगेको छ । भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार २०.८४ प्रतिशतले खस्किएको छ । माघसम्मको आयात÷निर्यातको तुलना गर्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा कम बनेको छ भने आयातको हिस्सा बढेको छ ।

तथ्यांक अनुसार अहिले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.२३ प्रतिशत रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.३५ प्रतिशत कम हो । व्यापारमा आयातको हिस्सा भने ९०.७७ प्रतिशत रहेको छ । यो गत आवको तुलनामा १.१९ प्रतिशत धेरै हो ।

झण्डै दुई खर्बको पेट्रोलियम पदार्थ आयात

७ महिनामा नेपालले झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अनुसार नेपालको कुल निर्यातले अब पेट्रोलियम पदार्थको आयात नै धान्न नसक्ने अवस्था आएको छ । यस अवधिमा ७६ अर्ब २६ करोड रुपैयाँको आइरन तथा स्टील आयात भएको छ । विद्युतीय उपकरण र पार्टपूर्जाको आयात ५८ अर्ब २३ करोड रुपैयाँ बराबरको रहेको छ । तरकारीजन्य वस्तु मात्र १९ अर्ब ६६ करोड रुपैयाँको आएको छ ।

१५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार

नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ७० अर्बको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ । चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ । अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भई व्यापार नाफामा रहन पुगेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?