+
+

गोरखामा ३० लाख खर्चेर बनेको तरकारी संकलन केन्द्र प्रयोगविहीन

केन्द्रका लागि गाउँपालिकाको थप २० लाख बजेट

विकास मरहट्टा विकास मरहट्टा
२०७९ फागुन १२ गते १३:१२

१२ फागुन, गोरखा । ३० लाख रुपैयाँ खर्चेर गोरखाको भीमसेन थापा गाउँपालिका–५ बगुवामा निर्माण भएको तरकारी संकलन केन्द्र प्रयोगविहीन छ । पाँच वर्षअघि निर्माण सम्पन्न भएपनि सञ्चालनमा नल्याएपछि केन्द्रका संरचनाहरु अलपत्र छन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरेको रकमबाट केन्द्र निर्माण गरिएको हो । प्रदेशका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उक्त योजनामा बजेट विनियोजन गरेका थिए । विनियोजित ३० लाख रकमबाट पाँच वटा जस्ताले छाएको सामान्य ट्रष्ट बनाइएको छ । बगुवा स्वास्थ्य चौकीसँगैको करिब ५ रोपनी जग्गामा निर्माण गरिएको उक्त संरचनामा हाट बजार सञ्चालन गर्ने उदेश्य राखिएको थियो । तर बनेदेखि नै केन्द्र सञ्चालनमा नआएको स्थानीय बताउँछन् ।

‘संरचना बनेको यतिका समय भयो तर आजसम्म यहाँ न हाट बजार लाग्यो न तरकारी संकलनको काम भएको छ’ स्थानीय ऋषि लामिछानेले भने । तरकारी संकलन केन्द्र निर्माण हुनु सकारात्मक भएपनि हालसम्म सञ्चालनमा नआउनु दुःखद् भएको उनले बताए ।

संरचना बनाएर रकम फरफारक गरेपनि हाट बजार सञ्चालनमा नआएको भन्दै स्थानीय मनबहादुर रिमालले गुनासो गरे । स्थानीयका अनुसार सो क्षेत्रमा कमै मात्र व्यावसायिक तरकारी खेती हुने गर्छ । सिख्रे, रिठ्ठेपानी लगायतका स्थानमा हुने सामान्य खेती गर्न पनि स्थानीयले छाडिसकेका छन् । आवश्यकताको पहिचान नगरी हाट बजारका लागि बजेट विनियोजन गर्दा सदुपयोग नभएको भन्दै आलोचना समेत हुन थालेको छ ।

प्रयोगविहीन केन्द्रमा गाउँपालिकाको २० लाख बजेट

प्रयोगविहीन उक्त संकलन केन्द्रमा गाउँपालिकाले थप रकम विनियोजन गरेको छ । अलपत्र र जीर्ण बन्दै गएका संरचनामा मर्मतका लागि दश लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

‘यसअघि प्रदेशले बनाएको संरचनामा गारो थिएन, जस्ताले छाएको खुल्ला संरचना मात्र थियो, ती संरचना पनि जीर्ण बन्दै गएका थिए,’ उनले भने, ‘ती मध्ये तीन वटा संरचनामा चार फिट ईंट्टाको गारो लगाएर प्लाष्टर गर्ने, सटर राख्ने र त्यसमाथि जाली राखेर रंगरोगन गर्ने काम भइरहेको छ ।’ हाइवेबाट केन्द्रसम्म जाने सडक ढलानका लागि पनि दश लाख रकम विनियोजन गरिएको उनले बताए । सो रकमबाट ६ वटा ह्यूमपाइप समेत राखिने उनले जानकारी दिए ।

पाँच वर्षअघि बनेको संकलन केन्द्रको १ फागुनमा जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको छ । उद्घाटन भएपनि आजसम्म केन्द्र प्रयोगमा आउन सकेको छैन । साप्ताहिक रुपमा हाट बजार सञ्चालन गर्ने भन्दै रकम विनियोजन भएपनि हालसम्म सञ्चालनमा नआएको कृषि विकास निर्देशनालय पोखराका कृषि इन्जिनियर विश्वनाथ पौडेलले समेत बताए ।

‘सञ्चालनमा आएन भन्ने गुनासो आएपछि हामीले स्थलगत निरीक्षण समेत गरेका थियौ,’ पौडेलले भने, ‘सञ्चालनमा नआएको पाएपछि तत्काल सञ्चालन गर्न निर्देशन समेत दियौं तर अझै कार्यान्वयन भएको रहेन छ ।’ तत्काल सञ्चालनका लागि आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?