 
																			काठमाडौं । पढाइका साथै गृहकार्य पनि अनिवार्यजस्तै मानिन्छ । गृहकार्य कति जरुरी छ ? यसमा शिक्षाविद्हरुको मत विभाजित छ । कतिले विद्यार्थीको पढाइमा निखारता ल्याउन गृहकार्य जरुरी रहेको बताउने गरेका छन् भने कतिले गृहकार्यको खासै औचित्य नहुने तर्क गर्ने गरेका छन् ।
खासमा दिनभर कक्षामा पढेका पाठलाई पुनः स्मरण वा अभ्यास गर्नका लागि गृहकार्य दिइने प्रचलन छ । तर बालबच्चाले सबैजसो गृहकार्य फटाफट गर्न सक्दैनन् । शिक्षकहरु भन्छन्, ‘यस्तो अवस्थामा आमाबुवा तथा अभिभावकले गृहकार्यमा सहयोग गर्नुपर्ने हुन्छ ।’
अभिभावकले गृहकार्य पूरा गराउँदा बालबालिकालाई दिने समयले पनि बालबालिकामा सकारात्मक प्रभाव पर्ने भएकाले उनीहरुलाई गृहकार्य गराउन अनिवार्य सहयोग गर्नुपर्ने पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटारकी प्रधानाध्यापक विनिता रञ्जित बताउँछिन् ।
‘शिक्षकले विद्यालयमा सिकाएको कुरा घरमा सँगै बसेर पढाउँदा थप गहिरोसँग बुझ्छन् नबुझेको सिक्छन्, यसले उनीहरुको सिकाइ प्रभावकारी बनाउँछ,’ उनी भन्छिन् ।

शिक्षक मोइन उद्दिन अभिभावकको सहयोगबिना बालबालिकाको सिकाइ नै पूर्ण नहुने बताउँछन् । ‘बालबालिकालाई सिकाइको महत्व थाहा हुँदैन । विद्यालयमा भइन्जेल हामी पढाउँछौं । सबै बिर्सेर अरु नै कुरामा केन्द्रित हुन थाल्छन्,’ उनी भन्छन्, ‘घरमा पनि अभिभावकले सोध्ने, सिकाउने हो भने सबै स्मरण गर्छन् । लेख्छन्, सिक्छन् र उनीहरुको दिमागमा मज्जाले बस्छ ।’
शिक्षकले दिएको गृहकार्य गर्दाको समय अभिभावकसँग हुने सामीप्य, कुराकानी र छलफलले बालबालिका र अभिभावकको भावानात्मक सम्बन्ध पनि थप बलियो बनाउने मनोविद् डा. करुणा कुँवर बताउँछिन् । ‘बालबालिकाले अभिभावकको एटेन्सन खोज्छन् । त्यो एटेन्सन होमवर्क गराउँदा पाउँछन् र त्यसले उनीहरुलाई सकारात्मक प्रभाव पार्छ । यसले बच्चा र अभिभावकबीचको सम्बन्ध पनि प्रगाढ बनाउँछ,’ उनी भन्छिन् । पढाउँदा सकेसम्म आमाबुवा नै बसेर सिकाउनुपर्ने मनोविद् डा. कुँवर बताउँछिन् ।

कसरी गराउने गृहकार्य ?
गृहकार्य गर्न, पढ्न, बुझ्न सघाउनका लागि अभिभावकले आफ्नो बच्चाको उमेर, शारीरिक र मानसिक अवस्था बुझेर व्यवहार गर्नुपर्ने प्रधानाध्यापक रञ्जित बताउँछिन् । उनका अनुसार साना कक्षामा अध्ययन गर्ने बालबालिकाको लागि अभिभावकको सहयोग अनिवार्य नै हो । साना उमेरका बालबालिकाहरु आफैंले पढेर, बुझेर लेख्न नसक्ने भएकाले उनीहरुसँगै अभिभावकले पनि पढ्दै, लेख्दै सिकाउनुपर्ने हुन्छ । अभिभावकले उनीहरुको ‘होमवर्क’ हात समाएर लेखाउनुपर्ने, देखाउनुपर्ने हुन्छ । तर आफूले जस्तै लेख्न, पढ्न दबाब भने दिन नहुने रञ्जित बताउँछिन् । यसरी ‘होमवर्क’ गर्दा अभिभावकको सहयोग पाएका बालबालिका र सहयोग नपाएका बालबालिकाले विद्यालयमा देखाउने प्रस्तुतिमा धेरै अन्तर हुने उनको भनाइ छ ।
‘जसलाई घरमा अभिभावकले समय दिएका हुन्छन्, ती बालबालिकाको प्रस्तुति नै फरक हुन्छ । साथीभाइसँग घुलमिल हुने, शिक्षकहरुसँग निर्धक्क सोध्न, भन्न सक्ने स्वभावका हुन्छन् ।’ साना बालबालिकालाई ध्यान एकत्रित गर्न गाह्रो हुने भएकोले फकाउँदै, सिर्जनात्मक तरिकाले गृहकार्य गराउनुपर्ने उनी सुझाउँछिन् ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आवश्यकता अनुसार सहयोग नपाउने अवस्था छ । ‘सहरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका धेरैजसो अभिभावक ज्याला मजदुरीका लागि दिनरात खट्नुपर्ने भएकाले आफ्ना सन्तानको सिकाइप्रति चासो दिन नै भ्याउँदैनन्,’ रञ्जित भन्छिन्, ‘जसकारण आवश्यकताअनुसार बालबालिकाले सहयोग नपाउने अवस्था छ ।’
त्यसरी व्यस्त हुनुपर्ने अभिभावकले शिक्षकसँग समन्वय गरी दिनभरि विद्यालयमा सिकेको, पढेको कुरा सुनाउन, लेख्न लगाएर पनि सहयोग गर्न सकिने उनी बताउँछिन् ।
साना बालबालिकालाई निरन्तर लेखाउन, पढाउनभन्दा पनि खेलाउँदै, गीत गाउन लगाउँदै रमाइलो तरिकाले सिकाउँदा छिटो सिक्ने शिक्षक मोइन बताउँछन् । ‘यसरी सानोमा सिकेको कुराले जिन्दगीभर प्रभाव पार्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको सिकाइप्रति गम्भीर भएर चासो राख्नुपर्छ, सहयोग गर्नुपर्छ,’ उनी भन्छन् । छिट्टो बिर्सिने, ढिला बुझ्ने खालको समस्या भएका बालबालिकालाई अभिभावकले तुलनात्मक रुपमा बढी समय दिनुपर्ने शिक्षक मोइन बताउँछन् ।

बालबालिकामाथि दुर्व्यवहारका घटना पनि बढिरहेका छन् । त्यसैले गृहकार्य सिकाउँदा विद्यालयमा शिक्षकहरुले सिकाएको कुरा, उनीहरुको व्यवहारबारे पनि बुझ्नुपर्ने मनोविद् डा. कुँवर बताउँछिन् । ‘अभिभावकले होमवर्क गराउने भनेको किताबको कुरा मात्रै पढाउने, सोध्ने, सिकाउने, लेख्न लगाउने मात्रै होइन । विद्यालयमा उनीहरुले वा उनीहरुमाथि हुने व्यवहार बुझ्ने, बालबालिकाको व्यवहार नियाल्ने पनि हो,’ उनी भन्छिन् ।
शिक्षक र अभिभावकबीच समन्वय
बालबालिकाको व्यक्तित्व विकासको लागि शिक्षक र अभिभावकबीच समन्वय हुनु महत्वपूर्ण हुन्छ । तर सामुदायिक विद्यालयमा भने शिक्षक र अभिभावकबीच समन्वय कम हुने पधानाध्यापक रञ्जितको अनुभव छ । ‘एकदमै कम सचेत अभिभावक छन् । विद्यार्थीको विषयमा चासो राख्दै आउने विद्यालय आउने, सम्बन्धित शिक्षककहाँ बुझ्न खोज्ने अभिभावक नगन्य छन्,’ उनी भन्छिन् ।
गृहकार्य गर्न गराउन विद्यार्थी, अभिभावक नै गाह्रो मान्ने गरेको पाइन्छ । घरमा पढाउँदा पनि पिट्ने गर्नाले बालबालिका डराउँछन् । गृहकार्य गर्न र पढ्न नमान्ने भएपछि झन् अभिभावकले पिट्ने गरेको पनि पाइन्छ ।
त्यसैले अभिभावकलाई यस विषयमा शिक्षा दिनुपर्ने अवस्था रहेको मनोविद् कुँवर बताउँछिन् । ‘हामी अभिभावकमा पनि शिक्षाको कमी छ । कसरी बालबालिकालाई सिकाउने, कस्तो व्यवहार गर्ने भन्ने नै थाहा छैन,’ उनी भन्छिन् ।
पञ्चकन्या आधारभूत विद्यालयले कक्षा ७ र ८ को अभिभावकलाई बोलाएर बालबालिकालाई घरमा पढ्न सहयोग गर्न अनुरोध गरेको रञ्जित बताउँछिन् । बालबालिकाको उमेर बढ्दै जाँदा उनीहरुको स्वभाव पनि बदलिंदै जाने त्यसमा अभिभावक सचेत भएर संयमतापूर्वक व्यवहार गर्नुपर्ने भएपनि अभिभावक शिक्षाको कमीले बालबालिकाको समस्या बुझ्न भन्दा गाली गर्ने, कुट्ने गर्ने अवस्था रहेको उनी सुनाउँछिन् । ‘हामी विद्यालयले अभिभावकलाई सम्झाउने, बुझाउने कोसिस गर्छौं । तर अभिभावक शिक्षाका लागि यत्ति मात्रै पर्याप्त होइन ।’
अशिक्षित, दैनिक ज्यालादारी गर्ने अभिभावक मात्रै होइन शिक्षित अभिभावक पनि शिक्षक र विद्यालयमा नै भर परिरहेको शिक्षक रोइन बताउँछन् । ‘अहिले बालबालिकालाई समय दिने फुर्सद अभिभावकसँग छैन । अशिक्षित अभिभावकलाई बालबालिकालाई कसरी सिकाउने, समय दिने भन्ने थाहा छैन भने शिक्षित र कामकाजी अभिभावकलाई फुर्सद कम भएर,’ उनी भन्छन् । शिक्षक अभिभावकबीच समन्वय मात्रै नभएर अभिभावकले बालबालिकालाई समय दिनैपर्ने उनी बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4