+
+

लाहुरे फूलको बिरुवा कसरी रोप्ने ? 

विकेश कर्माचार्य विकेश कर्माचार्य
२०७९ फागुन १९ गते १२:३६

अंग्रेजीमा डालिया भनिने लाहुरे फूल बहुवर्षीय र गाँठा जरा हुने प्रजातिको फूल हो । खासगरी मेक्सिको, कोलम्बिया तथा मध्यअमेरिकाको रैथाने प्रजातिको लाहुरे फूल ३६ प्रजातिका पाइन्छन् ।

थुप्रै प्रजाति भएपनि नेपालमा भने यति नै प्रजातिका लाहुरे फूल पाइन्छन् भन्ने यकिन छैन । विशेषगरी कुनै समारोहमा सजावटका लागि प्रयोग गरिने यो फूल टाढाबाट हेर्दा सूर्यमुखी फूलजस्तै देखिन्छ ।

नेपालमा धेरै पाइने लाहुरे फूलको प्रजातिमा डालिया विग साइज र पट डालिया हुन् । डालिया विग साइज सामान्यतया बगैंचामा रोपिने भएपछि अहिले गमलामा पनि रोप्न सकिन्छ । पट डालिया भने गमलामा मात्र रोप्ने फूल हो ।

कहिले रोप्ने ?

लाहुरे फूल अर्थात डालिया बसन्त ऋतुबाट रोप्न सुरु भएको छ । फागुन महिनादेखि वैशाख महिनासम्म रोप्ने गरिन्छ । यो ६ देखि सात महिनासम्म राम्ररी फूल फुल्ने गर्छ । सिंगल वा डबल फूल फुल्ने हुन्छ । फूल रातो, सेतो, गुलाबी, बैजनी र हल्का नीलो रंगको हुन्छ । यो फूलको बीउ राखेको ६-७ दिनमा उम्रिन्छ । यो फूल रोपेको ४५ दिनमा फूल फुल्न सुरु हुन्छ ।

कसरी हेरचाह गर्ने ?

यसलाई पिना (तोरीको तेल पेल्दा निस्कने तोरीको बाहिरी भाग) र हड्डीको धुलो मिक्स गरेर बोटमा छर्किंदा बिरुवा सधैं हरियो देखिन्छ । यसलाई १५ दिनको फरकमा छर्किनुपर्छ । एक लिटर पानीमा पिना दुई भाग र हड्डीको एक भाग मिसाएर छर्किनुपर्छ । यसले बिरुवाको खानाको रुपमा काम गर्छ ।

जराको लागि नाइट्रोजन, पोटासियम र फस्फोरसको मिश्रण जरामा छर्किनुपर्छ । एक लिटर पानीमा यसलाई दुई एमएल राखेर बोटको जरा १५ दिनको एकपटक छर्किने गर्नुपर्छ, जसले जरालाई बलियो बनाउँछ ।

लाहुरे फूललाई दिनको एकपटक मात्रै पानी दिए पुग्छ । लाहुरे फूल बीउ विजन गरेर, कटिङ गरेर र गानो सारेर रोप्न सकिन्छ ।

सामान्यतः नर्सरीहरुमा लाहुरे फूलको एउटा बोटको ४० रुपैयाँदेखि १०० रुपैयाँसम्म पर्छ । यसमा करिब ३० प्रकारका रंगीन फूल फुल्छन् ।

लाहुरे फूलमा फङ्गस अर्थात् सेतो ढुसी आउने समस्या हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड दुई ग्राम राखेर हप्तामा एकपटक मात्र बोटमा छर्किनुपर्छ । यदि ढुसी बढी परेको वा पात धेरै सेतो भएको खण्डमा हप्ताको दुईपटकसम्म हाल्नुपर्छ ।

(कर्माचार्य भक्तपुर सूर्यविनायकस्थित फ्लावर नेपालका सञ्चालक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?