पछिल्लो समय छत, कौसी र बरण्डामा बिरुवा लगाउने चलन बढ्दै गएको छ । बाथरुमदेखि बेडरुमसम्म इण्डोर बिरुवा सजिन थालेका छन् । यसले घरको सुन्दरता त बढाउँछ नै मानिसको मुडसमेत ताजा गराउँछ ।
इण्डोर प्लान्ट हुर्काउन गमला नै सबैभन्दा उत्तम विकल्प हो । माटोका परम्परागत गमलाभन्दा अहिले सेरामिकका गमला लोकप्रिय बन्दैछन् । माटोका गमला स्वदेशी उत्पादन सेरामिक र प्लास्टिकका गमला पनि नेपालमा छन् । तर नेपालमा हातले बनाइने भएकाले गमला महंगो हुने भएकाले ग्राहकको रोजाइमा भारतीय र चिनियाँ गमला नै मन पराउने गरेका छन् ।
माटो, सेरामिक्स, फाइबर र प्लास्टिकका गमला बजारमा पाइन्छन् । त्यसमध्ये पनि सेरामिक्सका गमला सबैभन्दा धेरै बिक्री हुन्छन् भने त्यसपछि फाइबर र प्लास्टिकका गमला बिक्री हुन्छन् ।
सेरामिक्समा पनि चिनियाँ सेरामिक्सका गमला ग्राहकको रोजाइमा परेका छन् । यसमा सानो र चिटिक्क परेका विभिन्न डिजाइनका आकर्षक गमला पाइने भएकाले उपहार दिन तथा घरमा सजाउन यो सजिलो हुन्छ ।
सेरामिक्स गमलाको मूल्य गमलाको साइज, बनावट र गुणस्तरको आधारमा तय हुन्छ । सामान्यतया अहिले २०० देखि १२ हजार रुपैयाँसम्मका गमला पाइन्छन् ।
कस्तो गमलामा फूल राम्रोसँग सप्रिन्छ ?
जुनसुकै गमलामा जस्तोसुकै फूलहरु रोप्न सकिन्छ । तर आउडोर अर्थात् बाहिर राख्ने बिरुवाको लागि माटो वा सेरामिक्सकै गमला उपयुक्त हुन्छ । यसले घामपानीबाट जोगाउनुका साथै लामो समयसम्म टिकाउ पनि हुन्छ ।
यो गमलाले बाहिरको तापक्रमलाई नियन्त्रण गर्ने भएकाले धेरै घाम लागे वा पानी परेपनि बिरुवा चाँडै मर्दैन । अहिले बाहिर प्लास्टिक वा फाइबर भएपनि भित्र माटोको गमला राख्ने पनि चलन छ । यसले बाहिरबाट गमला राम्रो देखिने पनि र बिरुवा पनि राम्ररी सप्रिने हुन्छ ।
कस्तो डिजाइन र कहाँ राख्ने ?
गमला ५०० भन्दा बढी डिजाइनमा पाउन सकिन्छ । यसमा सादा, बुट्टा भरेका, रंगीविरंगी, डिजाइन उपलब्ध हुन्छन् । जस्तै, हात्ती, कछुवा, शंख, बुद्ध, इमोजी आकृतिका गमला पाइन्छ ।
। गमलालाई इन्डोर र आउटडोर जता पनि राख्न सकिन्छ । यसैगरी ह्यांगिङ गमला, वालमा राख्ने गमला, रेलिङमा राख्ने गमला, ज्यामितीय आकार, रतन प्लास्टिकको गमलालगायत प्रकारमा पनि पाउन सकिन्छ ।
ह्यांगिङ गमला
झण्ड्याएर राखिने गमलालाई ह्यांगिङ गमला भनिन्छ । झुन्डाउँदा राम्रो देखिने बिरुवा यो गमलामा रोप्न सकिन्छ । यसलाई बाल्कोनी, कौसी वा झ्यालको साइडमा राख्दा राम्रो देखिन्छ । यसमा अधिकांश प्लास्टिकका गमला हुन्छन् । यो आउटडोर गमला हो ।
वालमा राख्ने गमला
भित्तामा झण्ड्याएर राखिने वाल गमलामा फूल वा बिरुवा रोपेर घरको सजावटलाई नयाँ रुप दिन सकिन्छ । घरको जुनसुकै भित्तामा राख्न सकिने यो गमला विशेषगरी भान्साको कुना र बैठक कोठामा राख्दा झनै आकर्षक देखिन्छ ।
रेलिङमा राख्ने गमला
बाल्कोनी, भर्याङ, छत वा आँगनको रेलिङमा सजाउन यो गमला उपयुक्त हुन्छ । घरलाई आकर्षक देखाउन यो गमलामा मौसमी फूल रोप्न सकिन्छ । यसलाई झ्यालमा अड्काएर राख्न पनि सकिन्छ । यसमा फूल फुल्ने बिरुवा रोप्दा अझ राम्रो देखिन्छ । यो आउटडोर गमला हो ।
ज्यामितीय आकार
बिरुवालाई आधुनिक शैलीमा सजाउन यो गमला उपयुक्त हुन्छ । हेर्दा आकर्षक देखिने यो गमलामा ज्यामितीय प्रिन्टको डिजाइन हुन्छ ।
रतन प्लास्टिकको गमला
यो गमला निकै आकर्षक देखिन्छ । घरलाई परम्परागत शैलीमा सजाउन यो गमला उपयुक्त हुन्छ । विभिन्न आर्कषक रंगमा पाइने यो गमला इन्डोर, आउटडोर र ह्यांगिङ प्रकारमा पाइन्छ ।
(तुलाधर गमला घरका सञ्चालक हुन् ।)
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4