+

‘नेपाललाई आयुर्वेदिक उपचारको गन्तव्य बनाउन सकिन्छ’

२०७९ फागुन  २२ गते ११:०० २०७९ फागुन २२ गते ११:००
‘नेपाललाई आयुर्वेदिक उपचारको गन्तव्य बनाउन सकिन्छ’

काठमाडौं । आयुर्वेदलाई दक्षिण एसियाको मौलिक उपचार पद्धति मानिन्छ । तर उचित व्यवस्थापन र नीतिगत कमजारीका कारण तीन दशकअघिदेखि चलिआएको यो उपचार पद्धति पछि परेको छ । जसकारण पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति मानिसको आकर्षण घट्दो छ ।

यस्तो अवस्थामा के नेपाललाई आयुर्वेद उपचारको गन्तव्य बनाउन सकिन्छ ? आयुर्वेदिक औषधि कुनै रोग लागेपछि उपचारका लागि प्रयोग गरिन्छ कि रोग लाग्न नदिनका लागि ? लगायत विषयमा नेपाल महर्षी वैदिक फाउण्डेसनका अध्यक्ष दीपक बास्कोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

आयुर्वेदिक उपचारका लागि नेपालमा कस्तो सम्भावना छ ?

संसारभरिका मान्छेले नेपालको हिमालयन हर्बल खोजेका छन् । तर यसलाई व्यवस्थित तरिकाले म्यानुफ्याक्चर गरेर ब्रान्ड बनाएर हिमालयन हर्बल हो भनेर निर्यात गर्ने कुरामा हामी चुकेका छौं ।

नेपाल सरकारले नीति बनाएर आयुर्वेद औषधिलाई व्यावसायिक बनाउन सके रोजगारी सिर्जनाका साथै नेपाललाई विश्वसामु चिनाउन सकिन्थ्यो ।

के नेपाललाई आयुर्वेदिक उपचारको गन्तव्य नै बनाउन सकिन्छ ?

आयुर्वेद उपचारको लागि नेपाल एकदमै उपयुक्त देश हो । यसको सम्भावना पनि छ तर यसलाई राम्ररी उपयोग गर्न सकिएको छैन । निजी क्षेत्रको कोसिसले मात्र यो सम्भव हुँदैन, सरकारको पनि साथ चाहिन्छ ।

नेपालमा के कस्ता आयुर्वेदिक उपचार र औषधि पाउन सकिन्छ ?

अहिले एलोपेथिकतिर मात्रै मान्छेको आकर्षण छ, आयुर्वेदतिर बेवास्ता गरिरहेका छन् । तर आयुर्वेदिक उपचार र औषधि नभएको होइन । आयुर्वेदमा यो यो उपचार पाउन सकिन्छ भनेर तोक्नुभन्दा हामीले कोरोना महामारीको समयमा एकदमै राम्रो उपचार गरेका थियौं । कोरोना पोजेटिभ भएर आयुर्वेदिक अस्पतालमा आइसोलेसनमा बसेका बिरामी दुई–तीन दिनमै निको भएर घर फर्किएको रेकर्ड छ । त्यसरी नै अन्य समस्याको पनि उपचार आयुर्वेदमा पाउन सकिन्छ ।

आयुर्वेदिक औषधि कस्तो स्थितिमा प्रयोग गर्न सकिन्छ ? यो वैकल्पिक उपचार विधिमा पर्छ नि होइन ?

निरोगी हुने जीवन पद्धति भनेको आयुर्वेद हो । आयुर्वेदको पद्धति अपनाएर मान्छे निरोगी हुन सक्छ । रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । यो वैकल्पिक विधिमा परेपनि यसले मान्छेलाई विभिन्न स्वास्थ्यलाभ दिइरहेको छ र निरन्तर दिइरहने छ ।

एलोपेथिकसँग यसलाई तुलना गर्न मिल्छ ?

एलोपेथिक र आयुर्वेदलाई एकअर्कोसँग तुलना गर्न मिल्दैन । एलोपेथिक उपचार पद्धतिले  विभिन्न वैज्ञानिक अनुसन्धान गरेको छ । एलोपेथिकको जस्तो अनुसन्धान आयुर्वेदमा भएको छैन । तर आयुर्वेदिक उपचार पद्धतिलाई हजारौं वर्षअघि हाम्रा ऋषिमुनिहरुले अभ्यास  गरेको हुनाले यसको पनि आफ्नै महत्व छ ।

आयुर्वेदिक जडिबुटीको खेती कसरी गर्ने ?

धेरै महत्वपूर्ण जडिबुटी हाम्रो वनजंगलमा पाइन्छन् । तर प्रशोधन गर्ने व्यवस्था छैन । नेपालमा पाइने तथा खेती भएको आयुर्वेदिक औषधि भारत तथा अन्य देशमा प्रशोधन भएर आउँछ । त्यसैले आयुर्वेदिक जडिबुटीलाई मानिसले त्यति महत्व दिएका छैनन् । आयुर्वेद औषधिको खेती नै गर्ने हो भने हाम्रोमा धेरै विज्ञहरु छन् । उनीहरुको सहयोग लिएर खेती गर्न सकिन्छ ।

आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्न सकिन्छ ?

आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन । जसरी एलोपेथिक औषधि सेवन गर्न डाक्टरको सल्लाह जरुरी हुन्छ । त्यसरी नै आयुर्वेदिक औषधि प्रयोग गर्न सिन आयुर्वेद  विज्ञको सल्लाह लिनुपर्छ । आयुर्वेदिक औषधि पनि मात्रा मिलाएर खानुपर्छ नत्र यसले नकारात्मक असर गर्न सक्छ । त्यसैले यसलाई आफूखुसी प्रयोग नगर्नु उचित हुन्छ ।

आयुर्वेदिक औषधि कुनै रोग लागेपछि उपचारका लागि प्रयोग गरिन्छ कि रोग लाग्न नदिनका लागि ?

आयुर्वेदिक ज्ञान सबैभन्दा महत्वपूर्ण औषधि हो । खानपिन आहारविहार आयुर्वेदको ज्ञान हो । यो ज्ञान भयो भने खानपान आहारबिवार व्यवस्थित हुन्छ धेरै रोग लाग्नबाट बच्न सकिन्छ । रोग लाग्न नदिन आयुर्वेद धेरै प्रभावकारी छ लागिहाल्यो भने पनि आयुर्वेदमा उपचार पनि छ ।

आयुर्वेद उपचार केन्द्र छ्यापछ्याप्ती छन् । औषधि पनि जथाभावी पाइन्छ । कति विश्वसनीय र भरपर्दो छन् यी ?

नेपाल सरकारको अनुमति नलिई जथाभावी आयुर्वेद उपचार केन्द्र खोल्न पाइँदैन । औषधि पनि जथाभावी बेच्न पाइँदैन । तर केहीले अनुमति नलिई पनि खोलेको पाइन्छ । यस्तो अवस्थामा बिरामी आफैं सचेत हुनु जरुरी छ । उपचार केन्द्र होस् या औषधि पसल त्यहाँ सरकारले अनुमति दिएको बडापत्र छ कि छैन भनेर जाँच गर्नुपर्छ ।

सरकारबाट स्वीकृति लिएको छ कि छैन, आयुर्वेदिक डाक्टर हो कि औषधि बेच्ने मान्छे मात्र  हो ? लगाएको कुरा बुझेर मात्र त्यहाँ उपचार गर्नुपर्छ वा औषधि खरिद गर्नुपर्छ ।

आयुर्वेदिक उपचार स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय