+

समयमा उपचार पाए फर्किन सक्छ श्रवणशक्ति

२०७९ फागुन  २२ गते ११:४५ २०७९ फागुन २२ गते ११:४५
समयमा उपचार पाए फर्किन सक्छ श्रवणशक्ति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब ४६ करोड ६० लाख मानिसमा सुन्ने क्षमतामा कमी अर्थात् बहिरापनको समस्या छ । नेपालको कुरा गर्ने हो भने कुल जनसंख्याको १७ प्रतिशतमा कुनै न कुनै प्रकारको बहिरोपनको समस्या रहेको छ ।

धेरैलाई त बहिरोपन भएको महसुस नहुन पनि सक्छ । जसकारण बिस्तारै कान ठप्पै नसुन्नेसम्मको समस्या आउन सक्छ । बहिरोपनको समस्या हुनुका विभिन्न कारण छन् । उमेर ढल्केसँगै श्रवणशक्ति कमजोर हुँदै जानु, कानमा संक्रमणपछि पटकपटक कान पाक्नु, चोटपटकले कानको जाली फाट्नु, जन्डिस बिग्रिनु, जन्मजात कान नसुन्ने, कानलाई सिधा असर पार्ने औषधि जस्तै, पिसाब लगाउने औषधि, क्यान्सर, मलेरिया र क्षयरोगको औषधि सेवनले पनि बहिरोपन हुन सक्छ ।

लामो समयसम्म फोनमा कुराकानी गर्ने बानी, चर्को आवाजमा काम गर्ने व्यक्ति र संगीत सुन्ने बानी पनि बहिरोपनको कारण बन्दै गइरहेको छ ।

बहिरोपनको लक्षण

श्रवणशक्तिमा कमी हुनुका प्रारम्भिक लक्षण धेरै स्पष्ट छैनन्, तर श्रवणशक्तिमा कमी आउने क्रम समयसँगै हुँदै जान्छ । सामान्य कुराकानी सुन्न कठिनाइ, कुराकानीमा बारम्बार के भनेको भन्दै सोध्नुपर्ने अवस्था, फोनमा आवाज सुन्नमा कठिनाइ, प्राकृतिक आवाज जस्तै, वर्षा वा चराहरूको चहलपहल सुन्न नसक्नुजस्ता बहिरोपन हुँदै जानुको संकेत हुन् ।

उपचार सम्भव छ ?

धेरैजसो बहिरोपनको समस्या समयमै उपचार गरेमा निको हुन सक्छ । तर जन्मजात कान नसुन्ने बालबालिकाको पाँच वर्षको उमेरभित्र उपचार नभए उनीहरु आजीवन नै कान नसुन्ने हुन सक्छन् । त्यति मात्र नभएर जन्मिंदै कान कम सुन्नेहरुमा बोली समेत नआउने हुन्छ । जसले गर्दा सामाजिक, पारिवारिकदेखि आफ्नो व्यक्तित्व विकासमा समेत प्रभाव पार्छ ।

कान पटक्कै नसुन्ने बालबालिकाको पाँचदेखि ६ वर्षभित्रै उपचार गरिएमा विस्तारै श्रवणशक्ति आउने गर्छ । कानको जालीमा पानी जम्ने समस्या, कानभित्र हड्डी कुहिने समस्या भएका व्यक्तिको औषधि वा शल्यक्रियामार्फत कान सुन्न सक्ने बनाउन सकिन्छ ।

कानको जालीमा प्वाल भएमा कानको कृत्रिम जाली बनाएर उपचार हुन सक्छ । त्यस्तै, भित्री कानको नसा अलिअलि मात्र बिग्रिएको छ भने कानमा हेयरिङ एड (आवाज सुन्ने यन्त्र) प्रयोग गरेर सुन्न सकिन्छ । कानको भित्री कानले काम नगरेकोमा र कान पटक्कै नसुन्नेहरुमा कक्लियर प्रत्यारोपण सेवाबाट उपचार गराउन सम्भव छ ।

कक्लियर प्रत्यारोपण सेवा कुनकुन अस्पतालमा छ ?

देशमा बहिरोपन एउटा प्रमुख समस्या देखिएपनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बाहेक अन्य अस्पतालमा कक्लियर प्रत्यारोपण सेवा सञ्चालनमा छैन । बिस्तारै वीर अस्पतालमा पनि सञ्चालन गर्ने तयारी छ । एउटा मात्र अस्पतालमा सञ्चालन हुनुको प्रमुख कारण भनेको सेवा अत्यन्त महँगो छ । १२ लाख रुपैयाँ पर्ने यो सेवामा ६ लाख सरकारले अनुदान स्वरूप प्रदान गर्छ । तर त्यसबाहेकको बाँकी रकम पनि आमसर्वसाधारणको लागि  खर्चिलो भएकै कारण सो सेवा विस्तार हुनसकेको छैन । सरकारले सो सेवा सर्वसुलभ गरिदिए धेरै अस्पतालमा सञ्चालनमा आउने सम्भावना छ ।

कान सुन्ने हियरिङ मेसिन कति उपयोगी ?

हियरिङ मेसिन विद्युतीय उपकरण हो । जुन कानभित्र वा पछाडि लगाइन्छ । यसले केही आवाज चर्को बनाउँछ ताकि श्रवणशक्ति गुमेको व्यक्तिले सुन्न, सञ्चार गर्न र दैनिक गतिविधिमा पूर्ण रूपमा भाग लिन सकुन् । यसले आवाजलाई भित्री कानसम्म पुर्‍याउन मद्दत गर्छ, जसले गर्दा मानिसलाई शान्त र कोलाहल दुवै अवस्थामा कुनै पनि आवाज सहजै सुन्न सकिन्छ ।

यो मेसिन कान कम सुन्ने व्यक्ति, कानको नसा पहिलादेखि नै कमजोर भएका व्यक्तिको लागि उसको क्षमताअनुसार प्रयोग गर्न दिइन्छ ।

कान परीक्षणपछि श्रवण विशेषज्ञको सल्लाहमा कान सुन्ने क्षमताको आधारमा सेट गरेर मात्र लगाउन सकिन्छ । हियरिङ मेसिन पहिले ठूलो आकारमा आउने गर्थ्यो भने अहिले कानमै अडिने सानो आकारमा पनि आउने गर्छ ।

कसरी बच्ने ?

चर्को ध्वनिमा बस्नुपर्ने व्यक्ति जस्तै, ट्राफिक, प्रहरी, पाइलट, कलकारखानामा काम गर्ने कर्मचारीमा कान सुन्ने क्षमता कमजोर हुने हुँदा वर्षको एकपटक परीक्षण गराउनुपर्छ । मोबाइलको प्रयोग गर्दा लगातार ठूलो आवाज पारेर कुराकानी नगर्ने, गर्ने परेमा आधा घण्टापछि पाँच मिनेटको विश्राम लिने (विश्व स्वास्थ्य संगठनको सुझाव), हेडसेटमा चर्को आवाजमा संगीत नसुन्ने र चर्को आवाज भएको ठाउँमा बस्न परे एयर प्लग लगाएर काम गर्नुपर्छ । कानमा कुनै पनि समस्या देखिएमा जथाभावी औषधि प्रयोग नगरी जाँच गराउनुपर्छ ।

(डा. श्रेष्ठ वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ हुन् ।)

डा. दीपेन्द्र श्रेष्ठ बहिरोपन श्रवणशक्ति
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
लेखक
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २६६१ एमबीबीएस, एमएस, फेलोसिप इन हेड एन नेक अन्कोसर्जरी । वरिष्ठ परामर्शदाता ईएनटी हेड एण्ड नेक सर्जन, ईएनटी विभाग, वीर अस्पतालका पूर्व प्रमुख, प्रमुख परामर्शदाता राष्ट्रिय ईएनटी सेन्टर । अध्यक्ष, सोसाइटी अफ ईएनटी सर्जन अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय