+
+

राजपूरा : पुलिस बनेर सपना भेटिन्, खेलाडी बनेर सफलता

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ फागुन २७ गते १९:४५

२७ फागुन, काठमाडौं । जुम्लाको सिंजा क्षेत्रमा जन्मिएकी राजपूरा पछाई बुझ्ने भएदेखि नै फौजी बन्ने सपना जप्न थालेकी थिइन् । सशस्त्र द्वन्द्वले सबैभन्दा प्रभाव पारेको कर्णालीको सामान्य परिवारमा हुर्किएकी उनलाई पुलिसको बर्दीले आकर्षित गरेको थियो ।

एथलेटिक्समा लामो दूरीकी प्रतिभावान खेलाडीको पहिचान बनाउन उनको पुलिस बन्ने सपनाले मुख्य भूमिका खेलेको छ । पुलिसबन्ने तयारीमा सानैदेखि दौडिन थालेकी राजपूरालाई त्यही तयारीले खेलाडी बनायो । पुलिसले नै उनलाई खेलाडीका रुपमा पहिचान र सफलता दुवै दियो ।

‘मैले दौड पनि खेल हो भनेर धेरै पछिमात्र थाहा पाएको हो । पुलिसको ड्रेस लगाउने रहर चाहीँ सानै उमेरदेखि थियो । पुलिसमा भर्ना हुने उमेर नहुँदा पनि दौडको तयारी गरेकी थिएँ,’ राजपूरा भन्छिन् ।

हालै सम्पन्न १६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय रहृयो । दुई स्वर्ण, ४ रजत र २ कांस्य जितेर नेपालले घरेलु भूमिमा २२ वर्षपछि आयोजना भएको प्रतियोगितालाई सफल बनाएको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा मंगलबार सम्पन्न प्रतियोगितामा राजपूराले महिला सिनियरको एकलतर्फ रजत र टिम स्पर्धामा पुष्पा भण्डारी तथा विन्द्रा धानके श्रेष्ठसँग मिलेर रजत पदक जित्नु करिअरकै सबैभन्दा ठूलो उपलब्धि हो ।

आसन्न १९औं एसियाली खेलकुदको तयारीमा रहेकी राजपूरा घरेलु प्रतियोगितामा नेपाल पुलिसको प्रतिनिधित्व गर्छिन् । जुम्लाको सिंजामा हुर्किएकी उनलाई क्रसकन्ट्रको उकालो ओरालो ट्रेल छिचोल्न धेरै कठिन भएन । जम्माजम्मी १ साताको तयारीमा नेपाललाई एशियालीस्तरको रजत पदक दिलाउन पाएकोमा राजपुरा दंग छिन् । जापानकी युआ सासुमिदासँग करिब ३ मिनेटले पछि परेकी राजपूराले ४१ मिनेट ३१ सेकेण्डको टाइमिङ निकालिन् । कांस्य विजेता भारतकी सोनियालाई एक सेकेण्डले पछि पारिन् ।

‘जापानी खेलाडी ट्र्याकमा पनि हामीभन्दा धेरै राम्रो टाइमिङमा दौडिन्छिन्,’ २५ वर्षीया राजपूराले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु । राम्रो तयारी गर्न पाएको भए टाइमिङ अझै राम्रो हुने थियो ।’

आफ्नै भूमिमा एसियालीस्तरको प्रतियोगिता आयोजना गर्न पाउनुलाई गर्व मानेको नेपाल एथलेटिक्स संघले नेपाल टिमको छनोट भने प्रतियोगिताको १३ दिनअघि मात्र गरेको थियो । त्यो पनि ट्रयाकमा । एक साताको तयारीमा नेपालले प्रतियोगिता खेलेको हो ।

नेपालको भौगोलिक परिवेशमा हुर्किएका खेलाडीका लागि उकालो ओरालो र समथल ट्रेलमा हुने क्रसकन्ट्री दौड प्रतिस्पर्धा ट्र्याकको तुलनामा सहज विधा हो । त्यसैलाई पुरुषतर्फ दुई स्वर्ण जित्ने धादिङका दीपक अधिकारी र महिलातर्फ दुई रजत जितेकी राजपूराले उपयोग गरे । किनभने उनीहरुको हुर्काई नै उकालो ओरालोमा अभ्यस्त हुँदै भएको हो ।

गत वर्ष फागुनमा भारतको नागाल्याण्डमा सम्पन्न दक्षिण एसियाली क्रसकन्ट्रीमा रजत जितेकी राजपूराले यसपल्ट एसियाली धावकहरुलाई नै माथ दिइन् । जुम्लाको कनकासुन्दरी नगरपालिका, सिंजामा विकट पहाडी भूमिमा हुर्किएकोमात्र होइन अल्ट्रा दौडको पनि अनुभवले राजपूरालाई यसपल्ट फइदा भएको हो ।

‘मसँग अल्ट्रा दौडको पनि अनुभव भएकाले क्रसकन्ट्री दौडन सजिलो हुन्छ । यसपालि रुट त गाह्रो थियो तर, हरेस खाइनँ,’ नवौं राष्ट्रिय खेलकुदमा गत कात्तिकमा १० हजार र ५ हजार मिटरमा रजत जितेकी राजपूरा भन्छिन् ।

गलामा एसियालीस्तरका दुई रजत पदक भिर्न पाउनुको सन्तुष्टिका पछाडि ठूलो संघर्ष लुकेको छ । सानै उमेरमा भविष्यको खोजीमा परिवार छाडेर गरेको दुःखलाई अहिले हरेक सफलताले बिर्साउन थालेको छ । राजपूरा नेपाली एथलेटिक्समा लामो दूरीकी परिपक्व र स्थापित खेलाडी बनिसकेकी छन् ।

‘पुलिस बन्न दौडिएको खेलाडी पनि भएँ’

उनी पुलिस बन्ने ध्यानमा थिइन् तर, क्षमताले अर्कैतिर धकेलिरहेको थियो । कालान्तरमा उनी पुलिस बनिन् । पुलिसले खेलाडीको पहिचान दियो, सफलताको साधक बनिदियो । ७ कक्षामै हुँदा राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगितामा सिनियर दिदीहरुलाई हराएपछि उनी खेलाडी बनेकी हुन् । जिल्ला, क्षेत्र -तत्कालीन) हुँदै २०७१ सालमा पोखरामा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्डमा राजपूराले १५ सय र ५ हजार मिटरमा रजत जितिन् ।

स्कुल सकिएपछि उनको पुलिसमा भर्ती हुने सपनाले मूर्त रुप लियो । खुल्ला छनोटबाट पुलिसमा पुगेकी उनी तालिम सकिएलगत्तै खेलकुद क्लबमा आएकी हुन् । नेपाल पुलिस क्लबबाट सुरु भएको उनको करिअर आधा दशकभन्दा बढी भएको छ । एकपछि अर्को सफलताको यात्रामा छिन् ।

पुलिसको तालिम सक्नेवित्तिकै सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल पुगेकी उनले विना प्रशिक्षण १० हजार मिटरमा चौथो भइन् । २०७६ मा आठौं राष्ट्रिय खेलकुदमा २२ वर्षको उमेरमै म्याराथनमा स्वर्ण जितेर आफूलाई प्रमाणित गरिन् । सोही संस्करणमा १० हजार मिटरतर्फ रजत जितिन् ।

पछिल्लो समय लामो दूरीमा ५ हजार, १० हजार र हाफ म्याराथनमा निकै नै ब्यस्त धावक हुन् राजपूरा । गत कात्तिकमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा ५ र १० हजार मिटरमा रजत जितेकी उनले त्यसपछि बंगबन्धु ढाका हाफ म्याराथनमा सहभागिता जनाइन् । प्रधानसेनापति म्याराथन -२८ माघ) र पोखरा म्याराथन -६ फागुन)को हाफ म्याराथन विधामा उपाधि जितिन् । ९ फागुनमा भएको एसियन क्रसकन्ट्रीका लागि छनोट प्रतियोगिताको उपाधि जिति्न । १३ फागुनमा धरान रनको उपाधि जितेपछि उनले क्रसकन्ट्रीको तयारी थालेकी हुन् ।

राजपूरा लामो दूरीका लागि एक उत्कृष्ट प्रतिभा हुन् । खेलाडीका रुपमा सफलता हासिल गरेसँगै उनका आकांक्षा पनि थपिएका छन् । अर्को वर्ष भदौमा चीनमा हुने एसियाली खेलकुदमा सहभागिता उनको आसन्न लक्ष्य हो । गत असारमा भएको छनोट प्रतियोगितामा उनले ५ हजार मिटरतर्फ उपाधि जितेर राष्ट्रिउय टिममा परेकी थिइन् । राष्ट्रिय खेलकुद परिषदले छिट्टै एसियाली खेलकुदका लागि विशेष तयारी सुरु गर्न लागेको छ ।

‘राम्रो अभ्यास, तयारी र स्तरीय प्रशिक्षण भएको खण्डमा अझै राम्रो गर्न सक्छुजस्तो लाग्छ,’ ५ हजार र १० हजार मिटरमा आफूलाई सहज मान्ने राजपूरा भन्छिन् ।

आफ्नो विधामा राजपूराको व्यक्तिगत उत्कृष्ट टाइमिङ

५ हजार मिटरः १७ मिनेट ५ सेकेण्ड (एसियाड छनोट २०७९)
१० हजार मिटरः ३६ मिनेट २२ सेकेण्ड (नवौं राष्ट्रिय खेलकुद- २०७९)
हाफ म्याराथनः १ घण्टा १६ मिनेट ४८ सेकेण्ड (बंगबन्धु हाफ म्याराथन- २०२३)
म्याराथनः २ घण्टा ५६ मिनेट (होक्काइदो म्याराथन, जापान- २०१९) (तत्कालीन राष्ट्रिय कीर्तिमान)

 

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?