२७ जेठ, काठमाडौं । सुशील केडिया विश्व भारती स्कुल (डीएभी) ले लगातार दोस्रोपटक एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतीमा ७ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै डीएभीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस स्कुलले ७५ हजार रुपैयाँमा चित्त बुझायो । डीएभीले दोस्रो संस्करणको पनि उपाधि जितेको थियो ।
पुलिस स्कुलले दिएको १०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
त्यसपछि बुधबार खेललाई १२ ओभरमा झार्दै डीएलएस विधिअनुसार डीएभीलाई ७० रनको लक्ष्य दिइएको थियो । डीएभीले १०.५ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो।
डीएभीको जितमा आरुष झाले ३० बलमा ३ चौकासहित अविजित २६ रन बनाए । बिराज जैसवालले २३ बलमा २२ रन जोडे भने प्रसिद्ध जैशीले ६ रन बनाए । सत्यम बस्नेत २ रनमा आउट हुँदा कमल शाही ३ रनमा अविजित रहे । कमल शाही ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।
पुलिस स्कुलका प्रियान्शुकिशोर राउत र सुनिल ठाकुरले समान १–१ विकेट लिए ।
त्यसअघि मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । पुलिसका मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।
डीएभीका कमल शाहीले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए। कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २/२ विकेट हात पारे ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो। पहिलो संस्करणमा १८ तथा दोस्रोमा २१ टिमको सहभागिता रहेको थियो ।
यस्तै, प्रतियोगिताको उदीयमान खेलाडी जेम्स स्कुलका स्वराज चौलागाईं घोषित भए । उनले प्रतियोगिताभर १०३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए। उनले नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट विशेष उपहार प्राप्त गरे ।
सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य उत्कृष्ट ब्याटर घोषित भए। उनले ४ खेलमा २३९ रन बनाएका थिए । नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट ब्याट तथा ‘डार्क फेन्टासी’को तर्फबाट विशेष उपहार प्राप्त गरे ।
डीएभीका कुञ्जन आचार्य १३ विकेटसहित उत्कृष्ट बलर घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डीएभीका प्रसिद्ध जैशी घोषित भए । उनले प्रतियोगिताभर २७३ रन बनाउनुका साथै ७ विकेट लिँदै टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले । उनले नगद १० हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट क्रिकेट किट ब्याग प्राप्त गरे। विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक उपहार प्रदान गरिएको थियो ।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालिकी निर्देशक मीना लिम्बुत्रिपाठीको उपस्थिति रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का विशेष अतिथि तथा ई–सेवाका ब्रान्ड अफिसर बिमोम डंगोललगायत विशिष्ट अतिथिहरूको कार्यक्रममा सहभागिता रहेको थियो । समारोहको अध्यक्षता काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि त्रिपाठीले प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि प्रायोजनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले सहभागी सबै टोली, खेलाडी, प्रशिक्षक तथा अभिभावकलाई बधाई तथा धन्यवादसमेत व्यक्त गरिन् ।
यस्तै, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले प्रतियोगिताको सफल आयोजनामा सहयोग पुर्याउने मुख्य प्रायोजक, सहयोगी संस्था, अफिसियल तथा सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्दै विद्यालयस्तरको क्रिकेट विकासका लागि यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4