+

मांसपेशी जति चलाएन त्यति सुक्दै जान्छ

२०७९ चैत  १ गते २०:०१ २०७९ चैत १ गते २०:०१
मांसपेशी जति चलाएन त्यति सुक्दै जान्छ

एकपटक सोच्नुहोस् त, शरीरमा मांसपेशी नहुँदो हो त के हुन्थ्यो ? शरीरमा अस्थिपञ्जर र छाला मात्र बाँकी रहन्थ्यो ।

शरीर संरचनामा मांसपेशीको खास उपस्थिति छ । शरीरमा करिब ४०-५० प्रतिशत भाग मांसपेशीले ढाकेको हुन्छ । शरीरलाई आकर्षक देखाउन मात्र नभई चलायमान राख्न मांसपेशीको भूमिका हुन्छ ।

शरीरको संरचनाका लागि महत्वपूर्ण मांसपेशीको अनेकौं कार्य छन्, जसले शरीर स्वस्थ र बलियो बनाउन प्रमुख भूमिका खेल्छ । शरीरलाई शक्ति, सन्तुलन, मुद्राचाल र न्यानोपन प्रदान गर्छ । मांसपेशी बिना शरीर चलाउन सम्भव हुँदैन । शरीर विज्ञानले मांसपेशीलाई तीन भागमा बाँडेका छन् ।

अस्थिपञ्जर मांसपेशी

अस्थिपञ्जर मांसपेशी ती विशेष तन्तु हो जसले हाड र जोर्नीलाई जोड्ने मद्दत गर्नुका साथै कुनै पनि कार्य गर्न जोर्नीहरु चलाउन मद्दत गर्छ । अस्थिपञ्जर मांसपेशी र हड्डीहरूलाई मस्कुलोस्केलेटल प्रणाली (लोकोमोटर प्रणाली) पनि भनिन्छ । मांसपेशीको लचकताले नै जोर्नीहरु चल्ने गर्छ ।  यी मांसपेशी मानिसको चेतनाअनुसार नियन्त्रणमा हुन्छन् ।

चिल्लो मांसपेशी

चिल्लो मांसपेशी रक्तधमिनीहरुमा हुन्छन् । यसले हड्डीहरुको वनावटलाई एकै स्थानमा राख्न सपोर्ट सिस्टमको रुपमा काम गर्छ । यो पाचनतन्त्र, गर्भाशय र रक्तवाहिनी नलीजस्तै धमनी सहित विभिन्न आन्तरिक संरचनामा अवस्थित छ ।

कार्डियाक मांसपेशी

मुटुमा हुने कार्डियाक मांसपेशीले मुटुलाई चलायमान राख्छ । साथै रगत पम्प गर्न र सुरक्षा प्रदान पनि कार्डियाक मांसपेशीको भूमिका उत्तिकै हुन्छ ।

मांसपेशी कसैको कमजोर वा बलियो हुने स्थिति रहन्छ ?

आहारको कमी, विभिन्न औषधिको अत्यधिक प्रयोग, लामो समयदेखि बेड रेस्ट गरेका बिरामी, दैनिक क्रियाकलापमा कमी आउँदा मांसपेशी कमजोर हुँदै जान्छ । जति बढी मांसपेशी चलाउन सक्यो त्यति बलियो हुँदै आउँछ । र, त्यससँगै पौष्टिक आहार पर्याप्त मात्रामा शरीरले ग्रहण गरेको छ भने पनि मांसपेशीलाई फाइदा मिल्छ ।

कमजोर हुने मुख्य कारण

मांसपेशी कमजोरी हुनु भनेको शरीरको शक्ति कम हुनु हो । यसका प्रमुख कारणहरु कुपोषण, मायोप्याथी (मांसपेशी कमजोर बनाउने रोगहरु), न्युरोप्याथी रोग (शरीरमा हुने स्नायुहरू चोटपटकबाट हुने क्षति), वंशाणुगत कारण र दैनिक काम गर्न नसक्ने बिरामीमा पनि मांसपेशी चल्न नपाउँदा पछि बिस्तारै सुक्दै जान्छ । मस्तिष्क, स्नायु प्रणालीमा चोटपटक लाग्दा वा त्यससँग सम्बन्धित रोगबाट प्रभावित छन् भने मांसपेशी सामान्य रूपमा संकुचित हुन नसक्नुका साथै मांसपेशी कमजोर हुन सक्छ ।

मांसपेशी च्यातिने समस्या

मांसपेशी च्यातिने समस्या प्रायः चोटपटक, मांसपेशी तन्किदा वा शरीरले थेग्न सक्ने भन्दा बढी भार उठाउँदा, बढ्दो उमेरमा हल्का काम गर्दा पनि मांसपेशी तन्केर च्यातिने सम्भावना हुन्छ । दीर्घरोगका बिरामीले प्रयोग गर्ने एन्टीबायोटिक औषधि खाँदा मांसपेशी कमजोर हुने भएकाले सानो चोटपटकले पनि मासु च्यातिन्छ । गोलीगाँठो पछाडिको भाग टेन्डेन्ट (मासुलाई हड्डीमा लगेर जोड्ने भाग)को वरपर सुई लगाएको छ भने मधुमेह र थाइराइड छ भने मांसपेशी कमजोर हुँदै च्यातिने सम्भावना बढी हुन्छ । मांसपेशी च्यातिने  प्रायःतल्लो ढाड, घुँडा, घाँटी, काँध र ह्यामस्ट्रिङमा हुन्छ ।

उपचार

मांसपेशी च्यातिएको अवस्था हेरेर उपचार गर्नुपर्छ । मांसपेशीको थोरै भाग मात्र च्यातिएको छ भने आराम गरेर, सुन्निएको बस्ने र नदुख्ने औषधि खाएर केही अवधिपछि फिजियोथेरापी गर्दा पनि ठीक हुन सक्छ । तर धेरैजसोमा मांसपेशी च्यातिएको भागमा नसा परेको हुन सक्छ, त्यसलाई शल्यक्रिया नै गर्नुपर्छ । शल्यक्रियापछि दुई साताजति आराम गरेपछि तीन देखि ६ महिनाको अवधिसम्म फिजियोथेरापी गर्नुपर्छ । तर यदि बढ्दो उमेरको कारण च्यातिएको छ भने शल्यक्रिया गर्न जोड दिइँदैन । शारीरिक रुपमा अशक्त भएर दैनिक काम गर्न नसकेर सुकेको मांसपेशीको भने फिजियोथेरापीबाट ठीक हुन्छ ।

मांसपेशीलाई बढाउने र बलियो बनाउने उपाय

जति मांसपेशी चलायमान राख्यो त्यति बलियो हुने हुँदा दैनिक व्यायाम गर्नु आवश्यक छ ।  खेलाडीहरुले खेल खेल्नुअघि एकछिन हल्का वार्मअप गरेर मात्र कुनै खेल खेल्नुपर्छ । त्यस्तै,  मदिरा सेवन नगर्ने, अनावश्यक औषधि नखाने, रोग लाग्नबाट बच्ने, शरीरले उठाउन सक्ने भन्दा बढी तौल उठाउन बल नगर्ने र दुखाइ कम गर्न नसा र टेन्डेन्टको वरपर नलगाउने,  शारीरिक व्यायाम गर्ने, शरीरलाई सन्तुलनमा राख्ने, बजारमा पाइने प्रोटिन सकेसम्म नखाने, सामान्य व्यक्तिले माछामासु, दूध, दही, घिउ, पनिर जस्ता प्रोटिनयुक्त खानेकुरा, भिटामिन, क्याल्सियमयुक्त खानेकुरा आहारमा खाँदा मांसपेशी बढ्नुका साथै बढ्ने गर्छ ।

(प्रा. डा. शेरचन वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । उनी ट्रमा सेन्टरमा कार्यरत् छन् ।)

मांसपेशी
डा. विनोद शेरचन
लेखक
डा. विनोद शेरचन
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३३९७ अध्ययन : एमबीबीएस, एमएस (अर्थोपेडिक्स), अर्थोस्कोपी स्पोर्ट्स इन्ज्युरी तथा अर्थोप्लास्टिमा फेलोसिप हाल काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभागीय प्रमुख र प्राध्यापक रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय