+
+
निफमा फिल्म नीतिको बहस :

‘फिल्मलाई सफ्टपावरभन्दा हिरो-हिरोइन नचाउने काममा सीमित गरियो’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ११:४८

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो दिन ‘चलचित्र नीति : नीति मात्र कि व्यवहार’ विषयमा बहस भएको छ । वरिष्ठ फिल्मकर्मी यादव खरेल नेतृत्वको समितिले तयार पारेको फिल्म नीति कार्यान्वयनमा आउन नसकेको पृष्ठभूमिमा निफले यो विषयमा छलफल चलाएको हो ।

यो प्यानल छलफलमा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल र पत्रकार बबिता बस्नेतले भाग लिए । सत्रको संयोजकमा फिल्मकर्मी सचिन घिमिरे थिए । बोर्डका सदस्यसचिव महतले चलचित्र नीति पास भएपनि ऐन बन्न नसकेकाले २०२६ सालकै ऐनामा रहेर काम गर्नुपरेको बाध्यता सुनाए ।

उनले भने, ‘चलचित्र नीति कसरी कार्यान्वयन भएको छ भन्ने कुरामा धेरै प्रश्न छ । ऐन बन्न नसकेकाले हामी पुरानै ऐन (२०२६ सालको) मा काम गरिरहेका छौं । चलचित्र नीति पास भयो । तर व्यावहारिक रुपमा यस्तो महत्व कसरी स्थापित भयो भन्ने कुरा चाहिं महत्वपूर्ण हो । नयाँ ऐन आएपछि मात्रै हामीले सोचेजस्तो काम हुन्छ ।’ बोर्ड यतिबेला मौलिक फिल्मको निर्माण र कलाकारको विकासमा केन्द्रित भएको उनले जनाए ।

एनटीभीका महाप्रबन्धक बलले राम्रो नीति बनेपनि यसको कार्यान्वयन हुने गरेको यथार्थ सुनाए । ‘चलचित्र निर्माण सुरु भएको ५० वर्षपछि आएको नीति पनि त्यसै थन्किएको छ । हामी २०२६ सालमा बनेको चलचित्र ऐनलाई आधार मानेर काम गरिरहेका छौं । अर्थात् हामी पञ्चायतकालीन नीतिमा चलचित्र क्षेत्र चलाइरहेका छौं,’ उनले भने ।

तयार भएको चलचित्र नीतिमाथि ऐन नै बन्न नसकेको भन्दै उनले नेपाली चलचित्र क्षेत्रको सत्तापक्ष र प्रतिपक्ष को हो भन्ने नीतिगत अस्पष्टता देखिएको तर्क गरे । फिल्म सफ्टपावरको रुपमा भन्दा पनि हिरो, हिरोइन नाच्ने, हँसाउने र मनोरञ्जन गराउनेमा सीमित बनाएर बुझेका छौं,’ उनले भने ।

पत्रकार बस्नेतले चलचित्र नीति राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताइन् । ‘नीति राम्रो छ । उल्लेखित विषयमा धेरै समस्या छैन । कतिपय छुटेका पनि होलान् । तर यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ,’ उनले भनिन् । चलचित्र क्षेत्रको चर्चा हुनुपर्ने ठाउँमा नभएको भन्दै उनले दुःख व्यक्त गरिन् ।

‘हुनुपर्ने ठाउँमा चलचित्र क्षेत्रको चर्चा भएको छैन । एउटा तहमा हुनुपर्ने हुन्छ,’ बस्नेतले अगाडि भनिन्, ‘चर्चा, परिचर्चा र अन्तरक्रिया पटक्कै छैन । अर्थात् चलचित्र क्षेत्रलाई महत्व दिइएको छैन ।’ चलचित्रलाई पाठ्यक्रममा नराखिएकाले यसका बारेमा विद्यार्थी अनविज्ञ रहेको उनले बताइन् ।

‘जस्तो बच्चादेखि नै हामी धेरै साहित्यकारलाई चिन्थ्यौं र चिन्छौं । यसको कारण पाठ्यक्रममा राखिएर पनि हो । फिचर चलचित्रको सेन्सर हुन्छ तर सिरियल र युट्युबका कन्टेन्टको हुँदैन । सेन्सर हुन जरुरी छ । यो पनि कानुनको अभावमा भएको हो’ उनले भनिन् ।

निफ आज सकिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?