+
+

दुर्गा प्रसाईंका वितण्डाको असर खेप्दैछ बैंकिङ प्रणाली

राजनीतिको आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका दुर्गा प्रसाईका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलँदो छ ।

विजय पराजुली विजय पराजुली
२०७९ चैत ६ गते २०:०६

६ चैत, काठमाडौं । राजनीतिको आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका दुर्गा प्रसाईका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलँदो छ ।

यिनै दुर्गा प्रसाईंले १ फागुनमा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए, ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुहोस् ।’

उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे । ‘ती कर्मचारीलाई कालोमोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो’, उनले धम्की दिएका थिए ।

त्यसयता नागरिक बचाउ अभियानको नाममा उनले देशभरि बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै ऋण असुल गर्ने कर्मचारीलाई आक्रमण गर्ने, उत्तेजित पार्ने भाषण गर्दै आएका छन् ।

ब्याज, किस्ता उठाउन आउने कर्मचारीलाई तह लगाउन भनेर यो दस्ता बनाएका प्रसाईं ऋण तिर्न नसकिरहेका सर्वसाधारणलाई भड्काइरहेका छन् । कुटपिट र हिंसा भड्काएर ऋण मिनाह हुन्छ भन्दै भ्रमित बनाइरहेका प्रसाईंको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा २४ फागुनमा चितवनबाट पक्राउ परेका छन् ।

उनको उक्त अभियान सुरु भएको १६ दिन जाजरकोटमा एउटा अप्रिय घटना भयो । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई किस्ता असुल गर्न जाँदा कालोमोसो दलिएको थियो । साथै कर्मचारीको साथमा रहेको किस्ता असुल गरेको रकम समेत लुटेर कालोमोसो दल्ने व्यक्ति त्यहाँबाट भागे । त्यसको १६ दिनपछि २ चैतमा म्यादीबाट पर्वतको जलजला गाउँपालिकामा किस्ता असुल गर्न एनआईसी एशिया बैंकका कर्मचारीमथि सांघातिक हमला भएको छ ।

आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एशिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एक जनामाथि दुर्व्यवहार भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसूदन न्यौपानेका अनुसार घटनामा संलग्न पर्वतको जलजला गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

सुुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पनि १८ फागुनमा बैंकको शाखा कार्यालय अगाडि प्रदर्शन गर्दै ‘नो डिपोजिट’ अभियान चलाइएको थियो भने भोलिपल्ट मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए । एक दिनको लागि बैंक ‘नो डिपोजिट’ अभियान चलाए पनि उक्त आन्दोलन अनियन्त्रित बन्दै गएको कैलाली उद्योग वाणिज्य महासंघका एक सदस्यले बताए ।

चितवनको कालोमोसो दस्ता

यस्तै मकवानपुर उद्योग वाणिज्य संघले बैंक बन्द गर्न आह्वान गरे पनि ३० फागुनमा हेटौंडामा कुमारी बैंकले शाखा खोलेको अवस्थामा बैंकका कर्मचारी र सेवाग्राहीमाथि धरपकड भएको भन्दै बैंक सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले विज्ञप्ति जारी गर्दै त्यसको भर्त्सना गरेको छ ।

३० फागुनमै व्यवसायीको एउटा टोली राष्ट्र बैंकलाई दबाव दिन भन्दै विभिन्न नारासहितको ब्यानर र प्लेकार्ड सहित राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार नजिकै टंगालमा भेला भएको थियो । जहाँ नेपाल उद्योग वाणिज्य महासंघका आगामी नेतृत्वका आकांक्षीहरू अगाडि लागेर बसेका थिए ।

त्यसै दिन राजधानीको माइतीघर मण्डलमा मिटरब्याज र लघुवित्तको अन्धाधुन्ध ऋण लगानीका कारण ऋणको पासोमा परेका पीडित निमुखा नागरिक भेला भएका थिए । देशभरबाट काखमा बच्चा च्यापेर काठमाडौंमा आएको पीडितको कार्यक्रम हाइज्याक गर्न पनि उनै विवादास्पद व्यवसायी प्रसाईं पुगे । ऋण तिर्न नसकेर पीडामा परेको पीडितको आशा थियो, राजधानीमा धर्ना दिँदा राज्यले लघुवित्तको ऋण तिर्नको लागि केही समय देला र ब्याजदरमा केही सहुलियत पाइएला ।

यता मिटरब्याजको पासोमा परेकाको आशा थियो, राज्यले मिटरब्याजको चंगुलबाट उम्काउला । तर उनीहरूको धर्नामा हाइज्याक गर्दै तिनै प्रसाईंले पुरानै शैलीमा बैंक कब्जा गर्न र कर्मचारीलाई कुट्न उक्साए । बैंकको ब्याज मिनाहा नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले चुनौती दिए, ‘यहाँ छन् सर्वहारा हेर्न आउनुहोस् !’

शुक्रबार नेपाल बैंकर्स संघ सहित बैंक तथा वित्तीय संस्था सम्बद्ध ४ वटै छाता संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथिको सांघातिक आक्रमण नरोकिए बैंकिङ सेवा नै अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ ।

जाजरकोट, मकवानपुर र पर्वतमा मात्रै नभएर सुनसरी, उदयपुर, कपिलवस्तु, रूपन्देही, कास्की लगायत क्षेत्रमा भएको धरपकड र तालाबन्दी जस्ता गतिविधि बढ्दै गएको भन्दै उनीहरूले दोषीमाथि कारबाही र कर्मचारीको सुरक्षाको माग गरेका छन् । अन्यथा कर्मचारी असुरक्षित भए बैंकिङ सेवा नै अवरुद्ध हुनसक्ने चेतावनी बैंकरहरूले विज्ञप्तिमार्फत दिएका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी वित्तीय क्षेत्रमाथि अराजक गतिविधि हुन लागेको बताउँछन् । कुनै कुरामा समस्या छ भने छलफल गर्न सकिने र आफ्ना मागहरू राख्न सक्ने भए पनि बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण हुनु भनेको अराजकता भएको उनले बताए ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसी

‘ऋण लगानी गरेपछि किस्ता असुल गर्ने कर्मचारीको काम हो । त्यसमा अवरोध गर्दा भोलिको दिनमा वित्तीय सेवा दिने कि नदिने भन्ने प्रश्न आउँछ’, उनले भने, ‘आज कर्जा रिकभरी गर्दा आक्रमण भइरहेको छ भने भोलि सेवा दिँदा पनि हुनसक्छ । यसले वित्तीय क्षेत्रमा मात्रै नभई समग्र अर्थतन्त्रको व्यवसायिक वातावरण नै बिग्रन जान्छ ।’

वित्तीय क्षेत्रमाथि भएको सांघातिक आक्रमणले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालमा व्यवसायिक वातावरण छैन भन्ने सन्देश गइरहेको उनले बताए । ‘यसले भोलिको दिनमा नेपालमा विदेशी लगानी अथवा ऋण ल्याउन ठूलो प्रश्न सिर्जना हुन्छ । यो वित्तीय क्षेत्रको मात्रै कुरा होइन’ अध्यक्ष केसीले भने, ‘नेपालमा बैंक तथा वित्तीय संस्था नै सुरक्षित छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाँदा त्यसले नेपालमा लगानीको वातावरणका लागि नकारात्मक सन्देश दिन्छ । अहिले बैंकमाथि आक्रमण हुँदैछ भोलि अन्य व्यवसायमाथि पनि हुनसक्ने भयो । लगानीकर्ताले लगानी सुरक्षित देख्दैन भने नेपालमा किन लगानी गर्छ ?’

वित्तीय क्षेत्र संवेदनशील रहेको र वित्तीय क्षेत्रको सुरक्षा देशकै प्रतिष्ठाको विषय भएको उनले बताए । ‘कर्जा लिएपछि कर्जा असुल गर्न आउने बैंकका कर्मचारीमाथि हातपात गर्ने भनेको गम्भीर विषय हो । यसलाई तत्काल रोक्नुपर्छ’ उनले भने, ‘ऋण नतिरेपछि किन आएन भनेर नियमअनुसार फलोअप गर्ने काम बैंकका कर्मचारीको हो । कर्जा दिएपछि समयमा किस्ता असुल हुनसकेन भने त्यसले अर्को समस्या सिर्जना हुन्छ । त्यही किसिमको निर्देशन बैंकका कर्मचारीलाई हुन्छ ।’

सभ्य समाजमा ऋण नतिर्ने, उल्टै आक्रमण गर्ने हुँदैन

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट वित्तीय क्षेत्रमाथि अस्वाभाविक घटना घटेको बताउँछन् । सभ्य समाजमा बैंकको ऋण नतिर्ने र ऋण असुल गर्न जाँदा बैंकका कर्मचारीमाथि आक्रमण गर्ने जस्ता काम नहुने उनी बताउँछन् । यसले आज आम मान्छेलाई समस्यामा पार्ने र भोलि व्यवसायिक जगतलाई नै समस्या निम्त्याउने उनको तर्क छ ।

‘बैंक भने वचतकर्ता र ऋणीबीचको मध्यस्थकर्ताको काम गर्ने संस्था हो । बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण हुँदा त्यसले कर्मचारीको मनोबल खस्किन्छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा बैंकिङ क्षेत्रमा जुन किसिमको समस्या आएका छन् त्यस्तो समस्या हाम्रोमा छैन र हाम्रो बैंकिङ प्रणाली आज पनि बलियो छन् भनिरहेका छौं । तर, बैंकको ऋण नतिर्ने र कर्मचारीमाथि आक्रमण गर्ने कार्य हुनुहुँदैन । यस्तो क्रियाकलापले बैंकिङ क्षेत्रमा थप समस्या आयो भने यसले सबैलाई समस्यामा पार्छ ।’

बचतकर्ता र ऋणी सबै अर्थतन्त्रका अवयव भएको भन्दै यसले भोलि सबै सरोकारवालालाई समस्या पार्ने उनले बताए । ‘आज वित्तीय क्षेत्रको वातावरण बिगार्ने र बिगार्न उक्साउने भन्दा पनि कसरी वातावरणलाई साम्य पार्दै नियन्त्रणमा लिने भन्ने कुरामा सबै लाग्नुपर्छ’, उनले भने ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?