 
																						८ चैत, काठमाडौं । नेपालमा शरण लिइरहेका तिब्बती शरणार्थीहरुले नेपाली नागरिकता बनाएको पाइएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले चलाएको एक महिना लामो अपरेशनमा तिब्बती शरणार्थीलाई नेपाली नागरिका बनाइदिने गिरोहमा संलग्न ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सक्रिय लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, प्रशासनस्थित क्यान्टिनका सञ्चालक विजय लामाका साथै न्युल्केश श्रेष्ठ, हिरालाल शिवकोटी र तिब्बती शरणार्थी लोप्साङ ठिन्ले छन् ।
श्रेष्ठ, नेपाली नागरिकता बनाउने तिब्बती शरणार्थी ठिन्लेका नक्कली बाबु हुन् भने शिवाकोटीले वडा र स्कुलको कागजात बनाइदिएका थिए । पक्राउ परेका व्यक्तिहरुविरुद्ध नागरिकता ऐन र लिखतसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको नेपाल प्रहरीका एसपी सोमेन्द्रसिंह राठौर बताउँछन् ।
क्यान्टिनमा सेटिङ, १० हजार नक्कली बाबु
पक्राउ परेकामध्ये ठिन्ले तनहुँको शुक्लागण्डकी नगरपालिका–८, दुलेगौंडास्थित शरणार्थी क्याम्पमा बसोवास गर्दै आएका तिब्बती हुन् । उनीसहित सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्स शेर्पा लगायतको नागरिकता यो गिरोहले बनाइदिएको प्रहरीको आशंका छ ।
तर, प्रहरी अधिकृतहरुका अनुसार तिब्बतीलाई नागरिकता दिइएको प्रकरणको अनुसन्धान ठिन्लेले नागरिकता पाएको खुलेपछि सुरु भएको भने होइन ।
उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार अनलाइन ठगीमा समातिएका एक जना तिब्बती नागरिकमाथि सोधपुछ गर्ने क्रममा नक्कली कागजातका आधारमा नागरिकता वितरण गर्ने गिरोह समातिएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार एक महिनाअघि समातिएका ती तिब्बती नागरिकको साथमा नेपाली नागरिकताको प्रतिलिपि भेटिएको थियो । ‘बयान लिने क्रममा उनले एक जना व्यक्तिमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता बनाएको खुलाए’, ती अधिकृत भन्छन्, ‘सुरुमा तिब्बती नागरिकले नागरिकता बनाए भन्ने विश्वासै लागेन, पछि उनले थप विवरण पनि खुलाएपछि हो रहेछ भन्ने भयो ।’
त्यसपछि कार्यालयले एक जना सिनियर प्रहरी अधिकृतको नेतृत्वमा टोली परिचालन गरेर प्रारम्भिक अनुसन्धान गर्यो । ‘त्यसक्रममा हाम्रो अनुसन्धानका क्रममा रहेका ती व्यक्तिले दिएको सूचना लगभग मिल्यो’, ती अधिकृत भन्छन् । त्यसपछि कार्यालयले एक जना प्रहरीलाई छद्म भेषमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता बनाउने गरी पठायो ।

तिब्बती शरणार्थी भएको जिकिरसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेका ती छद्म भेषी प्रहरीले क्यान्टिन सञ्चालक लामासँग भेट गरे । उनले नागरिकता बनाइदिने तर ८ लाख रुपैयाँ खर्च हुने प्रस्ताव राखे । धेरै जनालाई मिलाउनुपर्ने भन्दै उनले त्यत्ति रकम मागेको अधिकृतहरु बताउँछन् ।
तर, त्यसरी खटिएका अधिकृतलाई नागरिकता बनाउनु थिएन, र्याकेटसम्म पुग्नु मात्रै थियो । ‘त्यसैले सुरुमा विश्वास गर्ने आधार खोज्दै विभिन्न कुराहरु सोधियो, उनले कागजात बनाउनेदेखि अरु सबै प्रक्रियाबारे खुलाए’, ती अधिकृत भन्छन्, ‘निरन्तर संवादपछि पैसा घटाउँदै लगेर ५ लाख रुपैयाँमा नागरिकता बनाउने डिल भयो ।’
त्यसक्रममा छद्म भेषमा खटिएका प्रहरीका लागि न्युल्केश श्रेष्ठ नक्कली बाबु बनाइए । वडा कार्यालय र विद्यालयको सर्टिफिकेट बनाउने काम हिरालाल शिवाकोटीले गर्ने भए । ‘योभन्दा अगाडि बढे प्रहरीकै अर्को नागरिकता बन्ने देखियो, त्यसैले तत्काल श्रेष्ठ, शिवाकोटी र लामालाई पक्राउ गर्यौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनीहरुमध्ये माथिको लेयरमा कृष्णबहादुर कटवाल भएको खुलिसकेको थियो । तर, उनी प्रायः नागरिकता बनाउने व्यक्तिसँग भेट नै गर्दा रहेनछन् ।’
कार्यालयका प्रमुख डा. मनोज केसीका अनुसार कटवाललाई विगतमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी छाप र दस्तखत कीर्ते सम्बन्धी कसूरमा पक्राउ गरेको थियो । उनमाथि नागरिकता, शैक्षिक प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाईसराई, विवाह दर्ता लगायतका कागजात कीर्ते बनाएको आरोप थियो ।
‘कटवाललाई हात पार्न प्रहरीलाई निकै मेहनत गर्नु परेको थियो, जब उनी हात लागे त्यसपछि २५/३० जनाको नागरिकता बरामद भयो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसी भन्छन्, ‘उनले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५ सय बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको आशंका छ ।’
केसीको दाबीमा योबाहेक अरु गिरोह पनि तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने कार्यमा संलग्न हुनसक्छ । ‘त्यस्ता शंकित व्यक्तिको पनि खोजतलास र अनुसन्धान भइरहेको छ’, उनी भन्छन् ।
कर्मचारीको संलग्नता आशंका
स्रोतका अनुसार नक्कली बाबुका रुपमा प्रयोग गरिएका श्रेष्ठलाई प्रति नागरिकता १० हजार रुपैयाँ दिने सहमति थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौं गएर सनाखत गरेवापत उनले यो रकम लिने गरेका थिए ।
एसएसपी केसीका अनुसार उनले आफू नक्कली बुबा बनेर सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाइदिएको फेला परेको छ ।
स्रोतका अनुसार यसरी नागरिकता बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कर्मचारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ । स्रोतका अनुसार तल्लो तहका कर्मचारी र अधिकृतसम्मलाई प्रलोभनमा पारेर नागरिकता बनाएको हुनसक्ने देखिएको छ । यद्यपि, हालसम्म प्रहरीले सरकारी कर्मचारीलाई पक्राउ गरेको छैन ।
स्रोतका अनुसार तीन दिनअघि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई यसबारे ब्रिफिङ गरेको थियो । त्यसबारे जानकार एक अधिकृत भन्छन्, ‘सीडीओ सा’बबाट निष्पक्ष छानबिन गरेर कर्मचारी संलग्न देखिए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन प्राप्त भएको छ ।’
सन् १९५९ मा चीनविरुद्ध तिब्बतीहरुको संघर्ष सुरु भएपछि त्यहाँका सर्वसाधारणहरु भागेर भारत र नेपाल आएका थिए । त्यसबेला नेपालमा कम्तिमा २० हजार तिब्बती नागरिक शरण लिएर बसेको अनुमानित तथ्यांक छ ।
सन् १९९३ सम्म नेपालले तिब्बती शरणार्थीलाई जिल्ला प्रशासन कार्यालयबाट परिचय पत्र दिएको अभिलेख छ । त्यसबेला छुटेकालाई फेरि परिचय पत्र दिनेबारे पटकपटक छलफल भएपनि निर्णय भएको छैन ।
यसबीच तिब्बती शरणार्थीले विचौलियासँग पुगेर नक्कली कागजातका आधारमा नेपाली नागरिकता बनाउन थालेको भेटिएको हो । नेपालमा काठमाडौंको बौद्ध, स्वयम्भु, जोरपाटी, ललितपुरको जावलाखेल, फर्पिङ, सोलुखुम्बु, पोखराको हेम्जा, छोरेपाटन, पृथ्वीचौर, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रसुवा, बाग्लुङ लगायतका क्षेत्रमा तिब्बती शरणार्थीको बसोबास रहेको सरकारी अभिलेख छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4