+
+

बालबालिकालाई कस्तो विद्यालय छान्ने ?

शिक्षा भन्दा महत्वपूर्ण स्वास्थ्य हो । तसर्थ गुणस्तरीय, संस्कारयुक्त शिक्षा भन्दा पहिला बालबालिकाले स्वस्थ खाना र वातावरण पाउने अवस्था छ कि छैन यकिन गर्न नितान्त आवश्यक छ ।

दीपकराज जोशी दीपकराज जोशी
२०७९ चैत ९ गते १८:००

विद्यालयमा युनिफर्म हुनुहुँदैन, होमवर्क दिनुहुँदैन, झोला-किताबको भारी भयो, साना कक्षाहरूमा किताब नै राख्नुहुँदैन, बसको लामो यात्रा गरी विद्यालय पठाउनुहुँदैन, साना मझौला विद्यालय छान्ने कि, ठूला गगनचुम्बी र धेरै विद्यार्थी भएका विद्यालय छनोट गर्ने, सीप सिकाउने विद्यालय ठिक कि ४ जीपीए दिलाउने विद्यालय ठिक ?

यस्ता थुप्रै प्रश्नको बारेमा विभिन्न मनोविद्, शिक्षाविद्का आ-आफ्नै तर्क र विचार विभिन्न संचारमाध्यम तथा सभा, गोष्ठी र सेमिनारमा सुन्ने गर्दछौं । अनि हामी अभिभावक अलमलमा मात्र होइन कि रनभुल्लमा पर्ने गर्दछौं । अन्ततः हामी आफ्नो स्वविवेक र आत्मज्ञानलाई तिलाञ्जली दिने र अरूले के गरेको छ त्यसैलाई आत्मसात् गर्ने गर्दछौं ।

हामी आफैंले कहिलेकाहीं हाम्रो मथिङ्गललाई पनि प्रयोग गर्ने कि नगर्ने ? सबैको विचार, तर्क र सल्लाहलाई पनि सुन्ने-बुझ्ने प्रयास गर्नु आफैंमा राम्रो हो तर सबैका कुरा सुन्दा हाम्रो अवस्था कस्तो होला त्यो भनिराख्नु पर्दैन । प्रत्येकको विचार व्यक्तिगत अनुभव तथा विभिन्न स्रोतबाट प्राप्त ज्ञानको आधारमा प्रवाह गर्ने गर्दछन् । एकपटक हामीहरू पनि व्यक्तिगत भएर आफ्नो नानीबाबुको लागि सोचौं त ?

वास्तवमा हरेक बालबालिका आफैंमा महत्वपूर्ण र ओजस्वी हुने गर्दछन्, मात्र उनीहरूलाई चाहिएको भने ‘इन्डिभिजुअल केयर’ अर्थात् घरमा जसरी बुवाआमाले छोराछोरीको हरेक कुरामा ख्याल गरे जस्तै विद्यालयमा उनीहरूको केयर हुन्छ कि हुँदैन ?

दीपकराज जोशी

अब कुरा सामान्य बजारमा चलिरहेका बहसमा विद्यालयमा युनिफर्म राख्नुहुँदैन भन्ने तर्कको बारेमा सोचौं । किन युनिफर्म राखियो ? यस बारेमा छलफल गरौंः एउटा विद्यालयमा विभिन्न समुदाय, वर्ग, पृष्ठभूमिका बालबालिका अध्ययनरत हुन्छन् । युनिफर्मले उनीहरूलाई आफ्नो वर्ग, समुदाय, जात, धर्म लगायत सबै कुरा बिर्सेर मात्र विद्यार्थी भएको महसुस, अनुभूति गराएको हुन्छ र जसले गर्दा उनीहरूमा समानता कायम रहेको हुन्छ ।

केही सम्भ्रान्त वर्गका छोराछोरी पढ्ने विद्यालयले कुनै निश्चित वर्गलाई प्रतिनिधित्व गरेर हप्ताभरि फरक–फरक लुगामा विद्यालय आउन लगाउने र आफूलाई अरुभन्दा फरक बनाउनका लागि गरिएको वर्ग विभाजन बाहेक केही हुन सक्दैन ।

बहस विभिन्न कोणबाट गर्न सकिन्छ, हप्ताभरिका फरक–फरक युनिफर्मले के दर्शाउँछ ? सामान्यतया हप्ताभरिका थरीथरीका युनिफर्मको व्यवस्थापनले विद्यार्थीबीच उक्त विद्यालयमा समानता हुन्छ त ? हप्ताभरि थरी–थरीका लुगा लगाएर प्रतिस्पर्धा हुँदैन र कसैमा आत्मग्लानिको अवस्था आउँदैन ।

विद्यालयको झोला

हामीहरूले बालबालिकालाई सामान्यतया ३ वर्षमा विद्यालय पठाउने र १६ वर्षभित्र कक्षा १० उत्तीर्ण भइसक्नुपर्ने अवस्था सिर्जना गरेका छौं । बालबालिकाको उमेर बढ्दै गएपछि छिटो सिकेको त हामीले देखेका, भोगेका छौं तर हाम्रो बाध्यता छिटो विद्यालय पठाउन पाएपछि हामी आफ्नो कामलाई अघि बढाउन सक्छौं ।

सामान्यतया सात वर्ष माथिका बालबालिकाले आफ्नो वजनको एक चौथाइसम्मको वजनलाई १५-२० मिनेटसम्म बोक्दा शरीर खँदिलो हुने तथा शारीरिक व्यायाम हुने गर्दछ । तर हामीहरू विद्यार्थीलाई झोला बोकाउनै हुँदैन, किताब धेरै भए भनेर चर्को बहस गरिरहेका हुन्छौं । प्रत्येकजसो विद्यालयमा साना कक्षाहरूमा ४ वटा विषयको र ठूला कक्षाहरूमा ७ वटा विषयको पढाइ नियमित हुने गर्दछ र त्यही अनुसारको किताब र कापीको आवश्यकता पर्ने गर्दछ ।

यदि योभन्दा बढी अनावश्यक किताब, कापीको बोझ विद्यालयले गरेको छ भने अभिभावकले सम्बन्धित विद्यालय प्रशासनमा छलफल गर्नुपर्ने हुन्छ । अभिभावकले प्रत्येक दिन बालबालिकाको झोला चेक गर्ने गर्नुपर्दछ, जसले गर्दा बालबालिकाको राम्रो बानीको विकास हुनुका साथै झोला हलुंगो हुने गर्दछ ।

कति टाढाको विद्यालय छनोट गर्ने

छोटो दूरीको गह्रुंगो झोला भन्दा लामो बसयात्राले हुने मानसिक थकावले बालबालिकामा समस्या निम्त्याउने गर्दछ । बिहान सबेरै विद्यालय हिंड्ने र बेलुका ढिला घर पुग्ने बालबालिकामा थकावट हुने गर्दछ ।

सर्थ सकेसम्म घरको खाना खुवाएर पठाउन सकिने, ७ घण्टा विद्यालयमा र बाँकी समय घरपरिवारसँग बिताउने बालबालिकाको बहुआयामिक विकास हुने गर्दछ । बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण कुरा निद्रा हो तसर्थ कम्तीमा सात देखि आठ घण्टा सुत्ने व्यवस्था मिलाउनुपर्दछ ।

विद्यालय र अभिभावकबीच संवादमा निरन्तरता

विद्यालय र अभिभावकबीच निरन्तर रूपमा संचार संवाद भइराख्नुपर्दछ जसले गर्दा बालबालिकाका सबै विषयवस्तु विद्यालय र अभिभावकलाई जानकारी हुन्छ । अर्कोतिर अभिभावक र विद्यालयबीच सुमधुर सम्बन्ध कायम हुने र एकअर्काको बारेमा सकारात्मक संचार प्रवाह हुन्छ ।

बालबालिकामा सकारात्मक भावनाको विकास भएर उनीहरूमा थप आत्मविश्वास वृद्धि भई सही मार्गमा हिंड्ने वातावरण तयार हुन्छ । सामान्यतया बालबालिकाले विद्यालयमा शिक्षक-शिक्षिका तथा प्रशासनको सकारात्मक सन्देशको अपेक्षा राखेका हुन्छन् भने घरपरिवारबाट स्नेह, मायाका साथै विद्यालयप्रति सकारात्मक भावको अपेक्षा गरेका हुन्छन् तसर्थ निरन्तर सकारात्मक संचार–संवादलाई निरन्तर रूपमा अघि बढाउनुपर्दछ ।

व्यक्तिगत हेरचाह

प्रत्येक बुवाआमालाई आफ्नो सन्तान सबैभन्दा महत्वपूर्ण मायाको संसार हो, तर सबै बालबालिकामा सबै क्षमता हुँदैनन् अर्थात् सबै गुण सम्पन्न सबै बालबालिका हुँदैनन् । प्रायःजसो शिक्षक-शिक्षिका तथा विद्यालय नेतृत्वको माया प्रायः ती बालबालिकाले पाउँछन् किनकि उनीहरू अरूभन्दा अब्बल हुने गर्दछन् ।

साना बालबालिकालाई विद्यालयमा छनोट गरेर मात्र भर्ना गर्दछन् । तसर्थ, हामी अभिभावकले बुझ्नुपर्ने कुरा जहाँ साना बालबालिकाको छनोट गरेर भर्ना गर्ने कार्य ठिक हो त ?
सबै बालबालिका जिनियस हुन् र कुनै कुनै क्षमता लिएर आएका हुन्छन् भन्ने प्रकृतिको नियमलाई लत्याएर मेडिकल, इन्जिनियरको जस्तो प्रवेश परीक्षाको नौटंकीलाई यदि हामी अभिभावकले समयमै बुझ्न सकेनौं भने पछि पछुताउनु बाहेक अन्य विकल्प हुँदैन ।

रमाइलो वातावरण

खुशी संसारको सबैभन्दा बहुमूल्य चिज हो तसर्थ बालबालिका विद्यालय जान खुशी हुने वातावरण छ कि छैन । यसको यकिन गर्न सम्बन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी खुुशी छन् कि छैनन् । त्यहाँ कार्यरत शिक्षकशिक्षिका, कर्मचारीहरूमा न्यूनतम सन्तुष्टि छ कि छैन, वातावरण विद्यार्थी र अभिभावक मैत्री छ कि छैन आदि जस्ता कुराहरूमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

पर्याप्त सूचना विना बजारको हल्ला र सान–मानको लागि अस्वस्थ प्रतिस्पर्धाको पछि लागेर हामीहरू निर्णयमा पुग्ने गर्दछौं । सूचनाको सबैभन्दा विश्वासिलो स्रोत भनेको सम्बन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावक नै हुन् । तसर्थ सेवा प्राप्त सेवाग्राहीको सूचनालाई विश्वास गर्न वाञ्छनीय हुन्छ ।

स्वस्थकर खानाको व्यवस्था

शिक्षा भन्दा महत्वपूर्ण स्वास्थ्य हो । तसर्थ गुणस्तरीय, संस्कारयुक्त शिक्षा भन्दा पहिला बालबालिकाले स्वस्थ खाना र वातावरण पाउने अवस्था छ कि छैन यकिन गर्न नितान्त आवश्यक छ । तसर्थ दीर्घकालीन र अल्पकालीन रूपमा बालबालिकाको स्वास्थ्यमा असर पर्ने भनेको उनीहरूले पिउने पानी, खाना र वातावरणले हो ।

स्वास्थ्यको समयमै ख्याल नपुर्‍याउँदा स्वास्थ्यमा आउने प्रतिकूल असरले अनावश्यक रूपमा अस्पतालको खर्च बढ्ने, स्वास्थ्यमा प्रतिकूलता आउने भएकाले बालबालिकाको शैक्षिक अवस्थामा पनि अपेक्षाकृत नतिजा प्राप्त गर्न सकिंदैन । हाम्रो पहिलो लगानी बालबालिकाको स्वस्थकर जीवनमा तत् पश्चात् मात्र शिक्षामा भन्ने विषयलाई अवलम्बन गर्नुपर्दछ ।

उपयुक्त वातावरणको सिर्जना गरिदिएमा बालबालिकाभित्रको क्षमता ढिलो–चाँडो प्रस्फुटन हुने कुरामा कुनै शंका छैन । मात्र हाम्रो काम उपयुक्त वातावरण सिर्जना गरिदिने हो ।

लेखक शिक्षाकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?