+
+

नेपाल ल क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउनुपर्छ : स्ववियु सभापति ढुंगेल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ८:२२

१० चैत, काठमाडौं । १४ वर्षपछि भएको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का विष्णु ढुंगेल नेपाल ल क्याम्पसमा स्ववियु सभापति चुनिए । कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूसँग तालमेल गरेर माओवादी केन्द्रको अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित भएका हुन् ।

उनले ल क्याम्पसलँई छुट्टै विश्वविद्यालय बनाउने, पठन संस्कृतिको विकास गर्ने, क्याम्पस र न्यायपालिका जोड्नेजस्ता काम गर्ने बताएका छन् । ढुंगेलसँग अनलाइनखबरकी नुनुता राईले गरेको कुराकानीको सम्पादित अंश :

लामो समय अनेरास्ववियुले जितेको क्याम्पसमा यसपटक तपाईं निर्वाचित हुनुको कारण तालमेल नै हो वा अरु ?

हामीले विद्यार्थीको बीचमा इमान्दार भएर काम गरेको कारण हामीलाई मत दिनुभयो भन्ने लाग्छ । किनभने एक दिन वा एक हप्ताले तपाईं सही मान्छे हो भनेर प्रमाणित गर्न सक्नुहुँदैन । तपाईंले विगतमा विद्यार्थीको लागि कस्ता काम गर्नुभएको छ भन्ने कुराले ठूलो अर्थ राख्छ । हामीले विगतमा गरेका कामकै कारण मत दिनुभयो भन्ने लाग्छ ।

विगतमा त्यस्तो के काम गर्नुभएको थियो ?

अहिलेको विद्यार्थी नेताहरुको गतिविधि हेर्दा विद्यार्थी संगठनहरु नै खारेज गर्नुपर्छ भन्ने प्रश्न उठिरहेको थियो । यो स्ववियु चुनाव नै किन गर्ने, त्रिविको ऐन संशोधन गरेर यो व्यवस्था नै हटाइदिऔं भन्ने जस्ता कुरा उठे । तर हामीले नेपाल ल क्याम्पसमा जस्तो संस्कृतिको राजनीति गर्‍यौं त्यहाँका विद्यार्थीको लागि, शिक्षकको लागि, प्रशासन सबैको लागि पाच्य थियो । क्याम्पसमा यस्तै राजनीति हुनुपर्छ, यस्तो राजनीति भयो भने हामी सबैको लागि सहज वातावरण बन्छ भन्ने उहाँहरुमा बुझाइ थियो ।

नेपाल ल क्याम्पसँग तीन वटा शैक्षिक कार्यक्रम चल्छ । एलएलबी, बीए एलएलबी र एलएलएम । एलएलबी खारेज गराउनका लागि गिरोह नै लागे । तर हामीले एलएलबी कार्यक्रम पुनः लागू गर्‍यौं । त्यसले आम जनताका छोराछोरी वर्षको दश हजार तिरेर पढ्न पाउँछन् । अर्को बीएएलएलबी शैक्षिक कार्यक्रम सेमेष्टरमा लगेसँगै शुल्क पाँच लाख ५५५ रुपैयाँ तोकिएको थियो । विद्यार्थी संगठनको आन्दोलनको कारण घटाएर तीन लाख २५ हजार रुपैयाँ बनायौं । अर्को स्नातकोत्तर तहको परीक्षा फारम भर्दा पाँच हजार पाँच सयबाट घटाएर दुई हजार ६ सय बनाएका छौं । हाम्रै पहलमा विभिन्न कोटामा शैक्षिक छात्रवृत्तिहरु सुरु भएका छन् विभिन्न संस्थाहरुबाट सहयोग हुने छात्रवृत्तिका कार्यक्रमहरु ल्याइएको छ । कलेजमा समाजवाद कसरी ल्याउन सकिन्छ भनेर कार्यक्रम गरेका छौं ।

नेपाल ल क्याम्पसमा विद्यार्थी संख्या र खसेको मत हेर्दा त तपाईंले भने जस्तो सचेत देखिएन नि । किनभने ५५ प्रतिशत मात्रै मत खस्यो ?

अधिकांश एलएलबी पढ्ने विद्यार्थी नियमित कलेज आउनुहुन्न । ६ सय विद्यार्थी मध्ये सय जना विद्यार्थी मात्रै नियमित हुनुहुन्छ । विभिन्न पेशासँग आवद्ध रहेका विद्यार्थी विभिन्न जिल्लामा हुनुहुन्छ । अधिकांश विद्यार्थी कामकाजी अथवा भनौं कर्मचारी हुनुहुन्छ । बीएएलएलबी र एलएलएम पढ्ने करिब ९५ प्रतिशत विद्यार्थीले चुनावी प्रक्रियामा भाग लिनुभएको छ ।

तपाईंहरुको संयुक्त घोषणा पत्रमा २७ वटा बुँदा छन् । ती प्रतिवद्धता पूरा गर्न के योजना बनाउनुभएको छ ?

हामीले हाम्रो घोषणापत्रमा भएको बुँदाहरुलाई दुई तरिकाबाट काम गर्छौं । टप एप्रोच र बटम एप्रोचबाट । बटम एप्रोच भनेको तत्काल ल क्याम्पसमा गर्नुपर्ने सुधारहरु छन् । कक्षा कोठा, शौचालय, खानेपानीजस्ता विषयमा सुधार गर्नुपर्नेछ । त्यस्तै शैक्षिक क्यालेन्डर लागू गर्ने, शिक्षक नियुक्ति प्रक्रिया, शिक्षक नियमित हुने जस्ता कुरामा स्ववियुले सुधारको पहल गर्छ ।

अर्को टप अप्रोचबाट हुन्छ । त्रिवि अहिले यस्तो संस्था भएको छ जुन नियमित परीक्षा गर्न सक्दैन, समयमा नतिजा दिन सक्दैन, महिनौं ताला लाग्छ । नेपाल ल क्याम्पस आफैंमा इतिहास बोकेको क्याम्पस हो, यसले न्यायपालिकाको हस्तीहरु उत्पादन गरेको छ । त्रिविभन्दा पनि जेठो क्याम्पस हो । त्यसैले अब यो क्याम्पसलाई विश्वविद्यालयको स्वरुप दिऔं । स्वायत्त रुप दिएर भएकै संरचनालाई कसरी नयाँ तरिकाबाट अगाडि बढाउन सकिन्छ भनेर कानुनी बहस गरिरहेका छौं ।

आज यत्रो विकृतिका कुरा भइरहेको छ, क्याम्पसले त्यसको छलफल गर्दैन, विश्वमा विधिशास्त्रका कुरा, न्याय प्रणालीमा नयाँ धारणाहरु कति धेरै विकसित भइसक्यो नेपाल ल कलेजले केही गरेको छैन । आज न्यायपालिकामा ठूलो मुद्दामा छलफल, बहस, फैसला हुन्छ त्यसको विषयमा विश्वविद्यालय मौन हुन्छ । न धारणा बन्छ न छलफल हुन्छ ।

स्ववियु पारदर्शी हुँदैन, भ्रष्टाचार हुन्छ भन्ने आरोप पनि छ नि ?

स्ववियुलाई पारदर्शी बनाउन त्यत्ति धेरै चुनौती म देख्दिनँ । किनभने यहाँ फरक–फरक विचार, आस्थाबाट निर्देशित व्यक्तिहरु हुनुहुन्छ । त्यसले के गर्छ भन्दा कसैले अपारदर्शी ढंगले काम गर्छ भने सबैले प्रश्न उठाउँछ । दोस्रो हामी कानुनको विद्यार्थी भएकाले आफैं पनि सचेत छौं । हामीलाई कसैले अनैतिक हिसाबले दबाब गर्छ र बजेट दुरुपयोग गर्ने तरिकाले जान्छ भन्ने हाम्रो लागि मान्य हुँदैन ।

अर्को कुरा स्ववियु भनेको क्याम्पसले दिएको बजेट विशुद्ध खर्च गर्ने अथवा परिचालन गर्ने मात्रै होइन, स्रोत पनि जुटाउनुपर्ने हुन्छ । स्ववियु त सरकारसँग समन्वय गरेर विभिन्न कानुनी सचेतनाका कार्यक्रम गरेर अथवा संघीय मोडलका सरकारहरुसँग समन्वय गरेर विद्यार्थीको लाभको लागि कामहरु ल्याउनुपर्छ/सकिन्छ । यसरी परिस्कृत रुपमा स्ववियु सञ्चालन गर्नुपर्नेछ ।

आफ्नो कार्यकालमा प्रतिवद्धता पत्रको कति काम पूरा गर्नुहोला ?

धेरैजसो काम त क्याम्पस प्रशासनले गर्ने हो । धेरैजसो नीतिगत निर्णयहरु उहाँहरुकै हुन्छ । हामीले त उहाँहरुलाई नीतिगत निर्णय गर्न कन्भिन्स गर्ने हो । त्यसमा हाम्रो यो टिम सक्षम छ । यो टिमसँग अनुभव छ र सबैको भावनाको प्रतिनिधित्व गर्छ ।

यौनिक अल्पसंख्यक समुदायका विद्यार्थीहरुको लागि सहज वातावरण निर्माण गर्छौं, नेपाल ल कलेजले अन्तर्राष्ट्रिय स्तरको सेमिनार गर्नुपर्नेछ । बीए एलएलबी शैक्षिक कार्यक्रममा छात्रवृत्तिको व्यवस्था लागू गर्न नसकेको अवस्थाको अन्त्य गर्छौं । नेपाल ल क्याम्पस र न्यायपालिका जोड्न केही हुनेछ । हाम्रो पहलमा पाठ्यक्रम परिमार्जन भएको हुनेछ, पठन शैली नयाँ तरिकाले अगाडि बढेको हुनेछ ।

एलएलएम तहको पढाइ विषय विशेषज्ञ हुनेगरी सुधार भएको हुनेछ । यी विविध विषयमा हाम्रो पहलमा दुई वर्षभित्र नेपाल ल क्याम्पसलाई नयाँ उचाइमा पुर्‍याउनेछौं ।

फोटो/भिडियो : शंकर गिरी

भिडियो सम्पादन : नवराज महरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?