+
+

‘हिंसापीडितहरु विस्थापित भएर नयाँ ठाउँमा पुग्दा पनि उस्तै समस्या भोग्नुपर्छ’

पीडितहरु कानूनी उपचारका लागि मानसिक रुपमा तयार हुन नै धेरै संघर्ष गर्नुपर्छ । न्याय पाउन लामो समय कुर्नुपर्छ । यो अवधिमा उसको पक्षमा बोलिदिने, लडिदिने, साथ सहयोग दिने मानिसहरुको अभाव हुन्छ । ऊ विस्थापित भएर गएको नयाँ ठाउँमा समेत यस्तै समस्याको सामना गर्नुपर्छ ।

डा. मेनुका केसी, प्राध्यापक डा. मेनुका केसी, प्राध्यापक
२०७९ चैत १० गते १०:४२

हाम्रो समाजमा परम्परावादी सामाजिक सोच व्याप्त छ । महिलाहरुलाई शिक्षाको अवसरबाट वञ्चित गरिएको छ । हाम्रो समाजमा छोरी जन्मिएदेखि नै विभेद शुरु हुन्छ । उनीहरु बुहारी भएर गएपछि समेत विभेद कायम रहन्छ, जसले गर्दा समाज लैंगिक विभेदकारी भएर रहेको हुन्छ ।

नारामा ‘महिला र पुरुष समान हुन्’ भनिए पनि नेपाली समाजमा यस्तो समानता भेटिंदैन । व्यावहारिक रुपमा समानता छैन । हामीले बालबालिका हुर्काउँदादेखि नै विभेद गरिरहेका हुन्छौं । छोराे कतै गएर एकरात बिताउँदा हामीलाई चिन्ता हुँदैन तर छोरी कतै गई भने उसको ज्यादा चिन्ता गरिन्छ । घरभित्रैबाट ‘कतै त गइन ?’ इज्जत जोगाउने काममा ठेस पुग्यो कि भनेर शंका गरिन्छ । शैक्षिक भ्रमणमा गएर आए पनि ‘कतै दायाँ–बायाँ त गरिन’ भन्ने चिन्ता गरिन्छ ।

समानतावादी नाराको कार्यान्वयन हाम्रो परम्परावादी समाजसँग गएर जोडिन्छ । महिलाप्रति संवेदनशील भएकाे समाजमा यसरी सोचिंदैन र हेरिंदैन पनि । जसले गर्दा त्यहाँका महिलाहरु झनै क्षमतावान भएर निस्किएका उदाहरण छन् ।

नेपालको सन्दर्भमा लैंगिक समानताको विषय परम्परावादी सोच, शिक्षाको अवसरबाट वञ्चितीकरण र कतिपय अवस्थामा जातीय परिवेशले गर्दा झनै संकुचित भइरहेको देखिन्छ । त्यसैले समानताको विषय केवल नारामा मात्रै सीमित हुन्छ ।

आजसम्मको हाम्रो समाजको संरचनाले नै महिलालाई सम्मानको दृष्टिकोणले हेर्दैन । महिला न्यायका लागि लड्न गइन् भने तिनलाई निरुत्साहित गरिन्छ । समाजमा नेतृत्व लिने महिला र अभिभावकबाट ‘तिमी संघर्ष गर, तिमीले न्याय पाउनुपर्छ’ भनेर प्रेरित गरिंदैन । बरु, ‘तिमीले सहनुपर्छ, यस्ता विषय बाहिर ल्याइयो भने तिम्रो चरित्र र इज्जतमाथि प्रश्न उठ्छ’ भनी उनलाई नै हतोत्साही गरिएको हुन्छ ।

सामाजिक विभेदका कारण सिर्जना भएका हिंसाहरु अरु अपराधजस्तो सहजै टुंगिंदैन र पीडितले न्याय पाउन पनि लामो संघर्ष गर्नुपर्ने हुन्छ । त्यो क्रममा शुरुमा साथ दिएका मानिसहरुले पनि साथ छाड्दै जान्छन् र पीडित एक्लिंदै जान्छ । यसले उसलाई एकातिर हतोत्साहित बनाउने र अर्कोतिर न्यायको लडाइँ झनै कठिन भइरहेको हुन्छ ।

हिंसापीडितको न्यायको संघर्ष सहज छैन । एक त पीडितहरु कानूनी उपचारका लागि मानसिक रुपमा तयार हुन नै धेरै संघर्ष गर्नुपर्छ । अर्कोतर्फ हाम्रो न्यायप्रणालीबाट न्याय पाउन अर्को चरणको लामो संघर्ष गर्नुपर्छ । यो अवधिमा उसको पक्षमा बोलिदिने, लडिदिने, साथ सहयोग दिने मानिसहरुको अभाव हुन्छ । ऊ विस्थापित भएर गएको नयाँ ठाउँमा समेत यस्तै समस्याको सामना गर्नुपर्छ ।

न्यायका लागि संघर्ष गर्दा बाहिरी पक्षले अनेकौं भूमिका खेलेको हुन्छ । हिंसा त टाढाको कुरा, पारिवारिक बेमेल वा सहमतिमै सम्बन्धविच्छेद गरे पनि पुरुषको तुलनामा महिलाले समाजमा रहन बढी कठिनाइ झेल्नुपर्छ । अविवाहित पुरुष र सम्बन्धविच्छेद गरेको पुरुषबीचको तुलनामा विवाहित महिला र सम्बन्धविच्छेद गरेकी महिलाले भोग्नुपर्ने विभेद कता हो कता चर्को हुन्छ ।

कानूनी लडाइँका क्रममा कहिलेकाहीं पीडितले लामो समय गुजार्नुपर्ने हुन्छ । लड्दै जाँदा एकपछि अर्को गरी सबैले साथ छाड्ने भएकाले पीडितहरु समेत कानूनी उपचारको खोजीबाट थाक्छन् । बल्लतल्ल न्याय पाए पनि उसमाथि सामाजिक स्वीकार्यता हुँदैन, समाजले बहिष्कार गर्न थाल्छ । किनभने उसले न्याय पाउने क्रममा समाजमा स्थापित कुनै व्यक्तित्व दण्डित भएको हुन्छ र समाजले त्यसलाई स्वीकार्दैन । पीडितलाई नै त्यसको दोष दिन्छ ।

कतिपय अवस्थामा त पीडितहरुलाई घरभित्रै स्वीकार गरिंदैन । त्यस्तो अवस्थामा समाजले स्वीकार्ने कुरा भएन । यदि कुनै परिवारको छोरी बलात्कृत भएकी छन् भने कहिलेकाहीं त पीडित परिवार नै समाजमा अस्वीकार्य भएर विस्थापित हुनुपरेको उदाहरण भेटिन्छ ।

यस्तो हुनुमा हाम्रो विभेदकारी संरचना पनि प्रमुख कारण हो । पीडक जहिले पनि समाजमा स्थापित हुन्छ र समाजको संरचना नै उसको पक्षमा लागिदिन्छ । जातीय, आर्थिक लगायतका कारणले पनि ऊ समाजमा स्थापित भएर बसेको हुन्छ । हाम्रो समाजले पुरुषको इज्जतमाथि प्रश्न उठाउँदैन र ऊ सधैं चोखो हुन्छ भन्ने मान्यता राखेको हुन्छ । ‘खुट्टा भए जुत्ता जति पनि पाइन्छ’ भन्ने उखान त्यसैको प्रभाव हो । पुरुषलाई खुट्टासँग तुलना गरेर अपमानपूर्वक महिलालाई जुत्ता भनिएको हो ।

पीडितले न्याय नै पाए पनि समाजले उसैलाई दोषी करार गरेको हुन्छ र उसको इज्जतमाथि प्रश्न उठाइदिन्छ, महिलामाथि सधैं हिलो छ्याप्ने काम हुन्छ । त्यसपछि पीडित त्यो परिवार, समाजबाट बाहिरिन बाध्य हुन्छ । ऊ विस्थापित भएर गएको नयाँ ठाउँमा समेत यस्तै समस्याको सामना गर्नुपर्छ । त्यसैले समाजमा जहिले पनि यस्ता हिंसाका घटनामा पीडकभन्दा पीडित पक्ष बहिष्कृत हुन्छ ।

कतिपय अवस्थामा त पीडकको व्यक्तित्व र सामाजिक प्रतिष्ठाका कारण पीडित झनै प्रताडनामा परेका उदाहरण भेटिन्छ । न्याय गर्नेहरुले उसको काम हेरेर दण्डित गर्ने हो, उसको पद र ओहोदा हेर्नुहुँदैन भन्ने गरिन्छ । तर यस्ता घटनामा पूर्वाग्रह देखिन्छ ।

अहिले पनि हाम्रो समाज कतिपय कुसंस्कारबाट ग्रस्त छ र हामी शिक्षित हुँदै गएका छौं भनेर भ्रम पालिरहेका छौं । अब यस्ता कुरीतिहरु हटाउन समाजमा चेतना बढाउनुपर्छ र त्यसका लागि शिक्षा आवश्यक पर्छ ।

हामीले शिक्षित बनाएको ठूलो जनशक्ति श्रमको सिलसिलामा मुलुक बाहिर छ र उसले समाज चेतनशील बनाउन जति भूमिका खेल्नुपर्ने हो, सकेको देखिंदैन । युवा नागरिक शिक्षित भएर त्यसको अनुभूतिमार्फत समाजलाई चेतनशील बनाउन जति भूमिका हुनुपर्ने हो, हुनसकेको छैन ।

(त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत समाजशास्त्रकी प्राध्यापक डा. मेनुका केसीसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?