+
+

कहाँ अल्झियो फाइभजी सेवा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १८:०७

१६ चैत, काठमाडौं । विश्वभरि नै अहिले फाइभजीको योजना निर्माण, लाइसेन्स प्राप्ति, नेटवर्क डिप्लोयमेन्ट, ट्रायल र लञ्चमा लगानी हुँदैछ । करिब सय देशमा कुनै न कुनै रुपमा फाइभजी चलिसक्यो । नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएको १६ महिना बितिसक्दा पनि अलमल छ ।

२०७८ मंसिरमा अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभजी सेवा सर्वसाधारणको पहुँचमा ल्याएको छैन । गत १७ पुस र २२ माघ गरी २ पटक भाका सारेको टेलिकमले परीक्षणका लागि सार्वजनिक रुपमा फाइभजी सेवा थाल्न ढिलाइ गर्दा प्रतिक्षारत सेवाग्राही निराश छन् ।

सरकारी कम्पनीको यस्तो अलमलले निजी सेवा प्रदायकहरुलाई फाइभजी सेवा थाल्ने अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई समस्या भएको छ । निजी सेवा प्रदायक एनसेलले त प्राधिकरणमाथि सार्वजनिक रुपमा अन्याय गरेको आरोप नै लगाइसकेको छ ।

प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६ मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिएको छ । सुरुमा उपकारण र प्रविधि आयातकर्तासँग वार्ता र सामान आपूर्ति गर्न नै टेलिकमले ढिलाइ गरेको थियो । आएका समान जडान गरेर प्रविधि सार्वजनिक परीक्षण थाल्न पनि अझै सकेको छैन ।

चिनियाँ कम्पनीमार्फत तयारी सकेर परीक्षण गर्न लागिएकाले फाइभजीमा अमेरिकी चासो भएकाले पनि रोकिएको चर्चा  छ । तर, टेलिकमले भने अरू नै कारणहरू देखाइरहेको छ ।

टेलिकमका अनुसार टेलिकममा फाइभजीको रेडियो एक्सेस नेटर्वक (र्‍यान) र ‘कोर’तर्फको आपूर्तिकर्ता फरक छन् । दुवैलाई आपसमा जोड्न पनि टेलिकमले सकस भोगेको थियो ।

अझ फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइसको इकोस्टिम तयार गर्न पनि लाग्नु परिरहेको टेलिकमको भनाइ छ । फाइभजी चल्ने डिभाइसमा टेलिकमको फाइभजी सपोर्ट गर्ने बनाउन समय लिनु परेको कम्पनीको दाबी छ । टेलिकमका उपप्रवन्ध सुजित आनन्द मल्लले डिभाइसका कारण परेको समस्याबारे एक सार्वजनिक कार्यक्रममा खुलासा गरेका थिए ।

‘मोबाइल निर्माताहरूले फाइभजी सपोर्ट गर्ने डिभाइस बनाएपनि नेटवर्क अपरेटरको सिस्टम कस्तो छ भन्ने कुरा नबुझिकन त्यसमा फाइभजी खोल्दैनन् । अर्थात् फाइभजी चल्ने सबै कुरा तयारी अवस्थामा राखेर पठाउँदैनन्,’ उनले भनेका थिए, ‘फोरजी र फाइभजीमा विशेष परीक्षण गर्न अहिले आइफोनसँग वार्ता भइरहेको छ ।’

एप्पलले सम्बन्धित मोबाइल सेवाप्रदायकले राम्रो गुणस्तरको नेटवर्क दिएको सुनिश्चितता गरेपछि मात्रै आफ्ना सेटहरूमा फाइभजी चल्न सक्ने बनाइदिने गरेको मल्ल बताउँछन् । कमसल नेटवर्कका कारण ब्रान्डको साख नघटोस् भनेर यस्तो गर्ने गरिएको हो ।

मल्लका अनुसार, भारतमै पनि ४ महिना लागेको यस्ता प्रक्रियाले नेपालमा फाइभजी परीक्षण ढिलो हुन गएको हो । सामसङ, ओप्पो, लगायतमा पनि परीक्षण भइरहेको उनको दाबी छ ।

नेपालमा उपलब्धमध्ये साओमीको पोको मोडलको फोनमा फाइभजी चल्न सक्ने देखिएको छ । सबै डिभाइसमा परीक्षण सकिएपछि सर्वसाधारणमा फाइभजी सुरु गर्ने योजना रहेको टेलिकमको भनाइ छ ।

‘फाइभजीका लागि बेस स्टेसनहरू करिब करिब तयारीमा अवस्थामा छन् । मुख्य गरेर फाइभजी सपोर्ट गर्ने डिभाइसहरू छैनन्,’ उपप्रबन्धक मल्ल भन्छन्, ‘डिभाइस नहुँदाको अवस्थामा सर्वसाधारणले समेत चलाउन पाउने गरी फाइभजी सुरु गर्ने हो भने भोलि हामीले नै गाली खान्छौं । तर हाम्रो कारण भन्दा पनि नेटवर्क सपोर्ट गर्ने डिभाइस नहुँदा परीक्षणमा ढिलाइ हुन पुग्यो ।’

पूरा तयारी सकेर परिपक्व अवस्थामै सेवा थाल्नुपर्ने भएकाले टेलिकम सही समयको पर्खाइमा रहेको उनी बताउँछन् ।

दूरसञ्चारविज्ञ आनन्दराज खनाल सन् २०२३ सम्म विश्वभर एक अर्बभन्दा बढी फाइभजी कनेक्सन हुने अनुमान गरिएको बताउँछन् । २०२० देखि २०२५ बीचमा पाँच अर्बभन्दा बढी फाइभजी फोन बजारमा आउने र २०३५ सम्म फाइभजीले विश्वव्यापी बिक्रीका गतिविधि १३१ खर्ब अमेरिकी डलरले बढाउने अनुसन्धानले देखाएको उनले बताए ।

खनालका अनुसार, विश्वभर २२५ भन्दा बढी कम्पनीले फाइभजी डिभाइस उत्पादनको घोषणा गरेका छन् । अहिले ८५० भन्दा बढी मोडेलका फोन बजारमा व्यवसायिक रुपमा नै उपलब्ध भइसकेका छन् ।

‘जनवरी २०२२ यता यस्ता डिभाइसहरूको संख्या उच्च रुपमा बढेको छ,’ खनाल भन्छन्, ‘फाइभजी चल्ने ह्यान्डसेटको इकोसिस्टम पनि सुधारिंदै गएको छ ।’

सवाल फाइभजी परीक्षण गर्ने मात्रै छैन, कहिलेदेखि व्यावसायिक रुपमा फाइभजी सेवा सुरु गर्ने भन्ने पनि छ । दूरसञ्चार विज्ञहरु नेपालले तुरुन्तै फाइभजीमा लगानी गरेर ठूलो प्रतिफाल हात पार्न सक्ने अवस्था देख्दैनन् ।

फाइभजीमा ठूलो लगानी गर्नुअघि फोरजी परियोजनाको समीक्षा गर्नुपर्ने दूरसञ्चार विज्ञ खनाल बताउँछन् । टेलिकमको फोरजी एलटीई नेटवर्कको कूल क्षमता उपयोग करिब २५ प्रतिशत मात्र रहेको सुनिएको भन्दै उनले फाइभजीमा लगानी गर्नुअघि यस्ता पक्षको समीक्षा आवश्यक रहेको बताए ।

‘फोरजी नै राम्रोसँग नचलेको अवस्थामा फाइभजीमा जानु भनेको हतारो मात्रै हो’ उनी भन्छन् ।

फोरजीको तुलनामा ठूलो लगानी हुने भएकाले प्रतिफलको पक्ष हेरेर मात्रै यसमा लगानी गर्नुपर्ने अवस्था रहेको मल्ल स्वीकार्छन् ।

‘क्षमता र प्रविधिअनुसार फोरजीको भन्दा फाइभजी धेरै उन्नत भएकोले यसमा लगानी पनि बढी हुन्छ । प्रतिफल सुनिश्चित भएपछि मात्रै लगानी गर्नुपर्छ,’ उपप्रबन्धक मल्ल भन्छन्, ‘सुरुमा फाइभजीमा प्रयोगकर्ता धेरै नहुने भएकाले विस्तारै फोरजीबाट जाँदा ठूलो लगानी घटाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?