
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (आज) बिहान बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने कांग्रेस स्रोतले बतायो ।
आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो ।
आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न इच्छुक छन् । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले कांग्रेसले आज आफ्नै उम्मेदवार अघि सार्ने कि यादवलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने सम्भावना छ ।
नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4