+
+
Shares

नयाँ कृषिमन्त्रीलाई प्रश्न : तपाईं यी काम गर्न सक्नुहुन्छ ?

तपाईंको विवेक पुग्यो भने बिचौलिया र दलालको दबावमा यथास्थितिमै अल्झिन पुगेको कृषि रूपान्तरणको यात्रा ढिलै भए पनि सुरु हुन्छ । यो सबै गरेको हेर्न चार दशक असल नेतृत्व पर्खेको नेपालको कृषि क्षेत्र अरू केही समय पर्खने धैर्य राख्छ नै । बरु मन्त्रीज्यू तपाईं आफैं या तपाईंलाई मन्त्री बनाउनेहरूकै धैर्य भने कति रहन्छ कुन्नि ?

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७९ चैत २० गते ७:३१

नवनियुक्त कृषि मन्त्रीज्यू,

किसान निरन्तर पलायन भइरहेका छन् । ओरालो लाग्दै गरेको कृषि क्षेत्र रसायन र विषादीबाट आक्रान्त छ र दान र अनुदानको विष-वृक्षमा झांगिएको छ । यही पृष्ठभूमिमा आफ्नै नेता तथा कार्यकर्ताले गिजोलेको कृषिक्षेत्र सम्हाल्न आउनुभएकोमा यहाँलाई कार्यकाल सफलताको शुभकामना छ ।

यहाँलाई मन्त्री जस्तो जिम्मेवार पदमा आसीन भएर संविधानमै उल्लेख भएको समाजवादउन्मुख र तपाईंको आफ्नै समाजवादी निष्ठाको जीवन्त परीक्षण गर्ने सुनौलो अवसर समेत जुरेको छ । यहाँको कार्यकालको सफलतासँगै बधाई भन्न पाइनेछ भन्ने अपेक्षा समेत राखेको छु ।

दशकौंदेखि मन्त्री हुने कुनै पनि जिम्मेवार नेताको प्राथमिकतामा नपरेको तर हाम्रो उन्नतिको मूल आधार, समाज विकासको कोसेढुंगा, बहुसंख्यक समुदायको जीवन पद्धति रहेको कृषिक्षेत्र सम्हाल्ने आँट गर्नु आफैंमा निकै महत्वपूर्ण कदम हो । यो निर्णय गर्दा यहाँले यसअघि कृषि सपार्न भन्दै सरकार, पार्टी र तिनका गठबन्धनले गरेका घोषणा र निर्णय सम्झिनुभएकै होला । सँगै कसरी यस्ता घोषणा र निर्णय एकपछि अर्को गर्दै तुहिंदै गए भन्ने समेत हेक्का राख्नुभएको होला भन्ने अपेक्षा राखेको छु ।

यहाँलाई थाहै होला, कृषि रूपान्तरणका कुरा ‘हिंड्दै छ पाइला मेट्दै छ’ भन्ने उखान साबित भएका छन् । १० वर्षभित्र प्रांगारिक मुलुक बनाउने घोषणा, प्रदेश सरकारको कणर्ाली प्रदेशलाई प्रांगारिक बनाउने आधार तयार गर्ने निर्णय, कृषिक्षेत्रमा वैदेशिक लगानी हुन नदिने प्रतिबद्धता, कृत्रिम रसायन र विषादी परीक्षण तथा नियमन र एकीकृत कृषि ऐन बनाउने जस्ता कुरा यसका केही उदाहरण मात्र हुन् । किसानका लागि सामाजिक सुरक्षा अनुदानको पहुँच, उखु किसानको भुक्तानी, कृषि उपजको मूल्य निर्धारण, दलालमुक्त कृषि बजार बनाउने कुरा त अहिलेसम्म ‘आकाशको फल आँखातरी मर्’ भने जस्तै भएका छन् ।

तपाईं दलाल अर्थतन्त्रका बिचौलिया र दलालले समग्र कृषिक्षेत्रमा चलाएको लुटतन्त्र र यसबाट किसान र किसानी पेशा नै धरासायी भएको बारे जानकार हुनुहुन्छ होला । यस क्षेत्रलाई यस्ता दलालबाट मुक्त बनाउने बारे गम्भीरतापूर्वक विचार गरेर नै कृषि मन्त्री हुने आँट गर्नुभएको होला ।

प्राथमिक कृषि क्षेत्रमा प्रत्यक्ष लगानी गर्न नहुने सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत दबावमा दुई वर्षअघि वैदेशिक लगानी भित्र्याउन अनुसूची हेरफेर गरेर दलालकै चलखेललाई सदर गरिएको छ । सरकारले विषादी नियमनको विधेयकलाई परिमार्जनको नाममा समितिमै फिर्ता गरेर अल्झाउने कसरत गरेको छ । यो तीन वर्षअघि भारतबाट आएका विषाक्त फलफूल र तरकारी भन्सारमा रोकेर भारतको दबावमा जस्ताको तस्तै भित्र्याउन दिएको खेल सम्झाउन पर्याप्त छ ।

खाना र खेतीपातीकै कारण समाज, मानिस र प्रकृतिको स्वास्थ्यमा देखिएका विकराल समस्या त पक्कै याद गर्नुभएकै छ । अहिले खेतीपातीबाट घरबार नचलेर मुग्लान पसेका किसानले रगत-पसिना गरेर पठाएको विप्रेषणको अर्थतन्त्रले त धिधिर-धिकिर सास फेर्दैछ तर दलाल अर्थतन्त्र मौलाएसँगै समाज र घरपरिवार आतंकित र असुरक्षित बनिरहेको छ ।

त्यस्तै, मानिसमा नसर्ने दीर्घरोगका कारण अस्पतालमा बिरामीको मेला लागेको छ भने उपचारको पालोमा समेत बलमिच्याइँको राजनीति भइरहेको कुरा समाचार बनेका छन् । वन-जंगलको विनाश र अनुपयुक्त खेती प्रणालीले बाढीपहिरो, चुरे र तटीय क्षेत्र कटानले माटोको मरुभूमिकरण हुने प्रक्रिया तीव्र छ । यसलाई समयमै सम्बोधन गर्न नसके भविष्यमा खेती कहाँ गर्ने हो भनेर विचार गर्नुभएकै होला । मर्दै गएको माटो जोगाउने मर्म पनि सम्झनुभएकै होला ।

सँगै, स्वच्छ कृषिबाट स्वस्थ खाना खान पाउने नागरिक हकको सम्मान गर्न चुक्नुहुँदैन भन्नेमा समेत पक्कै सचेत हुनुहोला ।

त्यसो त फेरिंदै गरेको प्रकृति, प्रविधि र प्रवृत्ति, यसले समाजमा आएको आर्थिक, सामाजिक फेरबदललाई आत्मसात् गर्न तयार नभई किसानी जस्तो सामाजिक उद्यम र कृषि जस्तो जीवन्त प्रणाली उन्नत बनाउन सकिंदैन । यही कुराको आत्मसात् गर्न नसकेर नै कृषिको गाडा अघि र गोरु पछि भएको अवस्था छ । यो अवस्थालाई सल्टाउन विचार र विवेक सच्याउन जरूरी छ ।

विडम्बना, अहिले धेरैले कुरा गर्ने गरेको कृषि क्षेत्रलाई उन्नत बनाउने आधार हलोलाई उन्नत बनाएर ‘घाँस पनि नखाने बच्चा पनि नपाउने ट्याक्टर बनाउने’ जस्तै उल्टो छ । यहाँहरूले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमले समेत यस्तै उल्टो बाटो समाउने निधो गरेको छ । यो कुराको हेक्का समेत राख्नुभएकै होला ।

समग्रमा, प्रकृतिप्रदत्त खेती प्रणालीले मात्र आम नेपालीको खाद्य सम्प्रभुता, खाद्य तथा पोषण सुरक्षा र अधिकार सम्बन्धी संविधानप्रदत्त हकको रक्षा गर्न सक्छ । भावी सन्ततिका लागि समेत कृषि चाहिन्छ भन्ने मर्म विचार गरिरहनुभएकै होला । आफ्नो बर्कतले गर्न सक्ने काम गरेर आम किसानलाई भरोसा दिलाउनुपर्छ भन्ने विश्वाससहित यो मन्त्रालय रोज्नुभएको होला भन्ने विश्वास छ ।

यी सबै कुरा विचार गरिरहँदा यस्तो बृहत्, बहुआयामिक र जीवन्त कृषि क्षेत्र सम्हाल्न दीर्घकालीन दूरदृष्टिमा आधारित स्पष्ट ढाँचा, योजना, कार्यान्वयनमा प्रतिबद्धता र यसलाई आवधिक गर्दै लैजान पृष्ठपोषण संयन्त्र चाहिन्छ भन्ने त पक्कै बिर्सनुभएको छैन होला ।

बिराएको बाटो सम्हाल्न अहिले चाहिने न्यूनतम सोच समेत नपुगेर नै यसअघिका धेरै मन्त्रीले ‘मैले मात्र गर्न सक्ने केही हुने रहेनछ’ भन्दै मन्त्रालयबाट निस्केपछि गोहीको आँसु झार्ने प्रवृत्ति दशकौं पुरानो मनोरोग हो । यसैलाई आफ्नो नियति बनाउने विचार भए बेग्लै कुरा, नत्र यसबाट मुक्त भएर तपाईंले आफ्ना प्रयत्नले गर्न सकिने स-साना काम इमानदारीसाथ गर्नुभए मात्र अब त केही हुन्छ कि भन्ने आश जाग्छ । किनकि सरकार संचालनमा रहेको राजनीतिक नेतृत्व र यसले गरेको दिशाबोधको सीमाभित्र तपाईंको प्रयत्नका कसीमा मात्र इतिहासमा तपाईंको योगदानको मूल्यांकन हुनेछ ।

हामी धेरैलाई थाहा छ, सरकारले कृषि उत्पादन र प्रशोधनमा सहुलियत, प्राविधिक सेवा-टेवाको व्यवस्था, कृषि बीमा, सहुलियतपूर्ण सुलभ कर्जा, मुख्य बाली-वस्तुको न्यूनतम समर्थन मूल्य तोकिने र किसानको उपज खरिदको व्यवस्था हुने जस्ता नीतिको पक्षपोषण गरेको कुरा यसका दस्तावेजमा भेटिन्छ । यी घोषित नीतिगत कार्यक्रम बाहिरबाट सर्सर्ती हेर्दा कुनै नयाँ प्रस्ताव हैनन् । दीर्घकालीन सोच र यात्राको बाटो स्पष्ट हुँदा यिनको प्रभावकारी कार्यान्वयन र तिनबाट सिक्दै सच्याउँदै जाने संक्रमणको प्रभावकारी योजना बनाएर कार्यान्वयनको ढाँचा निश्चित गर्न सक्नुपर्छ । तब मात्र टाउकाले टेकेको कृषि क्षेत्रलाई खुट्टाले भुईं टेकाउन सम्भव हुन्छ । किनकि अहिले कृषि सपार्ने कुरा गर्दा केही त हुन्छ भन्ने भरोसा नै पहिलो शर्त भएको छ ।

किसानका खेतबारी उत्पादनशील बनाइराख्ने, उत्पादित उपजको बजारीकरण गर्न सघाउने र खेतीपाती गरेरै किसानको खाना र सबै सामाजिक, आर्थिक व्यवहार चल्ने अवस्था बनाउन स्वचालित, अन्तरनिर्भर, बहुआयामिक र गतिशील ढाँचा विकास गर्ने दृष्टिकोण अहिलेको आवश्यकता हो । अहिलेको समाज व्यवस्थामा किसान र कृषि उद्यमीको सहकारी मात्र यसको सबैभन्दा उपयुक्त विकल्प हो । यो ढाँचा समाजवाद उन्मुख, खाद्य सम्प्रभुता, लोकतान्त्रिक र संघीय व्यवस्थाको मर्म अनुरूपको समेत हुन्छ । सँगै, किसानीमा आधारित कृषि कर्मको सहकारी प्रस्ताव लागू गर्न सके नेपालको खेतीपातीको प्रणाली स्वतः जैविक हुन्छ किनकि किसानले आफ्ना विवेकले माटो बिगार्ने कृत्रिम रसायन र विषादीको प्रयोग गर्दैनन् । तर, यस्तो प्रणाली किसानको आफ्नै मौलिक ढाँचा, स्थानीय अर्थतन्त्र र दिगो कृषिका मापदण्डबाट मात्र सम्भव हुन्छ ।

सँगै, खेतीपाती स्थानीय अभ्यास भएकोले स्थानीय र प्रदेश सरकारको चासो, प्राथमिकता र समन्वय भएन भने यसको कार्यान्वयन कसरी होला ? सामान्य उदाहरण, यस्तो सहजीकरण गर्न सक्षम स्थानीय तहमा दरबन्दी अनुरूपका प्राविधिक जनशक्तिको व्यवस्था गर्न नसके यसको सुरुवात नै हुन सक्दैन । सँगै, यस्ता प्रस्तावको मसिनो गरी पूर्व तयारीमा सक्रिय हुनुपर्ने कृषि प्रशासन कति सक्षम छ र प्रतिबद्ध भएर काम गर्न नेतृत्व गर्न सक्नुहुन्छ ? यसले तपाईंको सफलतामा ठूलै अर्थ राख्छ । किनकि अहिलेकै व्यवस्थामा नीति, कार्यक्रम र बजेटमा तपाईंको मात्रै कुनै जोड चल्दैन । स्थायी सरकार भनिने कर्मचारीतन्त्रको एकलौटी खटनपटन अहिलेकै अवस्थामा तपाईंको वशमा समेत छैन ।

मन्त्रीज्यू, यति हुँदाहुँदै पनि तपाईंले हामो कृषि सभ्यता र खाने संस्कृति जोगाउने हैसियत बनाउन मौलिक कृषि रूपान्तरणको ढाँचा र दूरदृष्टि प्रस्तुत गर्दै आफूले भनेको गरेर कार्यकारी क्षमता देखाउने मौका पाउनुभएको छ ।

तर, यसको सफल कार्यान्वयन भने तपाईंका लागि निकै चुनौतीपूर्ण छ । खासगरी, तपाईंले आफ्नै कार्यकर्ता, बिचौलिया र दाताको दबाव थेग्न र भुत्ते भएको कर्मचारीतन्त्रमा साँध लगाउन कति सक्नुहोला ? हुनत, तपाईंले गर्नुपर्ने धेरै ठूला कुरा केही छैनन् । तपाईंको उत्साह र विवेकले मन्त्रालयलाई खुट्टा टेकाउन कोसिस गरे नेपालको कृषि सपार्ने यात्रा शुभारम्भ भयो भनेर जान्दा हुन्छ ।

खासगरी, मन्त्रालय र मातहतका कर्मचारीले कृषि सपार्न आफ्नो ज्ञान र विवेकको उपयोग गर्न सक्ने उपयुक्त संस्थागत र नीतिगत वातावरण मिलाउने, दण्ड-पुरस्कार र पृष्ठपोषणको व्यवस्था गरेर फर्केर हेर्ने र सच्याउन सहजीकरण गर्ने र मन्त्रालयलाई आफ्ना मान्छे, भनसुन, लेनदेन र माथिको आदेशको गोलचक्करमा फसेको निकम्माको अखडा बन्न नदिने इमानदार प्रयत्न मात्र गरे पुग्छ ।

यीसँगै तपाईंले राम्रोसँग ध्यान दिनुपर्ने अन्य विषय पनि छन् । एक, तहगत जिम्मेवारीलाई संस्थागत गर्ने र क्षयीकरण हुँदै पलायनको बाटो समातेको मन्त्रालयको कर्मचारी तन्त्र, कृषि अनुसन्धान परिषद् र कृषि प्राविधिक परिचालन प्रभावकारी बनाउने कुरा महत्वपूर्ण छन् । यो कुरामा पर्याप्त ध्यान नपुगेर नै बेथितिको जग बसेको हो भन्ने कुरा भुल्नुहुँदैन ।

दुई, वातावरण निरपेक्ष औद्योगिक मल (कृत्रिम रसायन) र विषादी हालेर खनिज ऊर्जामा संचालन हुने यान्त्रिकीकरण व्यावसायिकता नामको आधुनिक जडसूत्रवादले हाम्रो कृषि सपि्रंदैन, बरु झन् तहसनहस हुन्छ ।

तीन, कुशासन र भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेर नेतृत्वको नैतिक मूल्य स्खलित हुँदा नागरिकको भरोसा गुमेको छ । यस्तो बेला कम्तीमा निजी लाभका लागि पदीय शक्तिको दुरुपयोग नगर्नुहोला । यति मात्र काम पनि नागरिकमा आशा जगाउन पर्याप्त छ ।

चार, सँगै कृषि सपार्ने दूरदृष्टि, मार्गचित्र, मार्गदर्शन र मूल्य-मान्यता तपाईंका सारथिले समेत राम्ररी ठम्याउन सकेनन् भने कृषि रूपान्तरणका यी कुरा एकादेशको दन्त्य कथा मात्र हुनेछन् ।

अन्त्यमा, अहिलेको कृषिक्षेत्रले भोगेको बेथितिको डंगुरबाट यसलाई निकाल्न तपाईंलाई अभिमन्युलाई जस्तो छेक्न बाटोमा जयद्रथ छैन । छ भने त्यो तपाईंकै मनको बाघ मात्र हो । तपाईंको विवेक पुग्यो भने बिचौलिया र दलालको दबावमा यथास्थितिमै अल्झिन पुगेको कृषि रूपान्तरणको यात्रा ढिलै भए पनि सुरु हुन्छ । यो सबै गरेको हेर्न चार दशक असल नेतृत्व पर्खेको नेपालको कृषि क्षेत्र अरू केही समय पर्खने धैर्य राख्छ नै । बरु मन्त्रीज्यू तपाईं आफैं या तपाईंलाई मन्त्री बनाउनेहरूकै धैर्य भने कति रहन्छ कुन्नि ?

लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?