+
+

कम्मरबाट हरायो पटुका, किन बाँधिन्थ्यो पहिले-पहिले ?

डा. सुनिल पौडेल डा. सुनिल पौडेल
२०७९ चैत २२ गते १६:२६

पहिले बुढापाकाहरुले १२ हातेदेखि २१ हातेसम्मको पटुका कम्मरमा बाँध्थे । अहिले हाम्रो पहिरनबाट पटुका सर्लक्कै हराएको छ । बदलिंदो पहिरन शैली र कार्यशैलीले पनि पटुकाको चलन हराएको हो ।

यद्यपि त्यस्ता केही अवस्था हुन्छन्, जतिबेला पटुका बाँध्नु एकदमै उपयोगी हुन्छ । पटुकाले कतिपय सम्भावित स्वास्थ्य समस्याबाट बचाउँछ । खासगरी कम्मरको दुखाइ, हड्डी खिइने, नसा च्यापिने जोखिमबाट बच्न पटुका उपयोगी हुन्छ । त्यसैले सुत्केरी अवस्थामा, कुनै गह्रौं शारीरिक काम गरेको अवस्थामा, भार उठाएको अवस्थामा, लामो समय कुप्रिएर काम गर्नुपर्ने अवस्थामा पटुका बाँध्नु उत्तम हुन्छ ।

मेरुदण्डलाई भर

ढाडको तल्लो भाग कम्मरमा टिपिक्क मिलाएर पटुका बाँध्दा त्यो मेरुदण्डको त्यो भागलाई पटुकाले टेको दिने जस्तो काम गर्छ ।

ढाड कम्मर अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौं, यो शरीरको खम्बा हो । यो खम्बालाई टेको दिन पटुका उपयोगी हुन्छ । कम्मर, ढाडको दुखाइ नहोस् भन्नका लागि कम्मरमा पटुका बाँध्न सकिन्छ ।

श्रमपूर्वक गरिने काम जस्तो गह्रौं भारी उठाउने, कुप्रिएर काम गर्ने, खनजोत गर्ने काममा शरीरको सही आसन नमिल्दा हड्डी खिइने र नसा च्यापिने हुन्छ । यस्तो बेला पटुका बाँध्नु निकै लाभदायक हुन्छ ।

डा. सुनिल पौडेल

डोको तथा अन्य भारी बोकेर टाढा टाढा हिंड्दा कम्मरमा पटुकाको आड हुने हुँदा पिठ्यूँमा घाउ हुन पाउँदैन । महिलाहरुले पटुका बाँध्दा अगाडि फराकिलो गरेर बाँध्दा तल्लो पेटलाई पनि भर हुन्छ । जसले आङ खस्ने समस्यालाई पनि कम गर्छ । सुत्केरी बेला बढेको पेटलाई सर्लक्क घटाउन पनि यही तरिकाले पटुका बाँध्न सकिन्छ ।

ढाड, कम्मर दुख्ने कारण

मान्छेको इतिहास सात करोड वर्षको छ । सुरुवाती चरणदेखि नै मान्छे हिंड्ने, दौडिने, उफ्रिने वा शारीरिक रुपले एकदमै गतिशील भए । चाहे सिकार गर्ने क्रममा होस् वा खेतीपाती, मान्छेले ऐश आराम रोजेनन् ।

तर पछिल्लो ५० वर्षयता मान्छेले जीवनशैली बदल्दै गए । उनीहरुको गति धीमा हुँदै गयो र ऐश आरामपूर्ण जीवन रोज्न थाले । २० वर्षयता मान्छेको जीवन अरु सुस्त भयो । उनीहरु चाहिनेभन्दा बढी आराम गर्न थाले । शारीरिक सक्रियता ह्वात्तै घट्यो ।

गलत खानपिन, घाम नै नताप्ने (भिटामिन डीको कमी), तौल बढ्ने र व्यायाम तथा शारीरिक श्रमको कमीले पनि मेरुदण्ड नै एकदमै नाजुक भएर मेरुदण्डका अन्य रोग पनि बढ्ने क्रम बढ्यो ।

मान्छे अहिले खेतीपाती वा शारीरिक कामभन्दा कुर्सीमा बसेर गर्ने काम रोज्ने गर्छन् । घण्टौंसम्म उनीहरु कुर्सीबाट यताउता चलमलाउँदैनन् । यसरी बसेर काम गर्दा शरीरको माथिल्लो भागले कम्मरको तल्लो भागलाई थिचिरहेको हुन्छ । यसरी लामो समय बस्दा अन्य स्वास्थ्य समस्या त आउंछ नै त्यसमाथि बसाइको यो गलत आसनले हड्डी खिइने र नसा च्यापिने जस्ता समस्याले सबैलाई सताउन थालेको छ ।

हामीले सुत्ने बेलामा मात्र होइन, घर र अफिसमा बस्दा, काम गर्दा वा व्यायाम गर्दा समेत गलत आसनले गर्दा हड्डी खिइने र नसा च्यापिने जस्ता समस्या हरेक घरमा देख्न सकिन्छ ।

हाम्रा हजुरमुमा हजुरबुबाहरुलाई उनीहरुको जवानीमा त ढाड कम्मर दुख्ने भन्ने प्रायः देखिंदै देखिन्थेन र पछिसम्म पनि यस्ता समस्या कम देखिनुमा उनीहरुको सक्रियता र उहाँहरुले प्रयोग गर्ने लामो पटुकाको ठूलो भूमिका छ ।

बुढापाकाले मिलाएर पटुका बाँध्ने गर्थे, जसले उनीहरुलाई दिनभरि गह्रौं काम गर्न सहयोग गथ्र्यो र निहुरिएर काम गर्दा पनि गाह्रो हुँदैनथ्यो । ढाडलाई सहज बनाउन, दुखाइबाट बच्न पटुका बाँध्ने गरिन्थ्यो ।

पटुका बाँधेर हुन सक्ने हानि 

चौबीसै घण्टा पटुका बाँध्नु जरुरी छैन । अम्लपित्त, रिफ्लक्स ओसोफेजाइटिस जस्ता पेटका समस्या भएकाले कसेर पटुका बाँध्दा समस्या झन् बढ्न सक्छ । पटुकाले झुटो आशा पनि देखाउँछ । पटुका वा बेल्ट बाँधेकै त छु भनेर बढी वा अति गह्रौं काम गरेर झन् बढी हानि हुन सक्नेप्रति हामी सधैं सचेत रहनुपर्छ ।

ढाड दुख्यो भने पटुका बाँधेर कम भयो भनेर बस्नेहरु पनि हुन्छन् । दुखेको कम भयो भनेर पटुका बाँधेर धेरै वर्ष दुखाइ सहेर बस्नेहरु पनि छन् । त्यसो गर्नु लगत हो ढाड कम्मरको दुखाइ अलिअलि हुँदा नै विशेषज्ञ डाक्टरको सल्लाह दिनुपर्छ ।

पटुका बाँध्नु उपचार होइन, पटुका र बेल्ट आदिलाई सधैं बाँधिरहनुले कालान्तरमा ढाड कम्मरका मांसपेशी कमजोर हुँदै गएर उल्टो समस्या निम्त्याउन पनि सक्छ । यात्रा, गाह्रो तथा गह्रौं काममा भने यो लगाउनैपर्छ । अर्थात् यसको जरुरी कति वा कुन बेला हुन्छ, त्यसबेला मात्र प्रयोग गर्नुपर्छ ।

(प्राकृतिक तथा दुखाइरोग विशेषज्ञ डा. पौडेल इन्टरनेसनल हेल्थ रिसोर्ट, सतुंगल, काठमाडौंका निर्देशक हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?