+
+

तस्वीरमा हेर्नुस् उपनिर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १०:११

१० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा भइरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ बजेदेखि मतदान जारी छ ।

दिउँसो घाम हुने भएकाले मतदाताहरु बिहानैदेखि लाइनमा लागेर भोट हालिरहेका छन् । निर्वाचन अधिकृतहरुका अनुसार ज्येष्ठ नागरिक, बिरामी, अशक्त अपांग, किरियापुत्री लगायतलाई लाइनमा नबसी भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ । प्रहरीले निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक भइरहेको जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन भएको हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेकाले त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विगतमा जस्तो उपनिर्वाचनमा म्यादी प्रहरीहरु छैनन् । सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रबन्ध मिलाएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।

उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाइएको छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा अत्यावश्यक बाहेकका यातायातका साधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

चितवन २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । यसैगरी तनहुँ १ मा एक लाख २३ हजार ३०५ र बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन् ।

यी उम्मेदवारले पाउने छैनन् मतदान गर्न

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

 

यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावलीमा नाम  बारा क्षेत्र नम्बर २ मा नभएकाले उनले पनि मतदान गर्न पाउने छैनन् ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् । तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

यस्तै तनहुँ १ मा एमाले उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेले तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले भने व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

तनहुँ १ मा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । तनहुँ १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र छन् । तीमध्ये तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल छन् ।

यसैगरी बारा २ मा ८२ मतदानस्थल र १३८ मतदान केन्द्र छन् । तीमध्ये ६५ मतदानस्थल अति संवेदनशील र १७ सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

चितवन २ मा ४३ मतदानस्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?