+
+

दुई तिहाइ जनसंख्याको बसोबास नगरपालिकामा

अच्युत पुरी अच्युत पुरी
२०८० वैशाख १० गते १७:४९

१० वैशाख, काठमाडौ । २०७८ सालको जनगणना अनुसार नेपालको दुई तिहाइ जनसंख्याको बसोबास शहरी क्षेत्रमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार गाउँपालिका र नगरपालिकामा बसोबास गर्नेको जनसंख्या विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा १ करोड ९२ लाख ९६ हजार ७८८ रहेको छ । जुन कुल जनसंख्याको ६६.२ प्रतिशत हो ।

नगरपालिकालाई शहर र गाउँपालिकालाई गाउँ मान्ने हो भने दुई तिहाइ जनसंख्या शहरमा र एक तिहाइ मात्र गाउँमा बसोबास गर्छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ९८ लाख ७६ हजार ७९० मात्र छ । जुन कुल जनसंख्याको ३३.८ प्रतिशत हो । देशभर नगरपालिकाको संख्या २९३ रहेको छ भने गाउँपालिकाको संख्या ४६० छ ।

मुलुकको समग्र जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहँदा नगरपालिकाको वृद्धिदर १.३६ र गाउँपालिकाको वृद्धिदर ०.११ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालमा संघीयता कार्यान्वयन भएको थियो । जस अनुसार ७ वटा प्रदेश र ७५३ स्थानीय तह बनेका थिए । स्थानीय तहमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०६८ सालको जनसंख्यालाई पनि २०७२ सालको प्रशासनिक विभाजन अनुसार समायोजन गरेर तुलना गरेको छ । जस अनुसार हालको नगरपालिकाको संरचनामा २०६८ सालसम्म ६३.१९ प्रतिशत जनसंख्या थियो र गाउँपालिकामा ३६.८१ प्रतिशत जनसंख्याको बसोबास थियो ।

२०६८ सालमा नगरपालिकामा १७.१ प्रतिशत र गाउँ (तत्कालिन गाविस) मा ८२.९ प्रतिशत मानिस बसोबास गर्थे । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठ प्रशासनिक विभाजन अनुसार जनसंख्याको स्थितिमात्र हेरिएको बताउँछन् ।

स्थानीय तह पुनर्संरचनाका क्रममा तत्कालिन धेरै नगरपालिकामा नजिकका गाविसहरु गाभिएका थिए । गाविसहरु गाभ्दा सेवा सुविधा र विकासका पूर्वाधार पनि मूल्यांकन गरिएको थिएन ।

हिमाली भेगका गाउँमा धेरै जनसंख्या

भौगोलिक रुपमा हेर्दा तराई र पहाडी भेगमा धेरै जनसंख्या नगरपालिकाभित्र बसोबास गर्छन्, हिमालमा भने गाउँपालिकामा धेरै जनसंख्याको बसोबास रहेको पाइएको छ । तराईमा ७१.८ प्रतिशत जनसंख्या नगरपालिकाभित्र बस्दा २८.२ प्रतिशत मानिस गाउँपालिकामा बसोबास गर्छन् ।

पहाडमा ६३.३ प्रतिशत नगरपालिकामा बस्दा ३६.७ प्रतिशत मानिस गाउँपालिकामा बस्छन् । हिमालमा भने ६४.४ प्रतिशत मानिस गाउँपालिकामा बसोबास गर्दा ३५.६ प्रतिशत मानिस मात्र नगरपालिकामा बस्ने देखिएको छ । यसो हुनुमा तराई र पहाडमा ठूला शहर हुनु र ती शहरमा धेरै जनसंख्याको बसोबास देखिनु मूख्य कारण रहेको तथ्यांक कार्यालयको भनाइ छ ।

परिवारको आकार गाउँपालिकामा ठूलो

तथ्यांक कार्यालयका अनुसार नेपालमा नगरपालिकाको तुलनामा गाउँपालिकामा परिवारको संख्या ठूलो छ । देशभर परिवारको औसत आकार ४.३७ जना रहेको छ । जसमध्ये नगरपालिकामा ४.३१ जना र गाउँपालिकामा परिवारको औसतः आकार ४.५१ प्रतिशत रहेको छ ।

परिवारको आकार तराईमा ४.७३ जना, हिमालमा ४.३३ जना र पहाडमा ३.९९ जना रहेको छ । प्रदेश अनुसार मधेश प्रदेशमा परिवारको आधार सबैभन्दा ठूलो देखिन्छ । जहाँ एउटा परिवारमा ५.२९ जना छन् । सबैभन्दा कम बागमती प्रदेशमा ३.८९ जना रहेको छ ।

अन्य लिङ्गीको बसोबास नगरपालिकामा अधिक

२०७८ सालको जनगणनामा अन्य लिङ्गी (यौनिक तथा लैङ्गिक अल्पसंख्यक) को समेत गणना गरिएको थियो । तथ्यांक अनुसार देशभर २ हजार ९२८ जना अन्य लिङ्गी जनसंख्या रहेको छ ।

जसको ७२.३ प्रतिशत अर्थात २ हजार ११८ जना नेपालमा बसोबास गर्छन् । २७.७ प्रतिशत अर्थातः ८१० जना गाउँपालिकामा बसोबास गर्ने देखिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?