+
+

समाजवादी मोर्चाको यात्रा, गन्तव्य नेकपा

समाजवादी मोर्चा हुँदै नेकपातिर फर्किने प्रचण्ड–माधव रोडम्यापप्रति कस्तो होला एमाले प्रतिक्रिया ?

रामकुमार डिसी रामकुमार डिसी
२०८० वैशाख १० गते २१:२७

१० वैशाख, काठमाडौं । दुई अलग कम्युनिस्ट पार्टीका नेता भएर पनि करिब उस्तै बोली बोल्दैछन् पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल ।

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपाल केही दिनयता एउटै सार्वजनिक मञ्चमा बाक्लै देखा परिरहेका छन् । आगामी योजना र कार्यदिशाबारे उनीहरुबीच कुनै भिन्नता सुनिँदैन, बरु एक अर्कालाई प्रोत्साहित गरिरहेका हुन्छन् ।

सत्ता साझेदार भएका कारणले मात्रै उनीहरु यसरी भेटिरहेका भने होइनन् । दुई दिनअघि पनि उनीहरु दुई कार्यक्रममा सँगै सहभागी भए । शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक सभा र आइतबार एकीकृत समाजवादीले नेकपा स्थापना दिवसकै सन्दर्भमा आयोजना गरेको विचार गोष्ठीमा उनीहरु एक साथ गए ।

आइतबार पनि यस्तै भयो । दुवैले कार्यक्रममा साझा घोषणा गरे–समाजवादी मोर्चाको ।

उसो त माओवादी केन्द्र र नेकपा एसका बीचमा समाजवादी केन्द्र वा मोर्चा निर्माणको कुरा नयाँ भने होइन । कम्युनिस्टहरु सत्तामा बसिबसी पनि मोर्चा चलाउन सक्छन् । प्रचण्ड र नेपालबीच अहिलेको सल्लाह पनि त्यसैको वरिपरि छ । त्यसमा उनीहरुले विचार मिल्नेहरुलाई पनि संगठित गर्न चाहेका छन् ।

विशेष गरी नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संघीय चुनावअघि नै यस्तो मोर्चा निर्माणको कुरा गरिरहेका थिए । जसपा फुटाएर नेपाल समाजवादी पार्टी गठन गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यसमा मिसिएका थिए ।

केही प्राविधिक कठिनाइ र नेताहरुका शंका, आशंकाले मंसिरको चुनावका बेला समाजवादी मोर्चा घोषणा हुन सकेन । चुनाव सकिएपछि पनि यसले खासै प्राथमिकता पाएन ।

प्रचण्ड र माधव नेपाल दुवैले अब भने ‘छिट्टै समाजवादी मोर्चा बन्ने’ घोषणा गरेका छन् । प्रचण्ड भन्दा पहिले बोलेका माधव नेपालले आफूहरु छिट्टै मोर्चा घोषणा गर्न गइरहेको जानकारी दिए ।

‘समाजवादी मोर्चा निर्माण गर्ने सोेच पनि अगाडि सारेका छौं’, कार्यक्रममा उनको भनाइ थियो, ‘उहाँ (प्रचण्ड) ले पनि यो समाजवादी मोर्चाको कामलाई छिटो गरौं भनेर ताकेता गर्दै हुनुहुन्छ । र, छिट्टै हामी समाजवादी मोर्चा जनताको सामू घोषणा गर्न गइरहेका छौं ।’

नेपालले मोर्चामा सहमत हुने र सहभागी हुन चाहने अरु समूहसँग पनि कुराकानी भइरहेको जानकारी गराए । त्यसपछि बोलेका प्रचण्डले पनि अध्यक्ष नेपालको त्यो घोषणालाई अनुमोदन गरे । उनले पनि छिट्टै समाजवादी मोर्चा घोषणा गर्न लागेको जानकारी दिए ।

मोर्चा हुँदै नेकपातिर

समाजवादी मोर्चा निर्माणपछिको गन्तव्य के हुन्छ भन्नेबारे पनि दुवै नेताले समान धारणा राख्दै स्पष्ट पार्ने प्रयास गरे । विचार, नीति र मन मिलेमा मोर्चा पार्टीमा रुपान्तरण हुन सक्ने समेत नेपालको भनाइ थियो ।

‘अझै त्यो भन्दा अगाडि विचार पनि मिल्यो, नीति सिद्धान्त पनि मिल्यो, राजनीतिक कार्यदिशा अनि संगठनात्मक सोच तथा मन मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं’, उनले भने । र, प्रचण्डसँग मन मिलिरहेको भन्दै चाँडै पार्टी एकताको संकेतसमेत गरे ।

‘किनभने हाम्रो दिलको धड्कन उस्तै–उस्तै ढंगले धड्किरहेको छ’, नेपालको भनाइ थियो, ‘कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेको छ ।’

प्रचण्डले भने मोर्चा हुँदै पुग्ने अझैं अगाडिको बाटोबारे खुलेर बोले । उनले मोर्चा हुँदै नेकपातिर फर्कने र त्यसका सबैलाई अपिलसमेत गर्ने बताए । ‘छिटै, केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरिने छ र त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जाने छौं’, प्रचण्डको भनाइ थियो, ‘र, त्यो मोर्चाले नेकपातिर फर्कनको लागि सबैलाई अपील गर्ने छ । किनकी, त्यो नेकपा एकाध नेताहरुको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम कार्यकर्ताले अनुमोदन गरेको एकता हो । त्यो एकता हामीद्वारा प्रस्तावित एकता हो । त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौं ।’

३ जेठ २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको थियो । एकताअघि दुई पार्टीबीच २०७४ को आम चुनावमा भएको गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो । र, केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार गठन भएको थियो । तर, नेताहरुबीच चर्किएको शक्ति संघर्षले त्यो एकता तीन वर्ष जति पनि टिक्न सकेन । विवादका बीच २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा पार्टी निर्माणको घोषणा बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो ।

प्रचण्डले अब संघर्ष मात्रै नभएर विगतको त्यो घटनाबाट शिक्षा लिएर एकतावद्ध हुने आवश्यकता रहेकामा समेत जोड दिए । ‘हाम्रो जिम्मेवारी ती अनुभवबाट शिक्षा लिएर फेरि कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्ने हो’, उनले भने, ‘अब संघर्ष मात्रै भन्ने होइन । एकता, संघर्ष र रुपान्तरण । नयाँ आधारमा नयाँ एकता ।’

प्रचण्डले त्यस्तो एकताका लागि आह्वानसमेत गरे । ‘अहिले पनि यो देशको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताका निम्ति सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ, आउनुहोस् सँगसँगै’, उनको भनाइ थियो, ‘बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रुपले समीक्षा गरौं, आत्मसमीक्षा गरौं । र, राष्ट्रको हितमा एकताको निम्ति फेरि पहल गरौं ।’

किन फेरि नेकपातिर ?

पुनः वाम एकता वा नेकपा ब्यूँताउने कुरा गर्नेहरुलाई यसअघि ठूला नेताहरुले निराश पार्ने जवाफ फर्काउथेँ । सबै भन्दै पहिले नेकपा एकताको कुरा गरेर अभियान नै चलाएका नेता बामदेव गौतम यसबाट निराश भए ।

गौतमपछि एमालेमा छँदै घनश्याम भूसालले पनि नेकपा ब्यूँताउने कुरा गरेका थिए । पहिलोपटक ८ चैत २०७८ मा औपचारिक रुपमा भूसालले नेताहरुलाई त्यसका लागि आह्वान गरेका थिए । त्यसपछि पनि उनी यसबारे बोलिरहे ।

उनको आह्वानलाई एमाले अध्यक्ष ओलीले ‘अनावश्यक धुन बजाएको’ संज्ञा दिएका थिए भने प्रचण्ड र नेपालले समेत सम्भव नभएको जवाफ फर्काउथेँ । भूसालले त्यसपछि एमाले त्याग्दै गत मंसिरको चुनाव स्वतन्त्र रुपमा लडे र पुसमा एकीकृत समाजवादीमा प्रवेश गरे । २९ पुसमा औपचारिक कार्यक्रम गरेर एकीकृत समाजवादी प्रवेशको घोषणा गर्दा पनि भूसालले त्यसलाई दोहोर्‍याएका थिए ।

त्यसपछि राष्ट्रपति निर्वाचनताका माधव नेपालले नेकपा ब्यूँताउनुपर्ने बताएका थिए । प्रचण्डले भने नेकपा ब्यूँताउनेबारे पहिलोपटक बोलेका हुन् ।

पहिले यसबारे सकरात्मक नसुनिएका नेताहरु यसबारे बोल्नुको कारण के हो त ? उनीहरुलाई अहिले किन त्यस्तो आवश्यकता पर्‍यो ?

प्रचण्ड स्वयंले यसको जवाफसमेत दिएका छन् । ‘अहिले विचार, राजनीतिक मूल्य, मान्यता भन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने कोशिस भइराखेको छ’, प्रचण्डको भनाइ छ, ‘हजारौंको बलिदान र दशकौंको संघर्षबाट प्राप्त गरेका उपलब्धीहरुमाथि प्रहार गर्ने दुस्साहस भएको छ । बामपन्थी, कम्युनिष्ट र देशभक्तले नै त्यसको प्रतिकार गर्नुपर्ने छ ।’

प्रचण्डको संकेत पूर्व राजा ज्ञानेन्द्र शाहका सक्रियता र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको उदयतिर छ । उनी मात्रै होइन, अन्य नेताहरुले पनि यस्तै अभिव्यक्ति दिने गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘डरलाग्दो प्रतिगामी हावा बग्न थालेको’ टिप्पणी हिजो मात्रै गरेका थिए ।

नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा भट्टराईले भनेका थिए, ‘झट्ट हेर्दा त नदेखिन सक्छ, तर वैचारिक ढंगले अग्रगामी सोचविरुद्ध यहाँ पनि विस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ ।’

उनले अगाडि भनेका थिए, ‘जनतामा असन्तुष्टि देखाउन सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठीक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’

त्यही कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले पनि भनेका थिए, ‘हामी अलग अलग बस्दा शक्ति छरिएको हुन्छ । त्यसले गर्दा प्रतिक्रियावादीहरुले अवसर पाउँछ । त्यसकारण हामी मिल्नुपर्छ । एकैठाउँमा आउनुपर्छ ।’

एमाले महासचिव शंकर पोखरेलले समेत बिहीबार बुटवलमा आयोजित पार्टी कार्यक्रममा ‘अस्थिरता बढाउन पुराना दलविरुद्ध अनर्गल प्रचार भएको’ टिप्पणी गरेका थिए ।

नेकपा ब्यूँताउने प्रस्तावमा भने एमालेले प्रतिक्रिया जनाइसकेको छैन । यद्यपि प्रचण्ड भने एमाले पनि सकारात्मक हुनेमा आशावादी देखिए । ‘यो ऐतिहासिक दिनबाट मोर्चा र एकताको नयाँ अभियान सुरु गरौं’, उनको भनाइ छ, ‘त्यो अभियानले मलाई विश्वास छ, एमालेभित्र पनि एउटा ठूलो ‘डिबेट’ खडा गर्ने छ । र, फेरि ध्रुवीकरण गरेर नयाँ इतिहास रचना गर्ने छौं ।’

महासचिव पोखरेलले मोर्चाबन्दी र नयाँ एकताको बाटोतर्फ सकारात्मक रहेको संकेत गरे पनि अध्यक्ष ओलीले यसबारे के सोच्दैछन् भन्ने कुरा नै यसमा निर्णायक रहने छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?