+
+

परराष्ट्र मन्त्रालयले भन्यो : सुडानबाट सम्पर्कमा आएका १९ नेपाली सुरक्षित छन्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते २०:३९

११ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको बताएको छ । पछिल्लो समय सुडानमा सैनिक सरकार र अर्धसैनिक बलबीचको भिडन्तका कारण सुरक्षा अवस्था जटिल भएको छ ।

असुरक्षाका कारण धेरै देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । नेपालीहरु भने १९ जनाको सूची तयार भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

तीबाहेक तीनजना नेपाली शान्ति सैनिकहरु २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको र खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीले पनि २३ अप्रिलमै खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ । उनीहरु त्यहाँबाट हवाई सेवा मार्फत युगाण्डा जाने तयारी रहेको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले उच्च सतर्कता र सबै पक्षसँग समन्वय गरिरहेको बताएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत र सुडानी निकायसँग निरन्तर सम्पर्कमा रहेर विवरण अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र आपतकालीन अवस्थामा कायरोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?