+
+

हराउँदै गएको ‘सुकुल भोज’

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख १२ गते १८:३४
फाइल तस्वीर

काठमाडौं । नेवार समुदाय चाडपर्व, जात्रा जस्ता मौलिक परम्पराले जति सम्पन्न छ, उति नै खानेकुरा र खाने शैलीले पनि । नेवार समुदायमा हरेक महिनाजसो नै कुुनै न कुनै भोज भइरहेको हुन्छ । परिवारका सदस्य, आफन्त र नातेदारहरुको जमघट गर्नु भोजको मुख्य उद्देश्य हुन्छ ।

उनीहरुको भोज खाने शैली पनि आफ्नै तरिकाको हुन्छ । परालबाट बनेको सुकुलमा लहरै बसेर मीठामीठा परिकार खानुको बेग्लै मज्जा हुन्छ । नेपाल भाषामा सुकु भ्वय भनिने यो सुकुल भोज हिजोआज पनि हराउँदै गए झैं लाग्छ । सुकुलको ठाउँ अहिले कुर्सी र टेबुलले लिन थालेका छन् ।

व्यस्तताका कारण हिजोआज सुकुलमा बस्ने चलन हराउँदै गएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘नेवार समुदायका मानिसहरु यो भोजमा खुबै रमाउँथे । सबै जना मिलेर रमाइलो गरेर भोज खान्छन् र खुवाउँछन् पनि,’ उनी भन्छन्, ‘हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यो भोज तुलनात्मक रुपले खान लामो समय लाग्छ । किनकि यसमा आफूले मन परेको लियो, खायो हुने होइन । लहरै खानाको परिकार ल्याइन्छ र नटुंगेसम्म उठ्न पाइँदैन ।’

अहिले पार्टी प्यालेसमा हुने भोजमा जस्तो जे खान मन लागेको छ, त्यो मात्र लिएर उठिहाल्न सुकुल भोजमा पाइँदैन ।

सुकुल भोजलाई असजिलो बनाउने अर्को कुरा पहिरन पनि हो । आधुनिक पहिरन लगाएर पलेंटी कसेर बस्न सहज हुँदैन । स्कर्ट, पाइन्ट, हाफ पाइन्ट, लेहेंगा जस्ता पहिरन लगाएर सुकुलमा बस्न असजिलो हुन्छ । सोही कारण पनि सुकुल भोजको प्रचलनमा कमी आएको धौभडेल बताउँछन् ।

परिवर्तित जीवनशैलीका कारण पनि अहिले मानिस व्यस्त छन् । लामो समयसम्म भोजमा बस्ने समय पनि हुँदैन । जसकारण पनि सुकुल भोज हराउँदै गएको छ ।

संस्कृतिविद् धौभडेल युवापुस्तामा सुकुल भोजको महत्व बुझाउन नसकिएको बताउँछन् । ‘परम्परागत नेवारी भोज स्वास्थ्यवद्र्धक हुने भए पनि अहिलेका पुस्ता यसलाई तयार पार्न झन्झट मान्छन्,’ उनी भन्छन्, ‘पार्टी प्यालेसमा डिनर खाँदा हामीलाई चाँडै भोक मेट्ने र केही समयपछि फेरि भोक लाग्ने हुन्छ । साथै कुनै बेला पेट गडबडी पनि भएको हुन्छ ।’

कहिले खुवाइन्छ सुकुल भोज ?

नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण, गुठीको भोजमा सुकुल भोज गर्ने चलन छ । परिवारको कोही सदस्यको मृत्यु संस्कारपछि पनि सुकुल भोज गर्ने परम्परा छ ।

पहिले सबै जात्रा र चाडपर्वमा सुकुल भोज खुवाउने चलन भए पनि अहिले भने गुठीको भोज र मृत्यु संस्कारमा मात्रै यो सीमित जस्तो भएको धौभडेल बताउँछन् । अहिले अधिकांश भोजभतेर पार्टी प्यालेसमा गर्ने चलन तीव्र रुपमा बढेको छ ।

सुकुल भोजमा के के परिकार हुन्छन् ?

झ्व भ्वये अर्थात् सुकुल भोजमा चिउरा, लप्ते, अचार, हरियो लसुन, द्याकागु ला (झोल भएको राँगाको मासु), गेडागुडीका परिकार (केराउ, चना, सिमी, सिम्पु) काउली, आलु, छ्याला (तामाको झोल भएको तरकारी) तकोला (ठूलाठूला टुक्रा गरिएको राँगाको मासु), हरियो साग अमिलो, भुटन र दही समावेश गरिन्छ । भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाँजर र फलफूलको केही टुक्रा सलादको रुपमा राखिन्छ ।

सुकुल भोजको सुरुवात कहिले भयो ?

संस्कृतिविद् धौभडेल यही मितिमा नै सुकुल भोज सुरु भयो भन्न नसकिने बताउँछन् । नेवारहरुले आफ्नो परम्परा र सभ्यताको विकास गर्ने क्रममा सुकुल भोजको परिकल्पना गरेको हुनसक्ने उनी बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?