+
+

महत्वाकांक्षा राख्‍नु जरुरी छ ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख १८ गते १३:५९

काठमाडौं । धेरै महत्वाकांक्षा राख्नु राम्रो हुँदैन भनिन्छ । फिल्ममा खलपात्रको रुपमा देखाइएको व्यक्ति धेरै महत्वाकांक्षा भएको देखाइन्छ र उसको अवसान नराम्रोसँग भएको प्रस्तुत गरिन्छ ।

तर जीवनमा महत्वाकांक्षा पनि जरुरी छ । बिना सपना र महत्वाकांक्षा मानिस प्रगतिपथमा लाग्न सक्दैन । करिअरका हिसाबले महत्वाकांक्षी हुनु राम्रो हो, तर व्यक्तिगत जीवनमा भने धेरै महत्वाकांक्षी बन्नु नकारात्मक पनि हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन् ।

‘अहिलेको पुँजीवादी समाजमा प्रायः सबै मानिस महत्वाकांक्षी नै हुन्छन् । विशेषगरी गाउँबाट सहर पस्नेहरूमा त झन् धेरै महत्वाकांक्षा हुन्छ,’ जोशी भन्छन्, ‘उमेरको कुरा गर्ने हो भने २० देखि ३५ वर्षसम्मका व्यक्ति बढी महत्वाकांक्षी हुन्छन् । जहाँ उसले आफ्नो लागि मात्र नभएर परिवार र समाज परिवर्तनको लागि पनि महत्वाकांक्षा राखेको हुन्छ ।’

महत्वाकांक्षा किन जरुरी छ ?

महत्वाकांक्षा राख्ने व्यक्तिले त्यसलाई पूरा गर्न धेरै मेहनत पनि गर्न प्रयास गर्छन् । ‘महत्वाकांक्षा अर्थात् जीवनमा केही हासिल गर्ने तीव्र इच्छा छैन भने जीवनको उत्तराद्र्धमा मैले केही पनि प्रगति गर्न सकिन, उत्पादनशील उमेरलाई त्यसै खेर फालें भनेर पछुतो लाग्न सक्छ । त्यसैले जीवनमा केही न केही कुराको महत्वाकांक्षा राख्नुपर्छ,’ मनोविद् जोशी भन्छन् ।

महत्वाकांक्षा सुरुवात आवश्यकताबाट हुन्छ । जो व्यक्तिले जीवनमा केही नौलो काम गर्ने चुनौती लिंदैन, उसले सफलता हात पार्न सक्दैन । ‘महत्वाकांक्षा राख्ने व्यक्तिले कहिलेकाहीं असम्भव लाग्ने कुरा पनि हासिल गरिरहेका हुन्छन्,’ जोशी भन्छन्, ‘त्यसैले महत्वाकांक्षा होस् या नहोस्, आफ्नो प्राथमिकता निश्चित हुनुपर्छ ।’

जीवनमा प्राप्त गर्न चाहेको कुरा तय गरेर सोही अनुसार आफ्नो कदम चाल्नुपर्ने उनी सुझाउँछन् । ‘त्यो चाहना पनि महत्वाकांक्षा नै हो । महत्त्वाकांक्षा भएको व्यक्तिले नै जीवनमा प्रगति गर्न सक्छन्,’ जोशी भन्छन् ।

व्यक्तिमा महत्वाकांक्षा भएन भने के हुन्छ ?

आफ्नो जीवनमा परिवर्तन आओस् भन्ने चाहना सबैको हुन्छ । जीवनशैली आजभन्दा भोलि राम्रो होस् भन्ने पनि लाग्छ तर यो सोचेर मात्रै हुने होइन । यसका लागि काम गर्नुपर्छ । आफ्नो जीवनलाई फरक बनाउन चाहनुहुन्छ भने तपाईंले दैनिक कार्यभन्दा फरक केही गर्नुपर्ने मनोविद् जोशी सुझाउँछन् ।

‘यदि तपाईंसँग महत्वाकांक्षा छैन भने आफ्नो वर्तमान जीवन र जीवनशैलीलाई कम्फर्ट जोन बनाउनु हुन्छ र केही नयाँ गर्ने सोच पनि राख्नु हुनेछैन,’ जोशी भन्छन्, ‘यसो गर्दा जीवनस्तर जहाँको त्यहीं रहन्छ । व्यक्तिमा महत्वाकांक्षा तथा केही नयाँ गर्ने सोच भएन भने जीवन निराश हुन्छ ।’

महत्वाकांक्षा नहुँदा व्यावसायिक जीवन मात्र होइन, व्यक्तिगत जीवन पनि राम्रो हुँदैन । जोशी भन्छन्, ‘यदि कुनै परिवारमा श्रीमती धेरै महत्वाकांक्षी छिन् तर श्रीमान् छैनन् भने श्रीमान् आफ्नो पार्टनरलाई मनाउन वा उसको लागि केही नयाँ गर्न छाड्छन्, जसले व्यक्तिगत जीवन पनि बोरिङ हुन्छ ।’

तर धेरै महत्वाकांक्षा राम्रो होइन

नेपालीमा एउटा उखान छ ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ । यसको अर्थ केही कुराको उद्देश्य राखिन्छ वा महत्वाकांक्षा राखिन्छ भने त्यसलाई पूरा गर्नका लागि आफू र आफ्नो परिवार सक्षम छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

विश्व व्यापारीकरण र प्रतिस्पर्धात्मक समाजले गर्दा केही व्यक्ति छोटो समयमा नै धनी हुन खोज्ने, रातारात पूरै जीवनशैली परिवर्तन होस् भन्ने चाहन्छन् । यस्तो धेरै महत्वाकांक्षा राख्ने व्यक्तिको उद्देश्य पूरा नहुँदा चिन्तित हुन्छन् र त्यही चिन्ताले गर्दा नराम्रो कदम पनि  उठाउन सक्ने जोशी बताउँछन् ।

‘कुनै व्यक्तिले धेरै महत्वाकांक्षा राखेर व्यवसाय गर्नका लागि आफ्नो घर जग्गा सबै बेचेर व्यवसाय सुरु गर्‍यो । केही कारणवश उसको व्यवसाय सफल हुन सकेन भने उसलाई चिन्ताले सताउन थाल्छ । त्यही चिन्ता र नैराश्यताले गर्दा ऊ आत्महत्याको बाटो रोज्ने अवस्थामा समेत पुग्न सक्छ,’ उनी भन्छन् । त्यसैले महत्वाकांक्षा आवश्यक छ तर उच्च महत्वाकांक्षाले दुर्घटना समेत निम्ताउन सक्नेतर्फ सचेत हुनुपर्ने जोशी सुझाउँछन् ।

महत्वाकांक्षा नै नहुने मान्छे पनि हुन्छन् ?

केही व्यक्ति महत्वाकांक्षा नै नहुने पनि हुन्छन् । नेपाल, भारत लगायत देशका धेरै सरकारी जागिरेहरुमा यस्तो पाइने मनोविद् जोशी बताउँछन् । ‘अवकाशपछि पेन्सन आइहाल्छ, किन अरु काममा टाउको दुखाइरहनु भन्ने सोच उनीहरुमध्ये धेरैमा देखिन्छ,’ उनी भन्छन् ।

गाउँघरतिर पुरानो पुस्तामा पनि धेरै महत्वाकांक्षा हुँदैन । ‘खान लाउन पुगेको छ, छोराछोरी पढ्दैछन् यति भए पुगिहाल्यो नि भन्ने हुन्छ,’ जोशी भन्छन्, ‘उनीहरूलाई धेरै महत्वाकांक्षा राख्न हुँदैन भन्ने कुरामा कुनै आध्यात्मिक कुराले प्रभाव पारिरहेको हुन्छ । कसैमा भने हाम्रो हैसियत छैन, त्यसैले महत्वाकांक्षा राख्नु हुँदैन भन्ने सोच पनि हुन्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?