
१९ वैशाख, विराटनगर। अध्यक्षले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनायता प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न रोक लगाएकी हुन् ।
मन्त्रालयले १३ चैतमा कानेपोखरीका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर उनको ठाउँमा मुख्यमन्त्री कार्यालय मातहत रहेका शाखा अधिकृत थेगुवालाई पठाएको थियो ।
घिमिरेको सरुवा रोक्न पालिका अध्यक्ष इङ्नामसहितको टोली सामान्य प्रशासन मन्त्रालय पुगेको थियो । तर मन्त्रालयबाट सकारात्मक जवाफ नपाएपछि अध्यक्ष इङ्नामले सरुवा भएर आएका नयाँ कर्मचारीलाई हाजिरमा रोक लगाएकी हुन् ।
३ वैशाखमा अध्यक्ष इङ्नामले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी पूर्व जानकारीबिना कर्मचारी सरुवा गरेको भन्दै नयाँ कर्मचारीलाई हाजिर गराउन नसक्ने भन्दै पत्र पठाएकी थिइन् । आर्थिक वर्षको संवेदनशील क्षणमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा विकास खर्चको लक्ष्यमा असर गर्ने पत्रमा उल्लेख छ ।
‘तीन तहका सरकारबीचको समन्वय र सहकार्यको न्यूनतम मर्म र भावना अनुसार चल्नुपर्ने संघीय व्यवस्थामा स्थानीय सरकार प्रमुखलाई सूचित समेत नगराई मातहतका कर्मचारी सरुवा गर्नाले संघीयताको विकासमा नकारात्मक असर पर्ने देखिन्छ’, अध्यक्ष इङ्नामले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ,‘…तहाँस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कानेपोखरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न सरुवा भई आउनुभएका विष्णुकुमार थेगुवालाई हाजिर गराउन असमर्थ रहेको व्यहोरा अवगत गराउँदछु ।’
सरुवाको निर्णय भएपछि प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बिदा बसेका थिए । सरुवा रोक्ने पालिका नेतृत्वको प्रयास असफल भएपछि उनले १३ वैशाखमा रमाना लिएका थिए । उनको स्थानमा गएका थेगुवा पनि पालिकाले हाजिर नगराएपछि पुरानै स्थानमा फर्किएका छन् ।
एक महिनायता गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृृतको भरमा चलेको छ । गाउँपालिका उपाध्यक्ष भोला अधिकारीका अनुसार लेखा अधिकृत अजित भट्टराईलाई निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिइएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने टुङ्गो नभएको उनले बताए ।
अध्यक्ष इङ्नामले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी नदिई सरुवा गरेकाले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको बताइन् । कर्मचारी सरुवा गर्दा मन्त्रालयले सल्लाह गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4