+
+

साउदीमा साढे तीन वर्ष जेल बसेपछि निर्दोष

क्षतिपूर्तिका लागि गुहार माग्दै

सागर चन्द सागर चन्द
२०८० वैशाख २१ गते १९:५५
वैदेशिक रोजगार बोर्डमा बायाँबाट क्रमश: इन्द्रजित, कृष्णबहादुर, बासुदेव, रामप्रसाद र धनबहादुर ।

२१ वैशाख, काठमाडौं । ‘बेस्ट अफ लक फर योर ब्राइट फ्युचर..।’ बासुदेव ठाकुरको श्रम स्वीकृतिमा लेखिएको छ । उज्ज्वल भविष्यको कामना गरिएको श्रम स्वीकृतिको कागज देखाउँदै उनी वैदेशिक रोजगार बोर्डको कोठाचोटा चाहारिरहेका छन् ।

उनको साथमा छन् रामप्रसाद ठाकुर, धनबहादुर तामाङ, इन्द्रजित मण्डल र कृष्णबहादुर गाईसी । यी पाँच जना साउदी अरेबियामा आफूहरुले भोग्नुपरेको पीडा सुनिदिने कर्मचारी खोजिरहेका छन् ।

राम्रो पैसा कमाउने र आर्थिक स्थिति सुधार्ने आशामा साउदी पुगेका थिए इलामको नगरपालिका–९ का धनबहादुर तामाङ, धनुषाको कमला नगरपालिका– ५ का रामप्रसाद ठाकुर, सिरहा नगरपालिका–१२ का बासुदेव ठाकुर, भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का कृष्णबहादुर गाइसी र महोत्तरीको लोहारपट्टि नगरपालिका– ५ का इन्द्रजित मण्डल ।

घर व्यवहार धान्ने खर्च जुटाउन पराई देश गएका यी पाँच जनाले साढे तीन वर्ष साउदीको अध्यारो जेलमा बिताउनुपर्‍यो । ‘तीन वर्ष ९ महिना दुई दिन’ इन्द्रजितले जेलमा बिताएको हरेक पल सम्झेका छन् ।

१६ कात्तिक ०७५ मा साउदी अरेबियाको दमामस्थित फर्निचर उद्योग अल अन्सारी प्यालेसमा जान तयार हुदै थिए यी पाँच जना । एकाबिहानै आइपुगेको प्रहरीले उनीहरुलाई पक्राउ गर्‍यो ।

रामप्रसाद ठाकुर ।

उनीहरु बस्ने भवनमै बस्ने एकजना भारतीय कामदार (अफरोज आलम) को अघिल्लो रात मृत्यु भएको रहेछ । ‘अफरोज भन्ने मान्छे मरेको रहेछ भन्ने कुरा त हामीले पुलिस चौकी पुगेपछि थाहा पायौं’, रामप्रसाद ठाकुरले सुनाए । अफरोज उनीहरुले नै काम गर्ने फर्निचर कम्पनी अल अन्सारी प्यालेसमा गाडी चालकका रुपमा कार्यरत थिए ।

साउदी पुगेर रामप्रसाद ठाकुरले काम सुरु गरेको १८ महिना मात्र पुगेको थियो । ‘छोरीको बिहेमा लागेको ६ लाख ऋण तिरिसकेकै थिइन’, रामप्रसाद भन्छन्, ‘जेल पर्नुपर्‍यो ।’ साढे दुई लाख रुपैयाँ ऋण तिर्न बाँकी नै छ ।

प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई ६ महिनासम्म हिरासतमा राख्यो । त्यतिबेला उनीहरुले कसैसँग सम्पर्क गर्न पाएनन् । अरु बेला दिनकै तीन/चार पटक फेसबुक मार्फत परिवारसंग कुराकानी गर्थे भक्तपुर चाँगुनारायण नगरपालिका– ३ का कृष्ण बहादुर गाईसी । ‘६ महिनासम्म सम्र्पक नभएपछि यता घरमा बिचल्ली भयो’, उनी सुनाउँछन्, ‘मरेको खबर पुगेछ यता त ।’

हिरासतमा पनि उनीहरु पाँच जनालाई एउटै कोठमा राखिएन । ‘हामी सबैलाई छुट्टाछुट्टै कोठामा राखेका थिए’, इन्द्रजित मण्डल सुनाउँछन् ।

६ महिनापछि उनीहरुलाई दमामकै जेलमा सारियो । अनि बल्ल उनीहरुले नेपालमा रहेका परिवारसंग कुराकानी गर्न पाए । ६ महिनापछि परिवारसंग कुराकानी हुँदा उनीहरु दोधारमा परे, ‘जेल परेँ भनेर सुनाउनु कि जिउँदै छ भन्नु ? जिउँदै छु भनौं भने कमाउन आको मान्छे जेल पर्‍यौं, जेल पर्‍यौं भनौं भने अपराध केही गर्‍या छैन ।’

बिना कसुर जेलमा बसेको १५ महिना (पुस ०७६) पछि अदालतले यी पाँच जनालाई हाजिर जमानीमा रिहा गर्न आदेश दियो । तर उनीहरु रिहा हुन सकेनन् ।

इन्द्रजित मण्डल ।

‘त्यहाँको पुलिसले हामीलाई बुझेर लैजाने मान्छे बोलाऊ भन्यो’, इन्द्रजित सुनाउँछन् । उनीहरुले आफू काम गर्ने कम्पनीलाई बोलाउन खोजे । तर, कम्पनीले उनीहरुको जमानी बस्न मानेन ।

‘कम्पनीले नमानेपछि हामीले दुतावासलाई गुहार माग्यौं,’ कृष्णबहादुर गाइसीले सुनाए, ‘हामी त सरकारी मान्छे हौं हामीले मुद्धा मामिलामा जमानी गर्न मिल्दैन भन्यो दूतावासले ।’

जमानी गर्दिने कोही नभएपछि उनीहरु जेलबाहिर आउन पाएनन् । ‘अदालतले हाजिरीमा छाड्नु भन्यो छाडिदिनुहोस’, एकदिन इन्द्रजितले साउदी प्रहरीलाई भने । तर, साउदी प्रहरीले जमानी नहुँदासम्म छाड्दिन भन्यो ।

पक्राउ परेको तीन वर्ष ९ महिनापछि १९ साउन ०७९ मा उनीहरु पाँचै जना निर्दोष सावित भए । तर, रिहा हुँदासम्म उनीहरुले धेरैथोक गुमाइसकेका थिए । बासुदेव ठाकुरले आमा बितेको ४ दिनपछि जेलमै खबर पाए । कलेजको फी तिर्न नसकेपछि कृष्णबहादुर गाईसीका छोराले ११ कक्षा पढ्दापढ्दै पढाइ छाडे । इन्द्रजित मण्डलकी श्रीमतीले अर्काको खेतबारीमा काम गरेर छोराछोरी पालिन् ।

कृष्णबहादुर गाइसी ।

जागिर र पैसा कमाउने आश गुमाएर जेलबाट बाहिर निस्केपछि उनीहरुलाई रोजगारदाता कम्पनीले फेरि काममा राखेन । गैरआवासीय नेपाली र नेपाली दूतावासले अप्ठ्यारोमा परेका कामदारका लागि बनाएको सेल्टरमा गए यी पाँच जना ।

सेल्टरमा पुगेपछि उनीहरुले घर फर्किने सोच बनाए । तर, रोजगारदाता कम्पनीले उनीहरुलाई कालोसूचीमा राखेको थियो । ‘कम्पनीले कालो सूचीबाट नहटाईकन देश छाड्न पाइदैन’, दूतावासका कर्मचारीले उनीहरुलाई भने ।

त्यसपछि उनीहरु फेरि कम्पनीसंग हारगुहार गर्न थाले । दूतावासका कर्मचारीसँगै रोजगारदाता कम्पनीमा पुगेका उनीहरुले आफ्नो तलब र बिना कारण जागिरबाट निकालिनु परेको क्षतिपुर्ति पनि मागे ।

‘कम्पनीले केही पनि दिन्न भन्यो’, धनबहादुर तामाङ सुनाउँछन् ।

‘हाम्रो पैसा नदिने भए मुद्धा हाल्छौं’, धनबहादुरले रोजगारदातालाई सुनाए ।

‘तिमीहरुका कारणले हाम्रो कम्पनी बदनाम भयो, घाटा भयो म उल्टै तिमीहरुलाई मुद्धा हाल्छु’, रोजगारदाता कम्पनीले धम्क्यायो ।

साढे तीन वर्षभन्दा बढ्ता समय अनाहकमा जेल परिसकेका उनीहरु फेरि मुद्धामामिलाको झन्झटमा पर्न चाहेनन् ।

बासुदेव ठाकुर ।

नगरेको कसुरमा जेल सजाय भोगिसकेका उनीहरुले रोजगारदाता कम्पनीसंग आफूलाई कालोसूचीबाट हटाएर घर जाने बाटो खुल्ला गरिदिन हारगुहार गरे । तलब र क्षतिपुर्ति दिनुभन्दा रोजगारदाता कम्पनीले पनि उनीहरुलाई कालोसूचीबाट हटाउने सम्झौता बनायो । पाँचै जनाले सम्झौतामा हस्ताक्षर गरे ।

त्यो सम्झौता लिएर रोजगारदाता कम्पनी आप्रवासी श्रमिकको विवरण राख्ने निकायमा पुग्यो । त्यो निकायले तुरुन्तै उनीहरुलाई कालोसूचीबाट हटाइदिएन । अनेक प्रक्रिया पुरा गर्दागर्दै श्रमिकको विवरण राख्ने निकायले ८ महिना पछि चैत ०७९ मा बल्ल उनीहरुलाई कालोसूचीबाट हटाएर नेपाल फर्किने बाटो खुला गरिदियो ।

त्यसपछि पनि गैरआवासीय नेपाली र साउदीस्थित नेपाली दूतावासले आफ्नो क्षतिपुर्तिका लागि केही पहल गर्छ कि भनेर उनीहरुले आश राखे । ‘कसैले केही नगर्ने भएपछि हामीले नेपाल फर्किने सोच बनायौं’, बासुदेव भन्छन्, ‘सेल्टरमा बसेर जुनि काट्न सकिदैन ।’

तर, नेपाल फर्किनका लागि उनीहरुसंग जहाजको टिकट काट्ने पैसा पनि थिएन । पैसा कमाउन गएका उनीहरुले नेपालबाटै टिकटको पैसा मगाए । घरबाट पैसा मगाएर १९ चैतमा उनीहरु नेपाल आइपुगे ।

‘कमाउन गएका हामी त्यत्रो समय जेल पर्‍यौं । यता घरको बिल्लिबाठ भयो,’ कृष्णबहादुर गुनासो गर्छन् ।

‘छोराछोरीका लागि लुगालत्ता त छाड्नुहोस् एउटा मिठाइ समेत किन्न सकिएन’, ५० वर्षे धनबहादुर पछुताउँछन, ‘आधा उमेर विदेशमै बित्यो ।’

धनबहादुर तामाङ ।

बासुदेवको खातामा २ हजार रियाल थियो । रामप्रसादको खातामा एक महिनाको तलब थियो । ‘त्यो पैसा पनि निकाल्न पाएनौं’, रामप्रसाद भन्छन्, ‘हामी जेलबाट निस्कदा हाम्रो बैंक खाता सबै रोक्का थियो । खुल्ला गर्न खोजेको कहिले पुलिसकहाँ जाउ भने, कहिले अदालत त कहिले कम्पनीको चिठी ल्याएर आउ भने ।’ कतैबाट पनि आफ्नो पैसा आउने छाँट नदेखेपछि उनीहरुले पसिना बगाएको कमाइ समेत माया मारे ।

निर्दोष रहेर पनि साउदीको जेलमा साढे ३ वर्ष महिना बिताएर फर्केका यी पाँच जना यतिखेर त्यो व्यर्थ गएको समयको सोधभर्ना खोज्दै वैदेशिक रोजगार बोर्डको कार्यालयसम्म पुगेका छन् । ‘केही सहुलियत मिल्छ कि भनेर आएका हौं’, उनीहरु भन्छन्, ‘हाम्रो त सब बर्बाद भइसक्यो ।’

उनीहरुलाई बोर्डको कार्यालय लिएर आउने सहयोगी सरोज रायले इन्द्रजित मण्डल साउदी जेलमा हुँदा नै मण्डलकी श्रीमतीलाई बोर्डको कार्यालयमा पुर्‍याएका थिए । ‘त्यतिखेर पनि बोर्डले केही गर्न सकिदैन भन्यो’, राय सुनाउँछन्, ‘आज त कोही कर्मचारी नै भेटिएका छैनन् ।’

बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेती भने अदालतबाट निर्दोष सावित भएर आएका यी पाँच जनालाई साउदी सरकार र रोजगारदाता कम्पनीबाट क्षतिपुर्ति भराउन बोर्डले कानूनी सहायता उपलब्ध गराउने बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो मान्छे निर्दोष छ भने उसले क्षतिपुर्ति पाउनुपर्छ र त्यसका लागि बोर्डले कानुनी सहायता गर्छ । उहाँहरुले निवेदन दिनुभयो भने हामी प्रक्रिया अगाडि बढाउँछौं ।’

जीवनको उर्बर समय साउदीको जेलमा बिताएर फर्केका धनबहादुर र उनका साथीहरु अब विदेश जाने योजनामा छैनन् । ‘अब त विदेश जान मन छैन, उमेर पनि भइसक्यो’, धनबहादुर भन्छन् ।

धनबहादुरले यसो भनिरहँदा उनको छेउमा उभिएका रामप्रसादले भने हालसालै मात्र जेठो छोरालाई साउदी अरब पठाए । ‘विदेश नगई खान लाउन पुग्दैन के गर्नु त ?,’ उनले साथीहरुतिर हेरे ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?