
२३ वैशाख, विराटनगर । प्रहरीले आधा किलो भन्दा बढी सुन र ६ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदी बरामद गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका पक्राउ परेका हुन् ।
विराटनगर-२ का कामत भ्यान चालक हुन् । विनोद र पुष्पा श्रीमान श्रीमती हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको र्यापिड इन्भेष्टिकेटिभ टिम (रिट)को टोलीले भारततर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएको अवस्थामा सुन र चाँदी बरामद गरेको हो । बरामद सुन चाँदीका गरगहना, नगदको मूल्य करिब ९० लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।
प्रहरीले सुनको बिस्कुट, सिक्का, कनौती, चाँदीको ढक्का, सिक्का,दाना, कचौरा थाल, चम्चा, गिलासलगायत सामाग्री बरामद गरेको थियो ।
प्रतिक्रिया 4