+
+

विपश्यनामा आमिर खानको पहिलो दिन : बिहान ४ बजे उठेर ध्यान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १२:२१
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा आमिर खान 

काठमाडौं । बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।

आमिर आइतबार बेलुका ७ बजे ध्यान केन्द्र पुगे । केही समय आराम गरेर खाना खाए र सुते । आमिर सामान्य व्यक्तिकै रुपमा ध्यान केन्द्रमा आइपुगेको र आफूहरुले हाइप्रोफाइल ट्रिटेमन्टभन्दा नर्मल व्यक्तिकै जस्तो व्यवहार गरेको ध्यान केन्द्रका एक कर्मचारीले बताए ।

उनी सोमबार बिहान ४ बजे उठेको केन्द्रका कर्मचारीले अनलाइनखबरलाई जानकारी दिए । ‘बिहानै चार बजे उठेर साढे चार बजे ध्यान गर्ने हलमा प्रवेश गर्नुभयो । केही घण्टा ध्यानमा बिताउनुभयो,’ उनले भने, ‘ब्रेकफास्ट लिएर केही समय आराम गर्नुभयो ।’

विपश्यना ध्यान १० दिनसम्म चल्ने र सो अवधिसम्म नियमहरु कडाइका साथ पालना गर्नुपर्ने हुन्छ। ‘विपश्यनाको नियम पनि १० दिन चल्ने हो । आमिरले त्यो सक्नुहुन्छ या सक्नुहुन्न, त्यो उहाँमा निर्भर हुन्छ,’ एक कर्मचारीले भने ।

उनका अनुसार विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने, मोबाइल फोन लैजान नपाइने नियम छ । आमिरले पनि यी नियमलाई पालना गर्नुपर्ने हुन्छ । ‘यो नियम सबैका लागि हो । आमिरलाई पनि नर्मल व्यक्तिकै रुपमा व्यवहार गरेका छौं,’ केन्द्रका कर्मचारीले भने ।

बिहान ४ बजे उठेर बेलुका ९ बजे सुत्नुपर्ने नियम केन्द्रमा रहेको र आमिरले पनि त्यसलाई पछ्याउनुपर्ने जनाइएको छ । गत दशैं छेकोमा चर्चित हलिउड अभिनेता जेट लीले पनि काठमाडौंस्थित एक गुम्बामा ध्यानको लागि भन्दै दुई साता बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?