+

पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ

२०८० वैशाख  २५ गते १५:४५ २०८० वैशाख २५ गते १५:४५
पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ

पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ ।

पिसाब गर्न कुनै समस्या छैन र दिनको ६-७ पटक पिसाब लाग्छ भने शरीर स्वस्थ छ भन्ने बुझिन्छ । तर सामान्यभन्दा पटक-पटक पिसाब लाग्छ भने स्वास्थ्यमा केही समस्या छ भन्ने संकेत गर्छ ।

पटक-पटक पिसाब लाग्ने अवस्था 

पटक-पटक पिसाब लाग्नुका धेरै कारण हुन सक्छन् । धेरै तरल पदार्थ पिएपछि बारम्बार पिसाब आउन सक्छ । त्यसमा पनि क्याफिन भएको तरल पदार्थ सेवन गर्दा धेरै पिसाब लाग्छ ।

पानी धेरै पिउँदा, मदिरापान गरेको बेला पनि छिटोछिटो पिसाब लागेको महसुस हुन्छ । त्यस्तै, गर्भावस्थामा बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ । यसबेला पाठेघरको आकार वृद्धि भएसँगै  पिसाबथैलीमा परेको दबाबका कारण पिसाब आउने गर्छ ।

ओभरएटिभ ब्ल्याडर (ओएबी) एक अवस्था हो, जसमा कसैले पिसाब फेर्न तीव्र इच्छा अनुभव हुन सक्छ । यस्तो अवस्थामा बिना कारण ब्ल्याडरको स्नायु अति संवेदनशील भएर पिसाब लागिरहन्छ । यसलाई नियन्त्रण गर्न गाह्रो हुन सक्छ ।

गम्भीर समस्या पनि हुन सक्छ 

यदि दैनिकजसो बारम्बार पिसाब आइरहन्छ र पिसाब गर्दा पेट दुखे जस्तो हुन्छ भने कुनै रोगको लक्षण हुन सक्छ । मधुमेह, मूत्रनलीको संक्रमण, प्रोस्टेटको समस्या र कतिपय औषधिको साइड इफेक्टले गर्दा यो समस्या देखिन सक्छ ।

युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई)

युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) पिसाब नलीको संक्रमण हो । पिसाबको समस्यामध्ये ७० प्रतिशत महिलामा युरिनरी ट्रयाक्ट इन्फेक्सन देखिने गर्छ ।

जब मूत्रमार्गको कुनै पनि भागमा ब्याक्टेरिया जम्मा हुन्छ तब संक्रमण निम्त्याउँछ । र, बारम्बार पिसाब लाग्छ ।

प्रोस्टेट बढ्नु

पुरुषहरुमा बारम्बार पिसाब हुनु प्रोस्टेट समस्याको संकेत हुन सक्छ । उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थि बढ्दै जान्छ । अत्यधिक वृद्धि हुँदै गएमा मूत्रमार्गमा दबाब दिन्छ र पिसाबको प्रवाह रोक्छ । उक्त ग्रन्थि बढ्दा पिसाब खुलस्त भएर आउन सक्दैन ।

पत्थरी

बारम्बार पिसाब लाग्नुको एउटा कारण मिर्गौलाको पत्थरी पनि हो । शरीरमा मिर्गौलाको पत्थरी बन्नुको मुख्य कारण कम मात्रामा पानी पिउनु हो । कम पानी पिउँदा पिसाब बाक्लो हुन्छ, जसले गर्दा युरिक एसिड र क्यासियम अक्सालेटको क्रिस्टल (ढुंगा) बन्न जान्छ । जसले गर्दा पिसाब छान्न कठिन हुन्छ ।

मिर्गौलाको पत्थरीको समयमै उपचार गरिएन भने पत्थरीको आकार बढ्न थाल्छ । यो एक आपतकालीन समस्या हो किनभने तब यी ढुंगाहरुले पिसाबको प्रवाहलाई रोक्छ, जसले पिसाब बाहिर आउन सक्दैन ।

मधुमेह

बारम्बार पिसाब लाग्नु र हरेक पटक धेरै पिसाब लाग्नु मधुमेहका मुख्य लक्षण हुन् । मधुमेहमा रगतमा चिनीको मात्रा बढ्छ, यसले मिर्गौलामा धेरै दबाब दिन्छ र उनीहरुले अतिरिक्त चिनीलाई पूर्ण रुपमा अवशोषित गर्न सक्दैनन् । जसकारण पिसाबको माध्यमबाट अतिरिक्त चिनी बाहिर निस्कन्छ, तर यस समयमा शरीरबाट धेरै मात्रामा पानी पनि सोस्छ । जसकारण पिसाब बढी निस्कन थाल्छ । यस्तो अवस्थामा धेरै तिर्खा लाग्दा पानीको मात्रा बढ्छ र बारम्बार पिसाब फेर्न बाध्य बनाउँछ ।

मानसिक समस्या

एन्जाइटी, तनाव हुँदा व्यक्तिमा पिसाबको समस्या हुन सक्छ । एचडीएच हार्मोन (पिसाबलाई कम गराउने हार्मोन) औसतभन्दा कम रिलिज हुन्छ, जसले पिसाब पटक-पटक लागि रहन्छ ।

दिनमा कति पटक पिसाब आउनु सामान्य

एक दिनमा कति पटक पिसाब फेरिन्छ, त्यसले स्वास्थ्य स्थितिबारे बताउँछ । सामान्यतया एक दिनमा सात-आठ पटकसम्म पिसाब लाग्नु सामान्य हो ।

रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गम्भीरतापूर्व लिनुपर्छ । राति निन्द्रा बिथोल्ने गरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राति एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । तर पटक-पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ ।

परीक्षण तथा उपचार

स्वास्थ्यमा केही समस्या छ कि छैन भनेर पहिचान गर्न सबैभन्दा पहिले मूत्र परीक्षण गरिन्छ । त्यसबाट पहिचान नभए अल्ट्रासाउण्ड लगायतका अन्य परीक्षण गरिन्छ ।

पटक-पटक पिसाब लाग्ने समस्यामा मानसिक तथा शारीरिक लक्षणलाई हेरेर उपचार प्रक्रिया तय गरिन्छ । मिर्गौलाको पत्थरी देखिएमा यसको आकार सानो छ भने जीवनशैली परिवर्तन गरेर पनि ठीक हुन्छ । तर अलिकति ठूलो आकारको भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया चिरफार नगरी दूरबीन प्रविधिबाट गरिन्छ ।

त्यस्तै, यूटीआईको समस्या भएमा सरसफाइमा ध्यान दिने र पर्याप्त मात्रामा पानी पिउने गर्दा राहत मिल्छ । मधुमेह छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

(डा. महत युरोलोजिस्ट हुन् । उनी धनगढीस्थित सीपी अस्पतालमा कार्यरत छन् । महतसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

पिसाब स्वास्थ्य
लेखक
डा. विभूषित महत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?