
२७ वैशाख, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले आफूलाई बजेट छर्नलाई आफूमाथि दबाब रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रि-बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘बजेट छर्ने ? यद्यपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरु थुप्रै छन् ।’
बजेटको चुनौती भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै हुनु तर, साधन र स्रोतको सीमितता रहनु रहेको उनले बताए । उनी भन्छन्, ‘थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्न भन्ने चुनौती छ ।’
सांसदहरुबाट समेत योजनाहरु माग भई आउने र बजेट छर्ने दबाब रहेको उनले बताए । ‘माननीय ज्यूहरुलाई पनि दबाब छ । स्वभाविक रुपमा माग आइराखेको छ । जनताको आवश्यकता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो’ उनले भने ।
तर, स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको उनले सुनाए । ‘सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन’ उनले भने ।
प्रतिक्रिया 4