+
+

प्रहरी हिरासतमा पूर्वगृहमन्त्री खाँणको बास

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते २२:४७

२७ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले खाँणलाई बुधबार बिहान चाबहिल, मैजुवहालस्थित निवासबाटै पक्राउ गरेको हो ।

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणलाई जरुरी पक्राउ पूर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । खाँणलाई पनि अदालतबाट पूर्जी लिएर पक्राउ गर्न जाँदा भाग्नसक्ने भएकाले प्रहरीले जरुरी पक्राउ पूर्जी थमाएको थियो ।

सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थियो । त्यहाँ पुगेका एक प्रहरी अधिकृतका अनुसार टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो । तर खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे ।

खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई खबर गर्‍यो । केसीले बयानका लागि जानुपर्ने भन्दै प्रहरीलाई सहयोग गरिदिन आग्रह गरे । खाँण भने ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे ।

खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे, भित्र गएर फोन पनि लगाए । तर प्रहरीले उनलाई जानैपर्ने भन्दै बोलाइरह्यो ।

अदालत लैजाने क्रममा पूर्वगृहमन्त्री खाँण ।

त्यसक्रममा उनले ‘जे जे सोध्नुपर्ने छ, यही सोध्नु’ भन्दै जवाफ फर्काएको प्रहरी स्रोत बताउँछ । त्यसपछि प्रहरीले आफ्नो तालुक मन्त्रालयका पूर्वमन्त्रीलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।

टेकुमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्षमा राखेर उनलाई प्रारम्भिक सोधपुछ गरियो । केहिवेरमा उनलाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्न लैजाने तयारी भयो ।

परिसरबाट अपराह्न ३ बजे प्रहरी भ्यानमा निकालिएका उनलाई प्रहरीले सुरुमा वीर अस्पताल लगेर स्वास्थ्य जाँच गरायो । अस्पतालबाट बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय लगेर उनलाई अदालत लगिएको थियो ।

जिल्ला अदालत, काठमाडौंका २९ नम्बर न्यायाधीश उत्तम सिलुवालले बहस सुनेपछि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको । प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर, टेकुमा ल्याएको छ ।

अब कम्तिमा ३ दिन अब उनी प्रहरी हिरासतमा हुनेछन् ।

किन पक्राउ परे खाँण ?

भुटानी शरणार्थी बनाउने भन्दै गठी गरेको आरोपमा १२ चैतमै मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेकबहादुर गुरुङ पक्राउ परेका थिए । तर भीआईपी कनेक्सन तब देखियो, जब १९ वैशाखमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गर्‍यो ।

भोलिपल्टै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परे । खाँण गृहमन्त्री हुँदा गृहसचिव रहेका पाण्डे पक्राउ परेसँगै प्रकरणमा उनको नाम जोडिएको थियो । तर पूर्वगृहमन्त्री खाँणले २३ वैशाखमा विज्ञप्ति निकालेर आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएको घटनामा जोडेको भन्दै खण्डन गरे ।

वक्तव्य निकालेको चार दिन नपुग्दा उनी पक्राउ परे । अनुसन्धान अधिकृतहरुका अनुसार गृहमन्त्र िभएको बेला खाँणले आर्थिक लाभ लिएर ठगी गर्ने गिरोहलाई नीतिगत तहमा सहयोग देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

खाँण २९ असार २०७८ देखि ११ पुस २०७९ सम्म गृहमन्त्री थिए । यही अवधिमा भुटानी शरणार्थीबारे पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन मन्त्रालयबाटै गायब भएको पाइएको छ ।

 

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै गृह मन्त्रालयले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गरेको थियो ।

कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ बुझाएको थियो ।

प्रतिवेदनअनुसार कार्यदलसमक्ष ८७५ जनाले शरणार्थी गणनामा छुटेको भन्दै निवेदन दिएका थिए । तर प्रमाण नभेटिएको भन्दै उनीहरुको नाम समावेश गरिएन । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) तथा जिल्ला प्रशासन कार्यालय, झापामा रहेको शरणार्थी समन्वय इकाई (आरसीयू)ले पहिचान गरेको ४२९ जनाको नाम अनुसूची ७ मा राखेको थियो ।

३० पुस २०७८ मा मन्त्रिपरिषदले यही सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर अहिले गृह मन्त्रालयमा पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको हार्डकपी नै छैन । त्यहाँ त भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै सानु भण्डारी, केशव दाहालहरुको समूहले रकम उठाएका ८७५ जना नेपाली नागरिकको नाम समावेश भएको अर्कै प्रतिवेदन भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार गठी गर्ने गिरोहले बादल गृहमन्त्री भएकै बेला सल्लाहकार इन्द्रजित राईहरुमार्फत पन्थी कार्यदलको प्रतिवेदन हात हत्याएका थिए । निष्कर्ष खण्डदेखि अनुसूची थपघट गरेर पीडितहरुसमक्ष पठाएका थिए । तर त्यसलाई मन्त्रालयकै आधिकारिक डकुमेन्टका रुपमा राख्ने काम भने खाँण गृहमन्त्री भएको बेलामा भएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

किनकी मन्त्रिपरिषद्ले निर्णय गरिसकेको कार्यदलको प्रतिवेदनमाथि नै पुनर्विचार गर्न भन्दै तत्कालीन गृहमन्त्री खाँणकै पालामा अर्को टोली गठन गरेको पाइएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट २७ जेठ २०७९ मा पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै उपसचिवको नेतृत्वमा अर्को समिति बनेको पाइएको हो । पन्थी कार्यदलको प्रतिवेदनमाथि पुनर्विचार गर्न तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा उपसमिति बनेको थियो ।

तत्कालीन गृहसचिव पाण्डेले भदौ मसान्तभित्र प्रतिवेदन बुझाउन ताकेता गरेका थिए । हाल अध्यागमन विभागमा कार्यरत न्यौपानेका अनुसार उपसमिति बनेपनि त्यसबेला काम भने अघि बढाइएको थिएन ।

रकम पनि लिएको आरोप

सानु भण्डारी र केशव दुलाल लगायतको समूहले असूली गरेका नामहरु घुसाउन अर्को उपसमिति बनाएको प्रहरीको प्रारम्भिक आशंका छ । त्यसका लागि तत्कालीन गृहसचिव पाण्डे र खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत रकम बुझेको दाबी छ ।

नरेन्द्र केसी, खाँणका स्वकीय सचिव ।

ठगी गर्ने गिरोहका एक जना सदस्य सानु भण्डारीले पाण्डेमार्फत मात्रै एक करोड २५ लाख रुपैयाँ बुझाएको बयान दिएका छन् ।

सुरुमा खाँणको संलग्नता अस्वीकार गरिरहेका पाण्डेलाई लेनदेन पुष्टि हुने सम्वादहरु देखाएपछि खाँणको निर्देशनमा यो काम भएको बयान दिएका छन् ।

प्रहरीका अनुसार बयान दिनेहरुले खाँण पत्नी मञ्जुले समेत रकम बुझेको बताएका छन् । प्रहरीसम्म पुगेको अडियो सम्वादमा पनि मञ्जु खाँणलाई रकम बुझाएको भनिएको छ, जसबारे अनुसन्धान जारी छ ।

कोको परे पक्राउ ?

भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरुमा १२ चैत २०७९ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । मंगलबार रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको प्रहरीले बुधबार पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय नरेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । यो प्रकरणमा एमाले सचिव रायमाझी र पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध अदालतलबाट पक्राउ पूर्जी जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?