+
+

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : मिलाउन खोजेका थिए, सकेनन्

‘यो केस दबाउन खोजेको कसले हो ? एमाले सरकारले हो दबाउन खोजेको ? केपी ओली थियो प्रधानमन्त्री ? एमालेको गृहमन्त्री थियो अस्ति गएको जेठ ३० गते ?’ समातिएका मान्छेहरु साँठगाँठ गरेर कसले छोड्यो ? यसको छानबिन हुनुपर्दैन ? कसले छोड्यो ? किन छोडियो ?’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १९:३४

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा भुटानी शरणार्थी प्रकरणबारे लामो वक्तव्य दिए । बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुअघि करिब सवा एक घण्टा बोलेका उनले ४५ मिनेट भन्दा बढी समय यही विषयमा बोले ।

उनले भुटानी नागरिक कसरी नेपाल आइपुगे, उनीहरुलाई झापामा बसोबासको व्यवस्था कसरी भयो र भुटान फर्काउने प्रयास कसरी असफल भयो भन्नेबारे आफ्ना धारणा राखे ।

आफू गृहमन्त्री भएका बेला र पछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका बेला भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल गरेको तर भुटानले उनीहरुको नामै सुन्न नचाहेपछि असफल भएको बताए । परराष्ट्र मन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेला आफूले तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले दिएको रिसेप्सनमा तेस्रो देशको पुनर्बासको कुरा उठाएको र सकारात्मक जवाफ पाएको बताए ।

‘हामीलाई ठूलो समस्या भयो, यो समस्या थन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । त्यसकारण महामहिम राष्ट्रपतिज्यू हामीलाई सहयोग गर्नुपर्‍योँ भनेँ । उहाँले तपाईको कोन्डालिजा राइस (तत्कालिन अमेरिकी परराष्ट्रमन्त्री) सँग कुरा हुँदैछ नि होइन र भन्नुभयो । त्यहीँ राम्रोसँग कुरा गर्नुस् भन्नुभयो ।’ ओलीले भने ।

ओलीले आफ्नो प्रयासबाट भुटानी शरणार्थी तेस्रो देश पुनर्बास कार्यक्रम सुरु भएको भन्दै सन् २००८ देखि तेस्रो देश पुनर्बास सुरु भएको र २०१० सम्म चलेको भन्दै ओलीले त्यसपछि बाँकी रहेका भुटानी शरणार्थीलाई पुनर्बास गर्न ज्वाइन्ट भेरिफिकेसन टिम बनेको बताए ।

‘१२ भन्दा अगाडि नक्कली मान्छे पठाए कि पठाएनन् थाहा भएन । १२ भन्दा पछाडि गिरोह सक्रिय भएको पाइन्छ । मैले त्यसको तथ्य प्रमण खोजिरहेको छु’ ओलीले भने ।

यसबारे तथ्य प्रमाण खोजेर जेठ ४ गते आफूले प्रतिनिधिसभामा सम्बोधन गर्ने ओलीले बताए । ‘सम्भतव ४ गते पार्लियामेन्टमा बोल्छु, ४ गते बोल्ने बेलासम्म कुन शरणार्थीको नाममा कहाँको मान्छे कसले पठायो को संलग्न छ भन्ने तथ्य पेश गर्ने कोशिस गर्छु । त्यसबेला तीन साढे ३०० मान्छे बाहिर पठाइएको बुझिन्छ’ ओलीले भने ।

आफू प्रधानमन्त्री भएका बेला तेस्रो देश पठाइएका भुटानी शरणार्थी १ लाख जना पुगेको अवसरमा कार्यक्रम भएको र त्यहाँ आफूले बाँकी रहेका भुटानी शरणार्थीका समस्या समाधानका लागि तीनवटा विकल्प दिएको ओलीले बताए ।

उनका अनुसार पहिलो विकल्प भुटान पठाउने, दोस्रो विकल्प तेस्रो देश पुनर्बास र तेस्रो विकल्प नेपालमै राख्ने विकल्प दिएका थिए । ‘तेस्रो देश पुनर्बासका लागि केही प्रमाण पुगेन, केही भएर बाँकी रहे भने नेपालले एकोमोडेट गर्ने । तर नेपालको क्यापासिटीले पुग्दैन । उनीहरुलाई घर बनाइदिने, उनीहरुका लागि व्यवसायको प्रबन्ध गर्ने काममा हामीलाई सहयोग चाहिन्छ भनेको थिएँ’ ओलीले भने ।

पछि भुटानी शरणार्थीलाई पुनर्बास गराउन समिति बनेछ भन्दै ओलीले उक्त समिति बनेको थाहा नभएको बताए । ‘समिति बनेछ मलाई थाहा भएन । प्रधानमन्त्रीलाई थाहा हुने कुरा पनि भएन । कुन तहमा कसरी बन्यो मलाइ थाहा भएन । पछि आएर थाहा पाएँ मन्त्रीस्तरबाट कतैबाट बनेछ’ उनले भने ।

अहिले उक्त समितिको दुईवटा रिपोर्ट भेटिएको र प्रहरीले कुन नक्कली र कुन सक्कली छुट्याउने काम गरिरहेको र केही दिनमा मुद्दा अदालतमा पेश गर्नुपर्ने भएकाले को कसको संलग्नता रहेको छ खुल्ने बताए ।

यो समिति बनेपछि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरो सक्रिय बनेको भन्दै ओलीले त्यसमा सरकारी कर्मचारी र राजनीतिक नेतृत्व सहभागी भएको बताए ।

‘गिरोहकै रुपमा केही मान्छेले यो धन्दा अगाडि बढाए र त्यो कुरामा केही सरकारी कर्मचारी फस्दै गए । सरकारी कर्मचारी नकिनिएिमा नबिकेमा सरकारी कर्मचारीको संलग्नताविना यो काम अगाडि बढ्न सक्दैन’ उनले भने, ‘सरकारी कर्मचारी र राजनीतिक व्यक्ति केही इन्भल्भ भए भन्ने छानबिनबाट आउँछ ।’

ओलीले यो घटना अनुसन्धानमा प्रधानमन्त्री र गृहमन्त्रीको कुनै भूमिका नहुने भन्दै ओलीले प्रहरीलाई निष्पक्ष ढंगले काम गर्न दिनुपर्ने बताए । आफूले प्रधानमन्त्रीलाई भेटेर निर्दोष नफसुन्, दोषी नउम्किउन् भनेको पनि ओलीले बताए ।

पक्राउ परिसकेकाहरुलाई छाडियो, बयान फेरियो

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठमै तत्कालिन सरकार र प्रहरी नेतृत्वले सामसुम पार्ने प्रयास गरेको आरोप पनि लगाए । पीडितहरुले २०७९ जेठ ३० मा प्रहरीमा उजुरी दिएको र आरोपितको बयान सुनेपछि छाडिएको पनि उनले जिकिर गरे ।

अध्यक्ष ओलीले त्यतिबेला पीडितको पैसा फिर्ता गरेर घटना सामसुम पार्ने प्रयास गरे पनि पीडितहरु धेरै भएकाले लुकाउन सम्भव नभएपछि मात्र अहिले पुनः यो घटना बाहिर आएको दाबी गरे ।

ओलीले जेठ ३० गते परेको उजुरीको आधारमा पक्राउ परेका व्यक्ति छाड्नुमा तत्कालिन गृहमन्त्री, तत्कालिन प्रहरी प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीमाथि प्रश्न उठाएका छन् ।

‘एउटा गजबको कुरो । गएको जेठ ३० गते धेरै उजुरी परे यस सम्बन्धमा । हामी ठगियौं, हामीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर यति यति पैसा हामीसँग लिइयो भनेर निवेदन पर्‍यो प्रहरीमा । निवेदन परेपछि मान्छेहरु पक्राउ परे । जो मान्छे हुन् खास मान्छे पक्राउ परे । तर त्यसबेला अनुसन्धान महाशाखामा एसएसपी को थियो, कसले छोड्यो ? त्यसबेला आईजीपी थियो, कसले छोड्यो ? कसको आदेशमा आईजीपीले छोड्यो ?’ ओलीले प्रश्न गरे ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ९७५ जनासँग पैसा लिएको र पीडितहरु एक पछि अर्को प्रकट भएपछि घटना सामसुम पार्ने प्रयास असफल भएको ओलीले बताए । ओलीले यो घटनामा एमाले नभई तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारको दोष भएको आरोप लगाए ।

‘यो केस दबाउन खोजेको कसले हो ? एमाले सरकारले हो दबाउन खोजेको ? केपी ओली थियो प्रधानमन्त्री ? एमालेको गृहमन्त्री थियो अस्ति गएको जेठ ३० गते ?’ उनले प्रश्न गरे, ‘समातिएका मान्छेहरु साँठगाँठ गरेर कसले छोड्यो ? यसको छानबिन हुनुपर्दैन ? खोजीनीति हुनुपर्दैन ? कसले छोड्यो ? किन छोडियो ?’

एमाले अध्यक्ष ओलीले जेठ ३० मा परेको उजुरीका आधारमा पक्राउ परेकाहरुलाई कांग्रेस नेता आङटावा शेर्पाले प्रहरी नियन्त्रणमै भेटेको र त्यसपछि घटना मिलाउन खोजिएको आरोप लगाए ।

‘२०७० सालको संविधानसभा सदस्य आङटावा शेर्पा अभियुक्त थुनिएका ठाउँमा जानुभयो । प्रहरीले वेलकम गर्‍यो । दोषीहरु दुई जना र आङटावालाई घण्टौंसम्म कुरा गर्न दियो र केस अर्कोतिर गयो’, ओलीले भने, ‘२०/२२ दिन भइसकेको बयान रोकेर फेरि बयान गरियो ।’

पक्राउ परेका मान्छेहरुले सत्य कुरा भन्न थालेपछि प्रहरीले लिइसकेको वयान पनि थन्क्याएर मिलापत्र गराइएको ओलीले आरोप लगाए । ‘जेठ ३० मा निवेदन पर्‍यो असार १,२,३ गते मान्छेहरु पक्राउ परे होलान्, तर २ घण्टामा उनीहरुले त बोक्सी बकेजस्तो फररर सत्य कुरा भन्न थालेपछि चुपचुप लाग चुप लाग भनेर कागज थन्क्याएर मिलापत्र गराइयो’ ओलीले भने ।

यो काम तत्कालिन सरकारकै संरक्षणमा भएको भन्दै ओलीले भने, ‘धेरै फाइफुइँ गर्नेहरुले नगरे हुन्छ, हामीले नचिनेको मान्छे होइन, चिनेकै मान्छे हो ।’

यो प्रकरणमा नेपाली नागरिकलाई राज्यविहीन बनाउने, पैसा ठगी गर्ने अपराध राज्य संयन्त्र र राजनीतिक व्यक्तिकै संलग्नतामा भएको भन्दै ओलीले प्रहरीले निष्पक्ष छानबिन गर्नपर्ने बताए । ‘अहिले छानबिन गरिरहेको प्रहरी संयन्त्रलाई निष्पक्ष ढंगबाट दृढताका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु’ उनले भने ।

टोपबहादुर नाम जोडिएकामा आश्चर्यचकित भएँ

ओलीले यो प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझीको नाम जोडिँदा आश्चर्यचकित परेको बताए । ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’

उनले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकामा आशंकासमेत गरे । ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरुलाई छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्‍यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’

टोपबहादुर सम्पर्कविहीन बस्नु बेठीक भएको भन्दै ओलीले प्रहरीले अभद्र व्यवहार गर्न खोजेकाले अदालतमा उपस्थित हुने विचार गरेको जानकारी पाएको बताए । ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?