+
+

कालो धुवाँ पुत्ताउदै हिंड्छन् गाडी : कागजमा पास, जाँचमा फेल

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सप्ताहको क्रममा शनिबार २५ वटा नमुना गाडीमा प्रदूषण जाँच गरेको थियो । जसमा ३ वटामात्रै पास भए । तर फेल भएका सबै गाडीमा पास भएको संकेत जनाउने हरियो स्टिकर टाँसिएका थिए ।

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ १ गते ७:५०

१ जेठ, पोखरा । शनिबार पोखराको विरौटामा ग २ ख ११२९ को माइक्रो बस हुइँकिंदै आयो । आँखै पोल्ने गरी हुइँकिएको माइक्रोबाट कालो मुस्लो निस्किइरहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले जाँच गर्दा उक्त माइक्रोको ‘स्मोक डेनसिटी’ ६५ स्मोकभन्दा माथि देखियो ।

ट्राफिक प्रहरीले यातायात कार्यालय कास्कीबाट प्राप्त कागजात हेर्दा भने प्रदूषण चेकजाँच पास देखियो । प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने सवारी साधनले ६५ स्मोक डेनसिटीभन्दा तलको अंकलाई पास मानिन्छ । स्मोक डेनसिटी नै फेल भएको गाडीले कसरी चेकजाँच पास पायो, ट्राफिक प्रहरी नै रनभुल्लमा पर्‍यो ।

पेट्रोलबाट चल्ने सवारीका लागि कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमसम्म मापदण्ड तोकिएको छ ।

०७६ भदौदेखि पहिलो पटक कास्कीमा गाडीको प्रदूषण चेकजाँच थालिएको थियो । चेक पास भइसकेपछि कालो नम्बर प्लेटका गाडीलाई ६ महिनाका लागि र रातो नम्बर प्लेटका लागि १ वर्षको म्यादसहितको हरियो स्टिकर दिइन्छ ।

तर, कागजातमा प्रदूषण चेकजाँच पास भएको संकेत अनुसारको हरियो स्टिकर गाडीमा टाँसे पनि पोखरा बजारमा गुड्ने अधिकांश गाडीले कालो मुस्लो उडाउने गरेका छन् । सार्वजनिक मात्रै नभई निजी सवारी साधनले पनि वातावरण नै प्रदूषित बनाउने गरी कालो धुवाँ उडाउँदै हिँड्ने गरेको दृश्य छ्याप्छ्याप्ती छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सप्ताहको क्रममा शनिबार २५ वटा नमुना गाडीमा प्रदूषण जाँच गरेको थियो । जसमा ३ वटामात्रै पास भए । ‘हामी आफैं छक्क पर्‍यौं । २२ वटा गाडीको यान्त्रिक परीक्षण नै फेल भयो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रवक्ता शिव पाठकले भने ।

तर, यान्त्रिक परीक्षणमा तोकिएको मापदण्ड पूरा गर्न नसकेर फेल भएका ती सबै सवारी साधनले यातायात कार्यालयबाट भने प्रदूषण परीक्षण पास भएको संकेत अनुसारको हरियो स्टिकर टाँसेको पाइएको पाठकले सुनाए । ‘उहाँहरुकै यन्त्र लिएर हामीले परीक्षण गरेका थियौं । खास भएको के हो भनेर यातायातलाई चिठी लेख्ने तयारी गरेका छौं,’ उनले भने ।

ट्राफिक कार्यालयले पोखराका विभिन्न ३ नाकामा सवारी साधन जाँच गरेको थियो । जाँचका क्रममा सवारी चालकको स्वास्थ्यसँगै साधनको यान्त्रिक परीक्षण गरिएको थियो । परीक्षणमा फेल भएकालाई तत्कालै कारवाहीका लागि पठाइसकिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कालो धुवाँ फाल्ने गाडी जाँचका क्रममा मापदण्डविपरीत फेल भए पोखरामा गाडी चलाउन नपाउने नियम छ । तर, मापदण्डविपरीत धुवाँ फाल्ने गाडी पोखरामा मात्रै चल्न नपाइने र त्यसबाहेक अन्य कारबाही गर्ने प्रावधान नहुँदा वायु प्रदूषण गर्ने गाडीमा कमी आउन सकेको छैन ।

नियमित जाँच गरिरहन्छौं : यातायात व्यवस्था कार्यालय

कालो धुवाँ उडाउँदै हिँडेका गाडीलाई कारबाही गर्न पटकपटक आवाज उठिरहन्छ । तर, सरकारी निकायबाटै मनोमानी हुँदा नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको सरोकारवालाको आरोप छ ।

तर, यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी साधनको जाँचै नहुने भने होइन । ४ वर्षदेखि नै कार्यालयले निरन्तर जाँच गरिरहेको कार्यालय प्रमुख डिल्लीराम रिजाल सुनाउँछन् । उनका अनुसार अहिले सवारी साधनको यान्त्रिक जाँच गर्न २ वटा मेसिन कार्यालयसँग छ । ठूला सवारीसाधनको परीक्षण गर्न मेसिन नभएकाले साना सवारी साधनमात्रै परीक्षण हुँदै आएका छन् ।

‘हामीले निरन्तर चेकजाँच नै गरिरहेका छौं । कुनैकुनैबेला मेसिनरी मिस्टेक भएर गलत नतिजा पनि होला,’ प्रमुख रिजालले अनलाइनखबरसँग भने, ‘यहाँबाट पास भएर बाहिर जाँदा धुवाँ निस्केको गुनासो हामीसँग पनि आएका छन् । यसबारे प्राविधिकसँग कुरा गर्छु ।’
यो पनि पढ्नुहोस्

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?