+

नुन र चिनी चटक्कै खान छाड्दा स्वास्थ्य राम्रो हुन्छ ?

२०८० जेठ  १ गते १४:५१ २०८० जेठ १ गते १४:५१
नुन र चिनी चटक्कै खान छाड्दा स्वास्थ्य राम्रो हुन्छ ?

काठमाडौं । ‘जंकफुड धेरै खानुहुन्न यसमा अधिक मात्रामा नुन हुन्छ । कोल्डड्रिंक त झन् पिउनै हुँदैन, यसमा चिनी धेरै हुन्छ ।’

यस्तो भनेको हामी धेरै सुनिरहेका हुन्छौं । उच्च रक्तचापदेखि मधुमेहसम्मका रोगमा चिनी र नुनलाई दोष दिइरहेको देखिन्छ । के चिनी र नुन साँच्चै स्वास्थ्यका शत्रु नै हुन् त ? नुन र चिनी चटक्कै छोड्दा के हुन्छ ?

पोषणविद् उज्ज्वल रायमाझी शरीरलाई स्वस्थ ढंगले काम गर्न नुन र चिनी दुवैको भूमिका महत्वपूर्ण हुने बताउँछन् । ‘धेरै नुन र चिनीको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । तर दैनिक खानामा सीमित मात्रामा नुन र चिनी प्रयोग गर्दा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

सोडियम र क्लोरिन दुई तत्त्व मिलेर  नुन बनेको हुन्छ । जुन तरल पदार्थको स्तर सन्तुलन कायम राख्न र मांसपेशी संकुचन नियन्त्रण गर्न आवश्यक पर्छ । साथै चिनी कार्बोहाइड्रेटको रूप हो र हाम्रो दैनिक गतिविधिको लागि ऊर्जाको राम्रो स्रोत भएको रायमाझी बताउँछन् ।

धेरै प्रयोग गर्दा के हुन्छ ?

नुन र चिनीको बढी प्रयोग गर्‍यो भने त्यसबाट धेरै प्रकारका रोग लाग्न सक्छन् । यसको बढी प्रयोगले उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या र मिर्गौलाको समस्या निम्त्याउने पोषणविद् रायमाझी बताउँछन् ।

‘केही समययता बजारमा पाइने खानेकुराको प्रयोग ह्वात्तै बढेको छ । बजारमा पाइने यी खानेकुरामध्ये अधिकांशमा नुन र चिनीको मात्रा बढी हुन्छ । यस्तो खानाले पनि उच्च रक्तचाप र मधुमेहको जोखिम बढाउँछ र मोटोपन पनि बढाउँछ,’ उनी भन्छन् ।

तौल घटबढमा नुन-चिनीको भूमिका

गुलियो पदार्थ चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले धेरै सेवन गर्दा मोटोपनको समस्या निम्तिन्छ । ‘तर यसलाई एकदमै कम मात्रामा प्रयोग गरियो भने तौल नियन्त्रण गर्न सहयोग मिल्छ,’ रायमाझी भन्छन् ।

नुनमा भएको सोडियमले भोक लाग्ने हार्मोनहरु बढाउँछ, जसले गर्दा धेरै मात्रामा खाना खाइने र तौल बढ्ने हुन्छ । त्यस्तै नुनको मात्रा कम गरे उच्च रक्तचापको जोखिमसँगै मोटोपन पनि कम हुने रायमाझी सुझाउँछन् ।

‘नुन बढी प्रयोग भएको  खानेकुरा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ । सोडियमको मात्रा बढेपछि शरीरले पिसाबको उत्पादन घटाएर तिर्खा बढाउँछ र शरीरले धेरै पानी भण्डारण गर्छ । जसले शरीरमा पानीको तौल बढ्छ,’ उनी भन्छन् ।

नुन र चिनी चटक्कै छोड्दा के हुन्छ ?

नुन र चिनीबिनाका खानेकुरा खासै परिकल्पना नै गर्न सकिंदैन, यसमा हाम्रो बानी नै लागिसकेको छ । रायमाझी भन्छन्, ‘त्यसैले चटक्कै छाड्दा शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ । हर्मोनहरु असन्तुलित हुन सक्छ, त्यसैले चटक्कै छोड्नुभन्दा बिस्तारै घटाउँदै लैजानुपर्छ ।’

शरीरमा पानीको मात्रा नियन्त्रित राख्न सोडियमको जरुरत हुन्छ । दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदानप्रदान गर्न सोडियमको महत्त्वपूर्ण भूमिका हुन्छ । नुन यसको प्रमुख स्रोत हो । ‘साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ । त्यसैले चटक्कै छोड्नुभन्दा मात्रा घटाउनु राम्रो हुन्छ,’ रायमाझी भन्छन् ।

दैनिक ऊर्जाको लागि कार्बोहाइड्रेट चाहिन्छ जुन चिनीमा हुन्छ । रायमाझी भन्छन्, ‘तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले यसलाई पनि एकदमै कम मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ ।’

नुन र चिनी स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय