+

नुन र चिनी चटक्कै खान छाड्दा स्वास्थ्य राम्रो हुन्छ ?

२०८० जेठ  १ गते १४:५१ २०८० जेठ १ गते १४:५१
नुन र चिनी चटक्कै खान छाड्दा स्वास्थ्य राम्रो हुन्छ ?

काठमाडौं । ‘जंकफुड धेरै खानुहुन्न यसमा अधिक मात्रामा नुन हुन्छ । कोल्डड्रिंक त झन् पिउनै हुँदैन, यसमा चिनी धेरै हुन्छ ।’

यस्तो भनेको हामी धेरै सुनिरहेका हुन्छौं । उच्च रक्तचापदेखि मधुमेहसम्मका रोगमा चिनी र नुनलाई दोष दिइरहेको देखिन्छ । के चिनी र नुन साँच्चै स्वास्थ्यका शत्रु नै हुन् त ? नुन र चिनी चटक्कै छोड्दा के हुन्छ ?

पोषणविद् उज्ज्वल रायमाझी शरीरलाई स्वस्थ ढंगले काम गर्न नुन र चिनी दुवैको भूमिका महत्वपूर्ण हुने बताउँछन् । ‘धेरै नुन र चिनीको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । तर दैनिक खानामा सीमित मात्रामा नुन र चिनी प्रयोग गर्दा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

सोडियम र क्लोरिन दुई तत्त्व मिलेर  नुन बनेको हुन्छ । जुन तरल पदार्थको स्तर सन्तुलन कायम राख्न र मांसपेशी संकुचन नियन्त्रण गर्न आवश्यक पर्छ । साथै चिनी कार्बोहाइड्रेटको रूप हो र हाम्रो दैनिक गतिविधिको लागि ऊर्जाको राम्रो स्रोत भएको रायमाझी बताउँछन् ।

धेरै प्रयोग गर्दा के हुन्छ ?

नुन र चिनीको बढी प्रयोग गर्‍यो भने त्यसबाट धेरै प्रकारका रोग लाग्न सक्छन् । यसको बढी प्रयोगले उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या र मिर्गौलाको समस्या निम्त्याउने पोषणविद् रायमाझी बताउँछन् ।

‘केही समययता बजारमा पाइने खानेकुराको प्रयोग ह्वात्तै बढेको छ । बजारमा पाइने यी खानेकुरामध्ये अधिकांशमा नुन र चिनीको मात्रा बढी हुन्छ । यस्तो खानाले पनि उच्च रक्तचाप र मधुमेहको जोखिम बढाउँछ र मोटोपन पनि बढाउँछ,’ उनी भन्छन् ।

तौल घटबढमा नुन-चिनीको भूमिका

गुलियो पदार्थ चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले धेरै सेवन गर्दा मोटोपनको समस्या निम्तिन्छ । ‘तर यसलाई एकदमै कम मात्रामा प्रयोग गरियो भने तौल नियन्त्रण गर्न सहयोग मिल्छ,’ रायमाझी भन्छन् ।

नुनमा भएको सोडियमले भोक लाग्ने हार्मोनहरु बढाउँछ, जसले गर्दा धेरै मात्रामा खाना खाइने र तौल बढ्ने हुन्छ । त्यस्तै नुनको मात्रा कम गरे उच्च रक्तचापको जोखिमसँगै मोटोपन पनि कम हुने रायमाझी सुझाउँछन् ।

‘नुन बढी प्रयोग भएको  खानेकुरा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ । सोडियमको मात्रा बढेपछि शरीरले पिसाबको उत्पादन घटाएर तिर्खा बढाउँछ र शरीरले धेरै पानी भण्डारण गर्छ । जसले शरीरमा पानीको तौल बढ्छ,’ उनी भन्छन् ।

नुन र चिनी चटक्कै छोड्दा के हुन्छ ?

नुन र चिनीबिनाका खानेकुरा खासै परिकल्पना नै गर्न सकिंदैन, यसमा हाम्रो बानी नै लागिसकेको छ । रायमाझी भन्छन्, ‘त्यसैले चटक्कै छाड्दा शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ । हर्मोनहरु असन्तुलित हुन सक्छ, त्यसैले चटक्कै छोड्नुभन्दा बिस्तारै घटाउँदै लैजानुपर्छ ।’

शरीरमा पानीको मात्रा नियन्त्रित राख्न सोडियमको जरुरत हुन्छ । दिमागदेखि शरीरका अन्य अंगसम्म सूचना आदानप्रदान गर्न सोडियमको महत्त्वपूर्ण भूमिका हुन्छ । नुन यसको प्रमुख स्रोत हो । ‘साथै मांसपेशीलाई सक्रिय बनाइराख्नका लागि सोडियम चाहिन्छ । त्यसैले चटक्कै छोड्नुभन्दा मात्रा घटाउनु राम्रो हुन्छ,’ रायमाझी भन्छन् ।

दैनिक ऊर्जाको लागि कार्बोहाइड्रेट चाहिन्छ जुन चिनीमा हुन्छ । रायमाझी भन्छन्, ‘तर कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले यसलाई पनि एकदमै कम मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ ।’

नुन र चिनी स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?